२१ श्रावण २०७७ बुधबार
समाज

सामान्य उपचारमा समेत निजीकै भर, अधिकांशमा जनशक्ति र उपकरण अभाव

तस्विरःमिथिलेश यादव/नागरिक

सिरहा - सिरहाका सरकारी अस्पतालमा आवस्यक जनशक्ति र उपकरण नहुँदा बिरामी  समस्यामा परेका छन्। ग्रामिण स्वास्थ्य चौकीमा पूर्वाधार छैन। शहरका पूर्वाधार भएका अस्पतालमा कतै जनशक्ति छैन त कतै उपकरण। ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीबाट धेरैजसो बिरामी शहका अस्पतालमा रेफर गरिन्छन्। तर सहरमा पूर्वाधार भएका अस्पतालमा पनि जनशक्ति र उपकरण नहुँदा बिरामीले उपचार पाउँदैनन्।

कतिपय अस्पतालमा उपकरण छन् तर जनशक्ति छैन। पूर्वाधार पर्याप्त भएकामा विशेषज्ञ चिकित्सक छैनन्।  प्राय अस्पतालमा निःशुल्क पाइने औषधी पनि छैन। सरकारी अस्पतालमा उपचार नपाएपछि बिरामी भने महँगोमा निजीमा उपचार गराउन बाध्य छन्।  यहाँका स्थानीइहरुलाई उपचारकै लागि वीराटनगर, धरान मात्र नभई भारतको दरभंगा, पटना र नयाँदिल्लीसम्म पुग्नपर्ने बाध्यता छ।

पूर्वाधार भए जनशक्ति छैन
जिल्ला अस्पताल सिरहामा १४ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ।  ५० बेडको जिल्ला अस्पतालका सबै दरबन्दी रितm छन्।  काजमा एकजना कन्सलटेन्ट सर्जन छन्।  उनैले मेडिकल सुपरिडेन्टेन्टको जिम्मेवारी पनि पाएका छन्।  बाँकी पद रिक्त छन्। ११ औं तहको मेडिकल सुपरिडेन्टेन्टको दरबन्दी पूर्ति नहुँदा मुनीकाले रिक्त जिम्मेवारी पाएका हुन्।

कन्सलटेन्ट फिजिसियनदेखि मेडिकल अधिकृत गरी चारजना करारका डाक्टर छन्।  एकजना स्वयमसेवक र अर्का डा. नागेन्द्र यादव काजमा छन्।  गाइनो डाक्टर नहुँदा यहाँ नर्मल बाहेकका प्रसूती सेवा उपलब्ध छैन्।  भिडियो एक्सरे मेसिन छ। तर त्यस कक्षमा ताला झुण्डिएका छ।  रेडियोलोजिष्ट नहुँदा भिडियो एक्सरे सेवा बन्द रहेको अस्पताल प्रशासनले जनाएको छ।  जिल्ला अस्पतालमा जटिल खालका बिरामीलाई अन्यत्र रेफर गरिन्छ।  नर्मल बाहेकको प्रसूतीसेवा दिइएको छैन।

स्वास्थ्य जनसंख्या तथा वातावरण मन्त्री उपेन्द्र यादवले समेत निरीक्षण भ्रमण गरेर फर्केको छ महिनाभन्दा बढी भैसक्यो।   उनीसमक्ष अस्पतालको अवस्था अवगत गराइएको भए पनि हालसम्म कुनै पहल भएको छैन।जिल्ला अस्प्ताल सिरहामा यो वर्ष औषधी पनि आएको छैन।  चाहेजति सेवा सर्वसाधारणलाई दिन सकेका छैनौं,’ जिल्ला स्वास्थ्य प्रमुख डा नागेन्द्र यादवले भने, ‘मुख्य समस्याँ डाक्टरको दरबन्दी पूरा नहुनु नै हो। ’

नाममात्रैको सरकारी अस्पताल
निजी अस्पतालमा उपचार गराउँदा बिरामीलले अत्याधिक शुल्क तिर्नुपर्छ।निजीमा प्रसूति गराउँदा समेत महँगो शुल्क लिन्छन्।  सरकारी अस्पताल जहाँ निःशुल्क सुत्केरी गराइन्छ।  त्यहाँ पनि निजीकै हाराहारी खर्चको बोझ बोक्न बाध्य छन् महिला।  छोरी ममता पाललाई सुत्केरी गराउन रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान आएकी सप्तरी बोदेबरसाइनकी सीतादेवीले एक घन्टामै २५ सय रुपैयाँ खर्च गर्नुपर्यो।  भिडियो एक्सरेलगायतका परीक्षण र औषधी खरिद गरेबापत उनको खर्च बढ्यो।  यस अस्पतालमा प्रसूती गराउँदा उनले औषधिलगायत गरी १५ हजार रुपैयाँ खर्च भएकोे बताइन्।

