१६ चैत्र २०८० शुक्रबार
समाज

समयमा निर्माण कार्य सम्पन्न नभए कालोसूचीमा राख्न सुझाव

विष्णु नेपाल
चिकित्सा अध्ययन संस्थान महाराजगञ्ज परिसरमा निर्माणाधीन ‘सुरेश वाग्ले स्मृति केन्द्र’ भवनको बाँकी काम सुरु भएको छ । प्रतिनिधिसभा अन्तर्गतका शिक्षा तथा स्वास्थ्य समितिले भवनका बारेमा चासो लिई पटक–पटक स्थलगत अनुगमन र सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएपछि ठेकेदार कम्पनीले बल्ल बाँकी काम सुरु गरेको हो ।

सम्झौता भएको आठ वर्ष बित्न लाग्दा पनि ठेकेदार कम्पनीले विविध बहाना देखाई सो भवनको निर्माणमा ढिलासुस्ती गर्दै आएको थियो । समितिको आजको बैठकमा समितिका सदस्य एवं समितिद्वारा सो भवनका बारेमा अध्ययन गर्न गठित कार्यदलका संयोजक अञ्जना विसङ्खेले भनिन्, “भवनको बाँकी काम बल्ल शुरु भएको देखियो । ”

ठेकेदार कम्पनीका अनुसार सो भवनको ६५ देखि ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँकी काम तेस्रो भेरिएशन अनुसार हुने जनाइएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०६८ मङ्सिर २८ गते तीन वर्षभित्रै सम्पन्न गर्ने गरी निर्माण कम्पनीसंग सम्झौता गरेको थियो । निर्माण सम्पन्न हुनुपर्ने अन्तिम मिति २०७१ साल मङ्सिर २७ गतेसम्म थियो । सम्झौता रकम मूल्य अभिवृद्धि करसहित रु ५५ करोड ५१ लाख २८ हजार ६४० थियो तर समयमै निर्माण पूरा नभएपछि मन्त्रालयले २०७२ साल मङ्सिर २७ गते एक वर्षसम्मका लागि म्याद थप गरेको थियो ।

दोस्रो पटक थपिएको म्यादमा पनि निर्माण सम्पन्न नभएपछि मन्त्रालयले तेस्रो पटक २०७३ साल चैत ११ गते पुनःम्याद थप गरेको थियो । तेस्रो पटक म्याद थप गर्दा समेत ‘म्याद थप भएको मितिले ११ महीनाभित्र अनिवार्य रूपमा कार्यसम्पन्न गर्ने गरी अन्तिम पटकका लागि म्याद थप गर्ने र थपिएको म्यादभित्र पनि उक्त निर्माण सम्पन्न नभएमा नियमानुसार क्षतिपूर्ति असुल गर्ने गरी कार्यान्वयन गर्न समेत स्वीकृत दिने निर्णय गरिएको थियो ।

अर्कोतर्फ शहरी विकास मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई भवन निर्माणको कार्यप्रगतिबारे २०७४ साल चैत १६ गते यस्तो जानकारी दिएको थियो । जानकारी पत्रमा ‘२०७४ सालको चुनाव र निर्माणस्थलमा दुर्घटना भई एक कामदारको मृत्यु भएका कारण काममा अवरोध भएकाले पुनः एक पटकका लागि म्याद थप हुन अनुरोध भई आएको थियो । तर पटक–पटक म्याद थप भएको समयमा पनि निर्माण सम्पन्न नभएकाले भेरिएशन स्वीकृत र म्याद थपको प्रक्रिया अगाडि बढ्न सकेको थिएन् ।

निर्माण व्यवसायीले भवनको कूल भेरिएशनमा दश प्रतिशत लागत बढाएको छ । अहिले भवनको लागत रु ६१ करोड २१ लाख ८७ हजार ५८७ पुगेको छ । स्वास्थ्य मन्त्रालयले वहुवर्षीय योजनाअन्तर्गत सो भवन निर्माणलाई राखेको थियो ।

अध्ययन प्रतिवेदनमा यस्तो छ सुझाव
समितिको आजको बैठकमा संयोजक विसङ्खेले अध्ययन उपसमितिको प्रतिवेदन प्रस्तुत गरे। प्रतिवेदनको मुख्य सुझावमा तेस्रो भेरिएशन स्वीकृत भएको मितिले नौ महीनाभित्र भवन हस्तान्तरण हुन नसकेमा ठेकेदार कम्पनीसँगको सम्झौता रद्द गर्न सम्बन्धित निकायलाई निर्देशन दिने भनिएको छ ।

“सो समयमा निर्माण सम्पन्न नभए सम्झौतामा उल्लेखित क्षतिपूर्ति बापतको रकम असुल गरी निजसँग सम्झौता रद्द गरेर ठेकेदार कम्पनीलाई कालोसूचीमा समेत राख्ने सम्बन्धित निकायलाई निर्देश दिने ।”प्रतिवेदनमा उल्लेख छ ।

अध्ययन समितिका सदस्यमा सरिता न्यौपाने र एकवाल मियाँ रहेका थिए । सुझावमा भवनको ७० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम सम्पन्न गर्न समय थप गर्नुपर्ने औल्याइएको छ । 

“सयममा अस्पतालको भवन बन्न नसक्दा क्यान्सरका बिरामीले धेरै दुःख पाइरहेका छन् । छिटो भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउनुपर्छ  र प्रतिवेदनलाई सरकारले  कार्यान्वयन  गर्नुपर्छ ”,  समितिका सभापति जयपुरी  घर्तीले भनिन् ।

बैठकमा समितिका सदस्य हितबहादुर तामाङ, उमेश श्रेष्ठ, चित्रलेखा यादव, मनकुमारी जिसी ,सरिता न्यौपाने र नवीना लामाले समयमा भवन निर्माणकार्य सम्पन्न हुनुपर्ने र यसका लागि निरन्तर अनुगमन गर्न स्वास्थ्य मन्त्रालयलाई सुझाव दिए । रासस

प्रकाशित: १८ भाद्र २०७६ ०७:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App