५ वैशाख २०८१ बुधबार
समाज

चार पुल सञ्चालन हुँदा स्थानीयलाई राहत

तुलसीपुर- दाङमा सडकबीचका चार पुल सञ्चालनमा आएका छन्। तुलसीपुर–लमही सडकखण्ड अन्तर्गतको कटुवा खोला, हापुर खोला, सेवार खोला तथा गढवाको पर्नहवा पुल सञ्चालनमा आएका सडक डिभिजन कार्यालयका सूचना अधिकारी क्षितिज पोखरेलले बताए।     

पुल निर्माण कार्य पूरा भएपछि ती पुलमा गाडी आवतजावत गराउन थालिएको हो। यसअघि पुल सञ्चालनमा नआउँदा यात्रुलाई सास्ती भएको थियो। तर अहिले सहज भएको छ। “लामो समयदेखि पुल निर्माण नहुँदा यात्रुले सास्ती भोग्नुपरेको थियो”, उनले भने, “तर अहिले केही पुल सञ्चालनमा आएपछि सहज भएको छ।”

पुल निर्माण नहुँदा वर्षात्को सयममा यात्रुले निकै सास्ती खेप्नुपरेको थियो। वर्षाको समयको आएको भेलले सवारी वारपारसमेत समस्या हुने गरेको थियो।     

पोखरेलका अनुसार सक्राम खोलाको पुल पनि छिटफुट रुपमा सञ्चालनमा आएको छ। त्यस्तै अबको दुई महीनाभित्र घोराही–तुलसीपुर सडकखण्डबीचका बबई खोला पुल र गुर्जे खोलाका पुल पनि सञ्चालनमा आउने उनले बताए। बबई र गुर्जे खोलवाको काम पनि अन्तिम चरणमा पुगेको छ।     

डेढ वर्षअघिदेखि निर्माण शुरु भएको ग्वारखोलाको पुल निर्माणको काम भने आधाभन्दा बढि पूरा भएको छ। त्यस्तै सिस्ने खोलाको पुल निर्माणको काम पनि जारी छ। सबै पुल सञ्चालनमा आएपछि आवतजावतमा सहज हुने उनको भनाइ छ। पुल सञ्चालनमा आएपछि आवतजावतमा सहज भएको सवारी चालक सुनिल बिसीले बताए।     

घोराही–तुलसीपुर सडकखण्डबीचमा पर्ने पत्रेखोलाको पुल निर्माणको काम भने अलपत्र छ। त्यहाँ दुईवटा पिल्लर ठड्याइएको छ। त्योभन्दा काम अघि बढ्न सकेको छैन। त्यहाँको पुल निर्माणका लागि नयाँ सामान ल्याउनुपर्ने हुँदा पनि काममा ढिलाइ भएको सूचना अधिकारी पोखरेलले बताए।     

उक्त पुलका लागि आवश्यक पर्ने सामग्री नेपालमा नपाइने भएकाले पनि समयमा काम हुन नसकेको उनको भनाइ छ। सोही खोलाको पुल पाँच वर्षदेखि अलपत्र रहेकोसमेत उनले बताए। पुललाई छिटो शुरु गर्न सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिए पनि सम्बन्धित निर्माण व्यवसायीले अटेरी गर्ने गरेकोसमेत उनको भनाइ छ।

चालिस मिटर लम्बाइ रहेको उक्त पुल निर्माणको काम अहिले आधा नभई अलपत्र भएको छ। डेढ वर्षमा पुल निर्माण सक्ने गरी शङ्करमाली निर्माण सेवाले २०७१ भदौ ११ गते सम्झौता गरेको थियो।     

ठेकेदारको लापरवाहीले पुल निर्माण ढिलाइ     
ठेकेदारको लापरवाहीका कारण पुल निर्माणमा ढिलाइ हुने गरेको सूचना अधिकारी पोखरेलको भनाइ छ। उनका अनुसार प्राविधिक सामग्री समयमा उपलब्ध नहुँदा पनि काममा केही ढिलाइ हुने गरेको छ। डेढ वर्षमा निर्माण सक्नुपर्ने पुल पाँच वर्षसम्म पनि निर्माण हुन नसक्नु दुःखद भएको उनको भनाइ थियो।     

शीतलपुरको पुल जीर्ण     
राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–अमेलिया सडकखण्डको शीतलपुरस्थित बबई नदीको पक्की पुलको अवस्था जीर्ण बन्दै गएको छ। पुलमा गरिएको पुरानो कालोपत्रे ठाउँठाउँमा खाल्डाखुल्डी परेपछि आवतजावतमा समेत समस्या हुने गरेको छ। समयमै मर्मत नहुँदा अहिले ठाउँठाउँमा ठूला–ठूला खाल्डाखुल्डी पर्नुका साथै पुलको रेलिङ पनि कमजोर हुँदै गएको स्थानीयले बताएका छन्।

पुलको पूर्वतिरको भाग कमजोर हुँदै गएको छ। विसं २०५५ मा उक्त पुल निर्माण गरिएको हो। हाल सो पुल भएर दैनिक पाँच सय बढी यातायातका साधन आवतजावत गर्छन्।रासस

प्रकाशित: १३ भाद्र २०७६ ०४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App