सरकारी अस्पतालकै डाक्टर भिडियो एक्सरे लगायत औषधी किन्न निजीमा रिफर गर्छन्। जहाँ बिरामीले चर्को शुल्क तिर्नुपर्छ। पालका अनुसार सुत्केरी गराउनका लागि चाहिने स्लाइन पानीदेखि औषधि सबै अस्पतालबाहिरकै निजी पसलबाट किन्नुपर्यो।  अस्पतालमा भर्ना भएको एकदुई घन्टामै भिडियो एक्सरे, ल्याब परीक्षण र औषधी गरी तीनचार हजार खर्च भएको पालले बताइन्।

‘अस्पतालको बेड र डाक्टर जाँचबाहेक सबै सेवामा निजीकै भरमा पर्नुपर्दोरहेछ। ’, उनले भनिन्, ‘प्रसूति महिलालाई सरकारले दिँदै आएको न्यानो झोला (बच्चा र आमाका लागि लुगा) र यातायात खर्चसमेत अस्पतालले दिएन, उल्टै खर्चको भारी बोकाइदियो। ’ सरकारी अस्पतालमा सुत्केरी गराउने महिलालाई यातायात खर्चबापत एक हजार उपलब्ध गराउँदै आएको थियो।  तर, यो अस्पतालले स्थानीय तहबाट आउनुपर्नेजति रकम नआएकोले आमा सुरक्षा कार्यक्रम प्रभावित भएको अस्पतालका मेसु सुनिलकुमार कुशवाहाको भनाई छ। 

जिल्ला स्थित अस्पतालकै यो अवस्था हुँदा बाँकी प्राथमिक स्वास्थ्य केन्द्रको स्थिति अझ दयनीय छ।  मिर्चैया स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तीन वर्ष पहिला विभागबाट एक्सरे मेसिन आयो।  त्यो पनि बिग्रेकै।  एक्सरे नबनेपछि त्यतिकै थन्कियो।  गत वर्ष फेरि एक्सरे मेसिन आएको छ।  तर, पूर्वाधार अभावले स्वास्थ्य केन्द्रको सिंढीमुनी थन्किएको छ।  कोठा अभावले उपकरण भएपनि एक्सरे सेवा सञ्चालनमा छैन्।  यहाँ प्रसूती सेवा त छ तर, भिडियो एक्सरे सेवा नै छैन्।  स्वास्थ्य केन्द्रका अनुसार गत्त वर्ष ७ सय ५७ जनाले नर्मल प्रसूती सेवा प्राप्त गरेका छन्।  जनशक्ति, पूर्वाधार र उपकरण अभावले धेरै सर्वसाधारण विरामीलाई अन्यत्र रेफर गर्नुपरेको अस्पताल प्रशासनले जनाएको छ। 

मिर्चैयाकी प्रतिमादेवी सातमहिनाको गर्भवती छिन्।  उनी प्राथमिक स्वास्थ्यकेन्द्रमा नियमित गर्भ जाँच गराउँदै आएकी छन्।  सोमबार उनलाई स्वास्थ्यकर्मीले भिडियो एक्सरे गराउन भने।  उनी अस्पताल बाहिर मिर्चैया बजारमा रहेको शान्ति हेल्थ केयरमा भिडियो एक्सरे गराइन।  जसबापत उनलाई ८ सय ५० रुपैयाँ खर्चिनुपर्यो।  

प्राथमिक स्वास्थ्य केन्द्र भगवानपुर, नवराजपुर, औरही सरकारी अस्पतालको पनि अवस्था उस्तै छ।  ‘कतै चिकित्सक छन्, उपकरण र पूर्वाधार छैन, कतै पूर्वाधार छ चिकित्सक र औषधी छैन।  जिल्ला स्वास्थ्य प्रमुख डा. यादव भन्छन्, ‘दरबन्दी पदपूर्ति, उपकरण र भौतिक पूर्वाधार भए यस भेगका सर्वसाधारणले उपचारका लागि टाढा धाउनुपर्ने थिएन।’

प्रकाशित: १६ भाद्र २०७६ १२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App