coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नुन अभावको बहानामा ग्राहक ठग्दै व्यापारी

धनगढीस्थित गोदाममा मौज्दात नुन। तस्विर योगेश रावल

टीकापुर - सुदूरपश्चिमका विभिन्न पाँच जिल्लामा नुनको चरम अभाव भएको छ। कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र डोटीका विभिन्न क्षेत्रमा नुनको चरम अभाव भएको बताईएको छ। कतिपय ग्रामीण क्षेत्रमा ब्यापारीहरुले महंगोमा नुन बेच्न थालेको स्थानीयले गुनासो गरेका छन।

नुन अभावको बहानामा ब्यापारीहरुले ग्राहकलाई ठग्न थालेका छन। खरिद मूल्य नै महंगो पर्न थालेपछि महंगोमा नुन बेच्नु परेको ब्यापारीहरुको भनाइ छ।टीकापुरस्थित देवकोटा जनरल स्टोर्सका सञ्चालक नमराज देवकोटाले यसअघि ९६० रुपैया बोरा पाइने नुन अहिले एक हजार पर्न थालेको बताए। उनले डिलरबाटै महंगोमा नुन बिक्री भैरहेको बताए।

धनगढीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा प्रयाप्त मात्रामा नुन भएपनि समयमा ढुवानी हुन नसक्दा नुन अभाव भएको हो। सरकारले २०७६ जेठ १५ गते प्रस्तुत गरेको बजेटमा अनिवार्य भ्याटमा जानुपर्ने उल्लेख गरेपछि नुन ढुवानीमा समस्या आएको साल्ट टे«डिङ कर्पोरेसनका महाप्रबन्धक केशवप्रसाद पाण्डेले जानकारी दिए। उनले नुन ढुवानी गर्ने हरेक ट्रक भ्याटमा दर्ता हुनुपर्ने वाध्यता भएपछि ढुवानीका लागि पटक पटक गरिदै आएको टेण्डर प्रकृया समेत प्रभावित भैरहेको बताए।

साल्ट ट्रेडिङ कर्पोरेसन अञ्चल कार्यालय धनगढीले भदौ ६ गते तेस्रो पटक नुन ढुवानीका लागि टेण्डर आह्वान गरेको छ। यसअघि पहिलो पटक २०७६ जेठ २० गते आह्वान गरेको टेण्डर प्रकृयामा कुनैपनि व्यवशायीले भाग लिएनन्। त्यस्तै दोस्रो पटक २०७६ साउन १० गते आह्वान गरेको टेण्डर महंगो भएको भन्दै व्यवसायीहरुले रद्द गर्न लगाएको सूचना अधिकारी तेजबहादुर कुँवरले जानकारी दिए।

साल्ट ट्रेडिङले सुदूरपश्चिमका यी पाँच जिल्लामा रहेका शाखा कार्यालय र डिपो मार्फत नुन बिक्री गर्दै आएको छ। साल्ट टे«डिङको महेन्द्रनगरमा शाखा कार्यालय र टीकापुर, दिपायल, डडेल्धुरा, पाटन र बेलौरीमा डिपो रहेका छन्। साल्ट ट्रेडिङले ती स्थानसम्म नुन ढुवानीका लागि छुट्टाछुट्टै दररेट निर्धारण गरेको छ। जसमा दिपायलसम्म २६० रुपैयाँ, डडेल्धुरासम्म १७० रुपैयाँ, पाटनसम्म २६० रुपैयाँ, महेन्द्रनगरसम्म ७० रुपैयाँ, बेलौरीसम्म ७० रुपैयाँ र टीकापुरसम्म ८५ रुपैयाँ प्रति क्विन्टल रहेको छ।

यसअघि साल्ट ट्रेडिङले नुन ढुवानी गरेवाफत भ्याट बिल अनिवार्य गरेको थिएन। सरकारले भ्याटमा अनिवार्य जानुपर्ने व्यवस्था गरेपछि कार्यालयले चालु आवबाट ढुवानी गर्ने ट्रक लगायतबाट भ्याट बिल लिनुपर्ने वाध्यता भएको सूचना अधिकारी कुँवरले बताए। उनले भ्याट बिल नदिएसम्म नुन ढुवानी गरेवाफतको रकम भुक्तानी गर्न नमिल्ने व्यवस्था भएको बताए। ‘एउटा ट्रक भएपनि भ्याटमा जानुपर्ने भयो’ उनले भने–‘भ्याट बिल बिना कारोवार गर्नै मिल्दैन भनिएको छ।’

कार्यालयका अनुसार चालु आवमा एउटा बोरा नुन समेत ढुवानी हुन सकेको छैन। अहिलेसम्म धनगढी नजिकका ब्यापारीहरुले आफै ढुवानी भाडा तिरेर नुन किनिरहेको सूचना अधिकारी कुँवरले बताए।   उनका अनुसार ब्यापारीले आफै ढुवानी गरेको नुन केही हदसम्म महंगोमा बेचेको हुनसक्ने बताए। टीकापुरको ब्यापारीले ९२५ रुपैयाँमा किनेको एक क्विन्टल नुन १ हजारमा बेच्ने गरेका छन। जसमा ८५ रुपैयाँ ढुवानी भाडा जोडिएको छ।

उनले साउन महिनामा टीकापुर डिपो मार्फत ४ हजार बोरा नुन बिक्री भएको बताए। उनका अनुसार सो नुन हाइवे क्षेत्रका ब्यापारीले खरिद गरेका छन। टीकापुर डिपो मार्फत वर्षेनी ४० हजार बोरा नुन बिक्री हुन्छ। आव २०७५/०७६ मा सुदूरपश्चिममा २ लाख १३ हजार क्विन्टल नुन बिक्री भएको छ। धनगढीस्थित गोदाममा सुदूरपश्चिममा नौ महिना पुग्ने नुन मौज्दात रहेको महाप्रबन्धक पाण्डेले बताए। उनले नुन अभावका बारेमा माथिल्लो तहमा बारम्बार पत्राचार भैरहेको बताए।   सुदूरपश्चिमका अन्य चार जिल्लामा भने सरकारले अनुदानको नुन पु¥याईरहेको छ। अछाम, बझाङ, बाजुरा र दार्चुलाका बासिन्दाले भने अनुदानको भानु नुन प्रयोग गर्ने गरेका छन। जुन नुन सरकारले आफ्नै खर्चमा टेण्डर मार्फत ढुवानी गर्दै आएको छ।

प्रकाशित: ११ भाद्र २०७६ ०६:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App