coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘मिटर ब्याजी’विरुद्ध सम्पत्ति शुद्धीकरण समेत

सर्लाही - भदचश्रठगीको आरोपमा पक्राउ परेका श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवारलाई सर्लाही प्रहरीले सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गर्ने भएको छ।  आइतबार साँझ मलंगवाबाट पक्राउ परेका साहलाई सोमबार जिल्ला अदालतबाट ठगी मुद्दामा पाँच दिन म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।  प्रहरी उपरीक्षक भट्टराईका अनुसार चर्को (मिटर) ब्याज लिएर ऋण लगानी गर्दै ठगी गरेको आरोपमा पक्राउ परेका ५६ वर्षीय साहविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गरिने भएको छ।

‘ठगी मुद्दासँगै सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गर्दैछौं,’ प्रउ भट्टराईले भने, ‘सम्पत्ति शुद्धीकरण विभागबाट समेत अनुसन्धान गर्न अख्तियारी पत्र आइसकेको छ। ’ सम्पत्ति शुद्धीकरणमा प्रारम्भिक अनुसन्धान गर्ने र केही दिनपछि विभागकै जिम्मा लगाइने उनले बताए।  ‘सम्पत्ति शुद्धीकरणमा त हामी त्यति धेरै एक्स्पर्ट छैनौं,’ प्रउ भट्टराईले भने, ‘त्यसैले प्रारम्भिक अनुसन्धान गरेपछि सम्पत्ति शुद्धीकरण विभागकै जिम्मा लगाउँछौं। ’

लालबन्दी नगरपालिका–४ की रुकमिणी चौधरीले दिएको जाहेरीको आधारमा साहलाई ठगी आरोपमा पक्राउ गरिएको हो।  साढे चार लाख रुपैयाँ ऋण लिएको र ब्याजसहित पटकपटक गरेर नौ लाख रुपैयाँ तिरिसक्दासमेत अझै १५ लाखको कागज रहेको भन्दै साहले आफू र पतिलाई मुद्दा हाल्ने धम्की दिएको चौधरीको जाहेरीमा रहेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए।

आइतबार साँझ काठमाडौं जाने तयारी साथ घरबाट बाहिर निस्कनेबित्तिकै प्रहरीले साहलाई मलंगवाबाट पक्राउ गरेको हो।  आफ्नो नभई छोरी, ज्वाइँलगायत आफन्तको नाममा कागज गराउने गरेकाले सम्पत्ति शुद्धीकरणमा समेत साह उम्कन सक्ने सम्भावना रहेको एक जानकार बताउँछन्।

मिटर ब्याजी (सुदखोर) को रूपमा चर्चा कमाएका साहविरुद्ध विगत केही समययता ऋणपीडितहरू निरन्तर आन्दोलनरत छन्।  विगतमा सर्लाहीमै पटक–पटक आन्दोलन गर्दै आएका ऋणपीडितहरू केही दिनयता काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।

बकाइदा ल्याप्चे हानिएको तमसुक नै भएपछि परदेशी कानुनी रूपमा बलियो रहेको र अदालतबाट धमाधम मुद्दा जितिरहेको र ऋणीहरू भने धमाधम जेल जान बाध्य भइरहेको जानकारहरू बताउँछन्।  अनपढ ऋणीलाई चार–पाँचवटा कागजमा सहीछाप गराउने गरेको पीडितहरूले आरोप लगाउँदै आएका छन्।

परदेशीले कतिपय ऋणीलाई ऋण मिनाहाका लागि यौन आशयको प्रस्तावसमेत गर्ने गरेको पीडितहरूले खुलेआम आरोप लगाउँदै आएका छन्।  परदेशीले दुई सय ९९ जना ऋणीविरुद्ध अदालतमा मुद्दा दिएको र त्यसमध्ये कतिपय ऋणी जेल गइसकेका छन् भने कतिपयको नाममा पक्राउ पुर्जी जारी भएको छ।  पक्राउ पुर्जी जारी भएका कलवारक दर्जनौं ऋणीहरू लुकेर बस्न बाध्य छन्।

केही वर्षअघि कलवारले आफ्नै घरमा काम गर्ने एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपसमेत लागेको छ।  तर पीडित परिवारलाई आर्थिक प्रलोभनमा पारेर अदालतको बयानमा बालिकालाई ‘होस्टाइल’ (बयान फेर्ने) गराइएपछि कलवार थुनामुक्त भएको प्रहरी स्रोतले जनायो।

कलवारले ऋण तिर्न नचाहनेहरूको भिड संगठित भई आफूविरुद्ध लागेको बताउँदै आएका छन्।  ‘मैले पटक–पटक ताकेता गर्दा पनि साँवा र ब्याज नै नतिरेपछि बाध्य भएर अदालतमा मुद्दा हालेको हुँ,’ साहले भने, ‘मलाई पनि यो मुद्दा–मामलाको लफडा गर्ने रहर कहाँ छ र ?’ उनले आफूले चार–पाँचवटा कागजमा सहीछाप नगराउने गरेको दाबी समेत गरेका छन्।

प्रकाशित: १७ भाद्र २०७६ ०१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App