८ वैशाख २०८१ शनिबार
समाज

कृषि उद्यमतर्फ आकर्षण

मोरङ- जिल्लामा कृषि उद्यम तर्फ आकर्षण बढ्दै गएको छ। आर्थिक वर्ष २०७५/२०७६ मा घरेलु तथा साना उद्योग कार्यालय विराटनगरमा दर्ता भएका उद्योगमा धेरै कृषि तथा वनजन्य रहेका छन्।

एक वर्षको अवधिमा एक हजार ३ सय ४७ नयाँ उद्योग थपिएका छन्। यसमध्ये ५ सय ४० कृषि तथा वनजन्य उद्योग दर्ता भएका हुन्। कृषि तथा वनजन्य उद्योग तर्फ महिलाको सङ्ख्या पनि उल्लेख्य रहेको छ। अहिले व्यावसायिक उत्पादनको उद्देश्य राखेर कृषि तथा वनजन्य उद्योग दर्ता गर्ने लहर नै चलेको छ।

एक वर्षको अवधिमा २ सय १७ महिला र ३ सय २३ पुरुष उद्यमीका नाममा गरी ५ सय ४० नयाँ कृषि तथा वनजन्य उद्योग दर्ता भएका कार्यालयका सूचना अधिकारी रमेश घिमिरेले बताए। यस अवधिमा दर्ता भएका एक हजार ३७ नयाँ उद्योगमा पाँच अर्ब ६४ करोड ३२ लाख ५४ हजार रुपैयाँ लगानी गरिएको छ।     

नयाँ दर्ता भएका उद्योगमा ५ सय ४० कृषि तथा वनजन्य, उत्पादनमूलक उद्योगमा ३ सय ५१, निर्माणका २१, सेवामूलक ४ सय ७१ उद्योग दर्ता भएका छन्। कृषि तथा वनजन्य उद्योग दर्तामा उत्साह देखिए पनि पर्यटन, ऊर्जा, खनिज र सूचना प्रविधि प्रकृतिका उद्योग भने दर्ता भएको देखिँदैन। यी नयाँ उद्योगमा एक हजार ५ सय ५३ महिला र दुई हजार ४ सय ३८ पुरुषले रोजगार पाउने छन्।     

सूचना अधिकारी घिमिरेका अनुसार लघु उद्योगतर्फ निजी ५१ दर्ता भएका छन्। सानातर्फ निजी एक हजार १ सय ४५, साझेदारी ९५ र कम्पनि (प्रालि) ५६ वटा नयाँ उद्योग दर्ता भएका हुन्। गत वर्ष थपिएका घरेलु, तथा साना उद्योगमध्ये ५ सय १६ महिला उद्यमीले नयाँ उद्योग दर्ता गरेका हुन्।

जिल्लामा हालसम्म लघु, साना र घरेलुतर्फ नौ हजार ७ सय २८ उद्योग दर्ता छन्। जसमध्ये लघुतर्फ १ सय ४५, सानाका निजी फर्मतर्फ आठ हजार ५ सय २१, साझेदारीफर्म ५ सय ८१ र प्रालितर्फ ४ सय ४७ तथा घरेलुतर्फ निजी फर्म ३४ दर्ता भएका सो कार्यालयले जनाएको छ।रासस

प्रकाशित: १३ भाद्र २०७६ ०५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App