coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

फौजी कीराले मकै सखाप

तेह्रथुम- फौजी कीराले मकै सखाप पारेपछि तेह्रथुमका किसानको बिचल्ली भएको छ।  कीराले खाएको मकैको बोटसहित यहाँका किसानले  म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाम्फेलाई  कार्यकक्षमै भेटेर  कीरा नियन्त्रणको माग गरेका छन्।  

बुधबार दुई दर्जनभन्दा  बढी किसान  कीराले खाएको मकैको बोटसहित म्याङलुङका मेयर तुम्बाहाम्फेको कार्यकक्षमा पुगेर कीरा  नियन्त्रण गर्न अनुरोध गरेका हुन्।  

म्याङलुङ नगरपालिका वडा नम्बर २ का करिब दुई दर्जनभन्दा बढी किसानले आफ्नो बारीमा रोपेको मकै फौजी कीराले सखाप पारेको भन्दै कीरा नियन्त्रणमा सहयोग गरिदिनका लागि स्थानीय सरकार गुहारेको किसान मनकुमार वाइवाले बताए।  उनले यस वर्ष आफ्नो बारीमा रोपेको मकै फौजी कीराले सखाप पारेपछि खाद्यान्न अभाव हुने भन्दै सहयोग गरिदिनसमेत अनुरोध गरेका छन्।

गत वर्ष  १५ मुरी मकै फलाएका स्थानीय कृषक काजीमान दाहालले १६ रोपनीमा रोपेको मकै फौजी कीराले खाएर सखाप पारेको दुखेसो पोखे।  उनका अनुसार सुख्खाले मकै मरेपछि पुनः रोपेको मकैमा फौजी कीरा  आतंक भएपछि  किसान आजित छन्।  मकैको सुत्ला च्याप्ने बेला भए पनि फौजी कीराले पात सबै खाएपछि चौपायालाई घाँससमेत दिन नहुने अवस्था भएको किसान गणेश तामाङले बताए।  फौजी कीराले आएको मकैको घाँस गाईवस्तुलाई दिँदा नखाने र खाए पनि बिरामी हुने समस्या देखिएपछि अर्को समस्या भएको छ।  फौजी कीराले आएको मकैको बोटको घाँस खाएर पशु चौपायासमेत बिरामी भएपछि किसान  समस्यामा परेका छन्।  

फौजी कीराबाट पीडित म्याङलुङ–२ की  आइतमाया तामाङले आफ्नो बारीमा रोपेको मकै फौजी कीराले सखाप पारेपछि अन्नको अनिकाल लाग्ने भन्दै अब नगरपालिकाले राहत नदिए समस्या हुने बताइन्।  उनले भनिन्, ‘नगरपालिकाले एक दुई बोरा चामल दिएर मात्र हुँदैन गाई वस्तुलाई घाँसको समेत व्यवस्था नगरपालिकाले गरिदिनु पर्छ। ’ फौजी कीराले म्याङलुङ नगरपालिका वडा नम्बर २ का करिब ८० घर परिवारले रोपेको मकै सखाप पारिदिएको वडाध्यक्ष शम्भु तुम्बाहाम्फेले बताए।  

तत्कालीन जिल्ला कृषि विकास कार्यालयसमेत हटेपछि किसानलाई थप समस्या भएको छ।   यसैबीच कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख सूर्य सापकोटाले प्रकोप क्षेत्रमा प्राविधिक टोली खटाइ सकिएको जानकारी दिए।   यसको स्थलगत अध्ययन गरेर मात्र नियन्त्रणका लागि उपाय निकाल्न सकिने उनले बताएका छन्।  फौजी कीरा पहिलो पटक अमेरिकामा देखिएको थियो।  जलवायु परिवर्तनसँगै पछिल्लो समय पहाडी जिल्लामा समेत फौजी कीराको प्रकोप बढेको छ।  यो कीराले फौजी जस्तो लाइनमा बसेर बाली सखाप गर्ने भएकोले यसलाई फौजी कीरा भनिएको जानकारहरुले बताएका छन्।  यो कीरा २४ घण्टामा सय किलोमिटर दुरीसम्म पुग्न सक्छ।  यसले खडेरी भएर पानी परेपछि कलिलो बिरुवामा आक्रमण गर्ने गर्दछ।

 

 

 

प्रकाशित: १२ भाद्र २०७६ ०६:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App