८ वैशाख २०८१ शनिबार
समाज

मन्त्रालयदेखि गभर्नरसम्मका छाप बनाएर ठग्ने गिरोह पक्राउ

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिँदै। तस्बिरः पुष्पराज जोशी/नागरिक

दिलबहादुर छत्याल/पुष्पराज जोशी

धनगढी- सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा राज्यलाई नै चुनौती दिनेगरी एक गिरोहले अहिलेसम्मकै ठूलो मात्रामा ठगी गरिएको खुलासा भएको छ। विभिन्न मन्त्रालय, सरकारी कार्यालय, अड्डा अदालतका छाप, नापी तथा मालपोत कार्यालयका मिसिल, नक्कली चेक बनाएर एक अर्बभन्दा बढी रुपैयाँ सर्वसाधारणलाई ठगी गरिरहेको खुलासा भएको हो। बुधबार राति धनगढीका विभिन्न स्थानबाट चार थान पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेपछि उनीहरु ठगीधन्दामा संलग्न भएको खुलासा भएको हो। 

विशेष सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो तथा जिल्ला प्रहरीको टोलीले धनगढी–६, मटियारीका ३८ वर्षीय सञ्जय शमशेर जबरा भनिने सञ्जय राणा, धनगढी–३, मिलनचोकका २७ वर्षीय रुद्रप्रसाद अधिकारी र धनगढी–६, मटियारीकै ३३ वर्षीय कमलबहादुर बिकलाई चार थान पेस्तोलसहित बुधबार राति पक्राउ गरेको थियो। प्रहरीका अनुसार सञ्जय राणाले तमसुक बनाउने, जग्गा पास गर्नेलगायतका फर्जी कामहरु रुद्रप्रसाद अधिकारीबाट गराउँथे भने कमल बिक राणाका सहयोगी भएको बुझिएको छ।

उनीहरुबाट पेस्तोल एक थान, रिभल्बर एक थान, कटुवा पेस्तोल २ थान, सात राउण्ड गोली, ६ सय ७९ दशमलव ३६ ग्राम सुनका गहना, १८ करोड ३ लाख ६४ हजार रुपैयाँ बराबरको विभिन्न व्यक्तिका नाममा लिने दिने गरी बनाएको २३ थान तमसुक,  २ करोड ४५ लाख २० हजार रुपैयाँको विभिन्न व्यक्तिको नाममा काटिएका १९ थान चेक, एक अर्ब ९० करोड रुपैयाँको नेपाल राष्ट्र बैंकले रिलिज गरिएको भनिएको बैंक ड्राफ्ट ३ थान, नापी कार्यालय धनगढी, राजश्व विभाग सेवा कार्यालय सिंहदरबार काठमाडौं, मालपोत कार्यालय कैलाली, नापी कार्यालय टीकापुर, मालपोत कार्यालय कैलाली कम्प्युटर फाँट, नेटरी पब्लिक, कर अधिकृत, सूचना तथा सञ्चार मन्त्रालय, कार्यकारी निर्दैशन नारायणप्रसाद पौडेल, नेपाल राष्ट्र बैंक बालुवाटार काठमाडौं, बर्दगोरीया गाउँपालिका, घोडाघोडी नगरपालिका, गोदावरी नगरपालिका, धनगढी उपमहानगरपालिका, नोटरी पब्लिक भेरिफिकेशन, अर्थ मन्त्रालय सिंहदरबार, आन्तरिक राजस्व विभाग, नेपाल राष्ट्र बैंक नेपालगन्ज बाँके, गभर्नर डा. चिरञ्जिवी नेपाल, कार्यालय प्रमुख, महालेखा नियन्त्रकको कार्यालय, नेपाल राष्ट्र बैंक भैरहवा, सर्वेक्षकका छापहरु उनीहरुबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदिप गिरीले बताए। 

धेरै कुरा खुल्न बाँकी रहेको तर,  प्रारम्भीक अनुसन्धान अनुसार पक्राउ परेकाहरुले सुदूरपश्चिममा हतियारको कारोबार, मिटरब्याज र ठगी गर्ने गरेको बुझिएका उनले बताए। उनले घरभन्दा बाहिर एउटा कोठा भाडामा लिएर सम्पूर्ण अपराधिक गतिविधि सञ्चालन गर्दै आइरहेका थिए। विभिन्न मन्त्रालय, गभर्नर र कार्यालयहरुको छाप प्रयोग गरेर ठगी गर्ने गरेको भए पनि यी छाप प्रयोग गरेर कस्तो प्रकारको जालसाजी गर्ने गरको भन्ने कुरा खुल्न सकेको छैन। ‘हामीले पक्राउ गरेको २४ घण्टा मात्रै भएकाले धेरै कुरा खुल्न सकेको छैन,’ एसपी गिरीले भने,‘अनुसन्धानबाट थप कुराहरु पत्ता लगाइने छ।’ बरामद भएका कागजात तथा चेकको अध्ययन गर्दा उनीहरुले सुदूरपश्चिमका सर्वसाधारणबाट अर्बौं बढी रकम ठगी गरेको देखिएको प्रहरी बताउँछ।

  यसैगरी उनीहरुले कति व्यक्तिलाई कसरी र कति रकम ठगी गरेको छ भन्ने पनि खुल्न सकेको छैन। आश्चर्य चकित पार्नेगरी सामूहिकरुपमा यति ठूलो ठगी गर्ने गिरोहको नाइके को हो र गिरोहमा कतिजना संलग्न छन् भन्ने पनि खुलिनसकेको उनी बताउँछन्। सात वर्षअघिसम्म सामान्य आर्थिक अवस्था रहेका सञ्जय राणाको पछिल्ला पाँच/छ वर्ष यता चमत्कारिक रुपमा आलिसान महल, घरघडेरी, कार, गरगहना र विलासिताको जीवनशैली देख्दा स्थानीय अचम्मित भएका थिए। छिमेकीहरुलाई उनले जग्गाको कारोबार गर्ने गरेको बताउँदै आएको एक छिमेकीले बताए।‘हाम्रै आँखा अगाडि सामान्य आर्थिक अवस्था रहेको व्यक्ति एकाएक विलासीपूर्ण जीवनशैली र अथाह सम्पत्ति देख्दा हामी शंकामै थियौँ,’ उनले भने,‘आज आएर यो रहस्य खुल्यो।’

घरबाट गाडीमा निस्केर सीमित ठाउँमा मात्रै जाने राणा बन्द कोठाबाट सबै गतिविधि सञ्चालन गर्ने गरेको प्रहरीले बतायो। पक्राउ परेका व्यक्तिहरुलाई अबैध हातहतियार ओसार पोसार, ठगी धन्दा, कीर्ते जालसाजी, सम्पत्ति शुद्धीकरणलगायतका मुद्दा लगाइने एसपी गिरीले बताए।

 

 

प्रकाशित: २० भाद्र २०७६ ०८:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App