८ वैशाख २०८१ शनिबार
समाज

दिवा खाजाले बढायो विद्यार्थी

पर्वत– पर्वतको कुश्मा नगरपालिका–७ गोदाममा रहेको युवावर्ष आधारभूत विद्यालयमा यो वर्ष ३५ विद्यार्थी भर्ना भएका छन्। गत वर्ष सो विद्यालयमा करीब २५ जना विद्यार्थी अध्ययनरत थिए।     

बिहान १० बजे सबै विद्यार्थी प्रार्थनामा जम्मा हुन्थे। जब खाजा खानका लागि ४५ मिनेटको ‘टिफिन टाइम’ हुन्थ्यो, त्यसपछि विद्यालयमा थोरै मात्र विद्यार्थी बाँकी रहन्थे। खाजा खान घरमा गएका विद्यार्थी फर्किँदैन थिए।     

अभिभावक मेलापात र रोजगारीमा जाँदा दिउँसो घरमा शून्य हुने भएकाले विद्यार्थी विद्यालय आसपासमा रहेका फलफूलका रुखमा भुण्डिन्थे। कक्षा सञ्चालन भइसक्दा पनि उनीहरू विद्यालयमा नफर्किँदा दिउँसोको २ बजे नै ४ बजेपछिको हुन्थ्यो। तर, अहिले विद्यालयको वातावरण फेरिएको छ। विद्यालयमा ४ बजेसम्म सबै विद्यार्थी बस्छन्।     

विद्यालयभन्दा केही तल निजी तथा आवासीय विद्यालय छन्। ती निजी विद्यालयबाट १० जना विद्यार्थी युवा वर्षमा फर्किएका छन्। निजी विद्यालयबाट १० जना विद्यार्थी सामुदायिक विद्यालयमा फर्किनु सङ्ख्यामा थोरै भएको भए पनि महत्वपूर्ण उपलब्धि भएको विद्यालयका प्रधानाध्यापक खड्कराज पुरीले बताए।     

विद्यालयको वातावरणमा परिवर्तन आउनुमा विद्यार्थीलाई दिइने खाजा रहेको छ। स्थानीय प्रेम विक र वडा नंं. ७ कार्यालयले खाजा उपलब्ध गराएपछि विद्यालय समयसम्मै विद्यार्थी बस्ने गरेको प्रधानाध्यपक पुरीले बताए।     

विद्यालयमा रहेका १२ जना छात्राका लागि विक र बाँकी २३ जना विद्यार्थीलाई वडा कार्यालयले खाजा उपलब्ध गराउँदै आएको छ। गत आर्थिक वर्षमा विद्यार्थीको खाजा खर्चका लागि एक लाख रुपैयाँ बजेट विनियोजन गरेको सो वडाले चालू आर्थिक वर्षमा ६० हजार रुपैयाँ विनियोजन गरेको छ। ‘यो विद्यालयमा गरीब, दलित र मजदूरका छोराछोरी अध्ययनरत छन्। उनीहरूको घरमा खाजा खुवाउन नसक्ने अवस्था पनि छ।

खाजाकै कारण पनि विद्यार्थी विद्यालय आउन र शिक्षा प्राप्त गर्न सकुन् भनेर दिवा खाजा कार्यक्रमको थालनी गरेका हौँ,’ वडाध्यक्ष सुवासचन्द्र पौडेलले भने, “यो कार्यक्रमका लागि अघिल्लो आर्थिक वर्षमा एक लाख रुपैयाँ र चालू आर्थिक वर्षमा ६० हजार रुपैयाँ विनियोजन गरेका हौँ।”

खाजा कार्यक्रमको थालनी गरिएसँगै विद्यालयमा विद्यार्थीको टिकाउ दर राम्रो देखिएकाले खाजालाई निरन्तरता दिने योजना रहेको वडाध्यक्ष पौडेलले बताए।     

समाजसेवी विकले ‘छोरी पढाउ’ अभियान चलाउँदै आएका छन्। यहीँ अभियान अन्तर्गत उनले तीन वर्षदेखि विद्यालयका बालिकाका लागि खाजाका साथै शैक्षिक सामग्री उपलब्ध गराउँदै आएका छन्।     

शिक्षक हरिप्रसाद आचार्यले विकले यो वर्ष १२ जना बालिकाका लागि खाजा, स्टेशनरी, पोशाक, झोलालगायतका सामग्रीको उपलब्ध गराएको जानकारी दिए। प्रधानाध्यापक पुरीका अनुसार विकले कक्षा– ५ सम्मको अध्ययन पूरा गरी नारायण मावि र शिवालय माविमा अध्ययनका लागि गएका छात्रालाई पनि निरन्तर सहयोग गर्दै आएका छन्।    

उनले भने, “यहाँबाट अर्को विद्यालयमा गएका छात्राले १२ कक्षा पढ्ने बेलासम्म खाजा, पोशाक, स्टेशनरीलगायतका सामग्री विकले उपलब्ध गराउँदै आएका छन्।” विद्यालयमा विपन्न परिवारका बालबालिका अध्ययनरत रहेकाले खाजाको प्रभावले विद्यार्थीलाई विद्यालय पठाउन सजिलो भएको अभिभावकहरुले बताए।

दलित तथा आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थी विद्यालयमा रहेकाले अघिल्लो वर्षसम्म विद्यार्थी खाजाकै खोजीमा विद्यालय नजिकै रहेका स्थानीयवासीका अम्बा, कागती, सुन्तला, भोगटेका रुखमा झुण्डिने गरेको उनीहरूको भनाइ छ।     

दिवा खाजा कार्यक्रम सुरु भएपछि अहिले विद्यालयमा दैनिक विद्यार्थी उपस्थिति दर ९५ प्रतिशत भएको शिक्षक आचार्यको भनाइ छ।रासस     
   
 

प्रकाशित: १७ भाद्र २०७६ ०८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App