७ वैशाख २०८१ शुक्रबार
समाज

पुरानै घर प्रबलीकरणमा आकर्षण बढ्दै

नुवाकोटको शिवपुरी गाउँपालिका–८ थानापतीका मधुसूदन लोहनीको प्रबलीकरण भइरहेको घर। तस्बिर: नागरिक

नुवाकोट - विनाशकारी भूकम्पबाट जिल्लाको शिवपुरी गाउँपालिका–८ थानापतीका मधुसूदन लोहनीको घरमा आंशिक क्षति पुग्यो। निरन्तर भूकम्पको कम्पन आइरहँदा जोखिम देखिएपछि लोहनी परिवारको बसाइ टहरामा हुन थाल्यो। चिसो बढ्न थालेपछि सोही वर्षको कात्तिकबाट त्यो परिवार पुरानै घरमै बस्न थाल्यो। निरीक्षणमा आउनेहरूले पनि उनको घरलाई आंशिक क्षतिको सूचीमा राख्यो।

‘ढुंगामाटोको घरले भूकम्प नसहने रहेछ भन्ने लागिरहेको थियो। सरकारको सहयोगमा सबैले घर बनाउन थाले तर आफ्नो घर पूर्ण लाभग्राही सूचीमा परेन,’ लोहनीले भने, ‘अहिले पुरानै घर प्रबलीकरण गर्दै छु। त्यसका लागि सरकारले एक लाख रुपैयाँ दिन्छ भन्ने सुनेको छु।’ घर पुनर्निर्माणका लागि ३ लाख रुपैयाँ नै पार्छु भनेर सातपटक मुचुल्का उठाउँदै वडा कार्यालयमा निवेदन दिए पनि सुनुवाइ नभएको उनले गुनासो गरे। उनले भने, ‘२०५२ सालमा ढुंगामाटोले बनाइएको घर पूर्ण क्षतिमा राख्न जनप्रतिनिधिदेखि नेतासम्म गुहारें तर प्रयास सफल भएन।’

अहिले उनी मनभरिको गुनासोलाई एकातिर पन्छाएर भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) को प्राविधिक सहयोगमा घर प्रबलीकरणमा जुटिरहेका छन्। ‘नयाँ घर नै बनाउने रहर त हो नि तर भनेजस्तो भएन। एनसेटले घर प्रबलीकरण गर्छ भन्ने सुनेपछि कार्यालयमै गएँ। प्रबलीकरण गरिएको घर पनि हेरें। राम्रो लाग्यो,’ उनले भने, ‘भित्रबाहिर दुवैतिरबाट तेर्सो र ठाडो रूपमा गारो कस्दो रहेछ। जग र छाना बलियो बनाउने पनि अनेक विधि रहेछन्। यसले गर्दा घरको पुरानो संरचना पनि बचाउन सकियो। अहिले त खुसी लागेको छ पूर्ण लाभग्राही बन्न नपाए पनि।’

मापदण्ड आउनुअघि बनेका घरको पनि प्रबलीकरण
शिवपुरीकै रामबहादुर तामाङको परिवारले भूकम्प गएको वर्ष नै घर बनाए। त्यसबेला घर बनाउने तरिकाबारे सरकारी मापदण्ड आइसकेको थिएन। घर पूर्ण रूपमा क्षति भएका कारण सरकारी नीतिअनुसार उनको परिवारले ३ लाख रुपैयाँ पाउनुपर्ने हो तर सरकारी मापदण्डअनुसार घर निर्माण नभएकाले किस्ता रकम पाउनबाट रोकियो। ‘भूकम्पले घर भत्काएपछि बस्नेखाने ठाउँको अभाव भयो।

आफ्नै शैलीले घर बनाइयो। तर भूकम्पप्रतिरोधी घर बनेन भनेर सरकारी अनुदान पाउनबाट वञ्चित भए,’ उनले भने, ‘ऋणधन गरेर बनाएको घर भत्काउन मनले मानेन। अर्को बनाउन आवश्यक पनि छैन। आफू बस्ने घर सुरक्षित हुनुपर्छ भनेर सल्लाह पाइयो अनि घर प्रबलीकरण गरें।’ तामाङको घर प्रबलीकरण गर्न सरकारले उपलब्ध गराउने रकमको दोस्रो र तेस्रो किस्ताका लागि प्रक्रिया अघि बढिसकेको छ।

भूकम्पले आंशिक क्षति पु¥याएको घरको गारो पुरै नचर्किएको र काठपातमा पनि क्षति नपुगेको भए प्रबलीकरण नै उत्तम विधि रहेको भन्ने अझै स्थानीयले बुझिसकेका छैनन्। स्थानीयलाई त्यसबारे बुझाएर एनसेटले दुईवटा घर प्रबलीकरण गरिसकेको छ भने एउटा घरको कार्य भइरहेको बलियो घर कार्यक्रमका इन्जिनियर प्रकाश श्रेष्ठले बताए। ‘भूकम्पप्रभावित लाभग्राहीले ३ लाख रुपैयाँ नै पाए हुन्थ्यो भन्दै पटकपटक गुनासो फाराम भरिरहे। आंशिक क्षतिको घर प्रबलीकरणतर्फ खासै चासो देखाएनन्। त्यसबारे बुझाउन निकै कठिनाइ परेको थियो,’ श्रेष्ठले भने, ‘प्रबलीकरण गरिसकिएका घरधनी अहिले खुसी छन्। त्यसो गरिएका घर देखेर अन्य आंशिक लाभग्राहीले पनि त्यसतर्फ चासो दिन थालेका छन्।’

एउटा घर कम्तीमा पनि २५ दिनमा प्रबलीकरण गरेर सकाइने लक्ष्य एनसेटले लिएको छ। यसअघि ५० दिनको ओजिटी र सात दिनको डकर्मी तालिम लिएका निर्माणकर्मीबाट छनोट गरेर घर प्रबलीकरणमा लगाइएको छ। घरधनीले आवश्यक निर्माण सामग्री उपलब्ध गराउनुपर्ने र एनसेटले निर्माणकर्मीलाई यातायात खर्च भनेर दैनिक ८ सय रुपैयाँ उपलब्ध गराउने गरेको इन्जिनियर श्रेष्ठले बताए। अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटका अनुसार जिल्लामा १ हजार ५ सय ४२ वटा घर आंशिक क्षतिमा सूचीकृत भएको छ। तीमध्ये ४ सय ७९ परिवारले घर प्रबलीकरणका लागि सम्झौता गरेका छन्।

प्रकाशित: २३ भाद्र २०७६ ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App