८ वैशाख २०८१ शनिबार
समाज

हिमाल आरोही निम्सलाई सशस्त्रको सम्मान

काठमाडौं– सर्वोच्च शिखर सगरमाथासहित विश्वमा रहेका आठ हजार मिटर भन्दा बढी उचाईका १४ वटा हिमालमध्ये ११ वटा हिमालहरुको तीन महिनाभित्र सफल आरोहण गरिसकेका निर्मल पुर्जा ‘निम्स’लाई सशस्त्र प्रहरी बल, नेपालले सम्मान गरेको छ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार प्रधान कार्यालय हलचोकमा आयोजित विशेष समारोहमा उनलाई दोसल्ला ओढाई सम्मान गरे। हिमाल आरोही निम्सले सात महिनाभित्र उल्लेखित १४ वटै हिमालहरुको सफल आरोहण गर्ने लक्ष्य लिएकोमा अब बाँकी रहेका तीन वटा हिमालहरुको आरोहण
पुरा गर्ने लक्ष्य रहेको तथा आफू पूर्व ब्रिटिस गोर्खा सैनिक भएको कुरा उक्त विशेष समारोहमा जानकारी गराएका थिए।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा हिमाल आरोहणको क्षेत्रबाट देशको नाम विश्वमा फैलाउन सफल रहेको भन्दै हिमाल आरोही निम्सको साहस तथा लगन र योगदानको मुग्दकण्ठले प्रशंसा गरे। हिमालको सफल आरोहणकै कारण उनी विश्वमा निम्सको नामले चिनिएको प्रसंग उल्लेख गर्दैखनालले नेपालको गौरवशाली इतिहास र परम्परालाई अगाडि बढाउन सफल रहेकोमा गर्व गरे।

आफूहरुले सशस्त्र प्रहरी बलमा सेवारत रहेकोमा गर्व गर्ने गरेको स्मरण गर्दै उनले दायित्व निर्वाहका क्रममा सेवा तथा सुरक्षा र सहयोग पुर्‍याउने मात्र नभई जोखिमपूर्ण स्थानमा आपत विपद्मा उद्वार कार्यको लागि साहस चाहिने बताउँदै त्यो साहस हिमाल आरोही निम्सबाट सिक्न सकिने उल्लेख गरे।

आइजिपी खनालले मान्छेहरुले आफ्नो तथा आफ्ना लागि सोच्ने गरेको तर निम्सले आफ्नो घरसमेत विक्री गरेर हिमाल आरोहण थालेको स्मरण गरे। ‘उहाँले त्यो के का लागि गर्नुभयो त? निश्चय नै देशका लागि हो’, उनले भने। खनालले नेपाल र नेपालीको नाम विश्वमा फैलाउन उनले गरेको योगदान सह्रानीय रहेको उल्लेख गरे।

 ‘गर्न सक्छु भन्ने आत्मविश्वासकासाथ काम सुरुवात गरेमा कुनै पनि कुरा असम्भव छैन’ आइजिपी खनालले भने– ‘प्रयास गरेमा विफल हुँदैन, त्यो कुरा हिमाल आरोही निम्सबाट सिक्न सकिन्छ।’ उनले सशस्त्र प्रहरी बलले राष्ट्र र जनताको खातिर योगदान पुर्‍याएको उल्लेख गर्दै विपद्का अवस्थाहरुमा जोखिम मोलेर सशस्त्र प्रहरी कर्मचारीले गरेको उद्वार कार्यको सबैतिरबाट प्रशंसा भएको कुरा समेत उल्लेख गरे।

विश्व किर्तिमानी हिमाल आरोही निर्मल पुर्जा ‘निम्स’ले उक्त विशेष समारोहमा विभिन्न हिमाल चढ्दाको आफ्नो गर्विलो अनुभव सुनाए। हिमाल आरोहणका कुरा गर्दा भावनात्मक रुपमा के भयो र के–के त्याग गरियो भन्ने कुरा आफ्नो स्मरणमा रहेको उल्लेख गर्दै उनले आफूले आफ्ना लागि नभई नेपाल र नेपालीको गौरवको लागि उक्त प्रयास गरेको बताए। उनले भने, ‘नेपाली भन्दा गर्व लाग्छ।’

म्याग्दीमा जन्मिएका मेम्बर अफ ब्रिटिस इम्पायर (एम बी ई)बाट सुशोभित पूर्व ब्रिटिस गोर्खा सैनिक निर्मल पुर्जा ‘निम्स’ले आफू रोयल नेभीमा स्पेशल फोर्समा समेत कार्यरत रहेको विगत सो समारोहमा सुनाए। हिमाल आरोहणका लागि उक्त जागिर परित्याग गर्दै १२ दिनमा आठ हजार मिटर भन्दा अग्ला पाँचवटा हिमालहरुको सफल आरोहण गरेको अनुभव पनि उनले सुनाए।

उनले दुई दिन ३० मिनेटमा सगरमाथा, लोत्से र मकालु हिमालको सफल आरोहण गर्दै पुरानो गिनिज बुक अफ दी वर्ल्ड रेकर्डमा रहेको ५ दिन ३ घण्टा ३५ मिनेटको पुरानो रेकर्ड तोड्न सफल भएको कुरा जानकारी गराए। 

प्रकाशित: १८ भाद्र २०७६ १६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App