coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

तीज मनाउन नगरको बजेट

सिन्धुली - तीज अगावै तामझाम र मनोरञ्जन कम गर्नुपर्ने चर्चा चलिरहँदा सिन्धुलीका दुई नगरपालिकाले भने तीज विशेष कार्यक्रम गर्नकै लागि बजेट नै विनियोजन गरेका छन्।  चाडपर्व भड्किलो भएको भन्दै तीज आउनु अगावै दर खाने तथा भड्किलो सांस्कृतिक कार्यक्रम गर्न नहुने बताइए पनि सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिकाले तीज मनाउन भन्दै बजेट विनियोजन गरेका हुन्। 

यहाँको कमलामाई नगरपालिकाले तीज मनाउनका लागि तीन लाख पचास हजार रुपैयाँ विनियोजन गरेको नगरपालिका कार्यालयले जनाएको छ।  नगरपालिकाभित्रका १४ ओटा वडामा १५ हजारका दरले वडास्तरीय तीज विशेष कार्यक्रम र बाँकी बजेटले नगरस्तरीय कार्यक्रम गर्ने उद्देश्यका साथ बजेट विनियोजन भएको हो।  ‘तीन लाख पचास हजार बजेट विनियोजन गरेका हौं’, कमलामाई नगरपालिका उपप्रमुख मञ्जु देवकोटाले नागरिकसँग भनिन्, ‘हामीले भड्किलो तरिकाले तीज विशेष कार्यक्रम गर्न नभई चाडपर्वको सद्भाव कायम गर्नका लागि मात्रै कार्यक्रम गर्न लागेका हौं। ’

उनले विनियोजित बजेटबाट महिलाहरुमा तीजको शुभकामना आदान–प्रदान र चियापान गर्ने बताइन्।  ‘तीज विशेष कार्यक्रम भनेर निमन्त्रणा गरिसकेपछि केही खुवाउनै प-यो’, उनले भनिन्, ‘सरकारले भड्किलो नबनाउन अनुरोध गरेको छ।  हामीले त्यसलाई मध्यनजर गरेका छौं। ’ उनले नगरस्तरीय तीज विशेष कार्यक्रम कमलामाई पार्टी प्यालेसमै गर्न लागेको जानकारी दिइन्।  

यस्तै दुधौली नगरपालिकाले दुई लाख रुपैयाँ तीज विशेष कार्यक्रम गर्न बजेट छुट्याएको दुधौली नगरपालिका प्रमुख घनश्याम राउतले जानकारी दिए।  प्रत्येक वडामा दश हजारका दरले तीज विशेष कार्यक्रम गर्न बजेट विनियोजन भएको छ, बाँकी नगरस्तरीय कार्यक्रम गर्ने तयारी भएको होला’, उनले भने, ‘गत सालको तुलनामा यस वर्ष तीज विशेष कार्यक्रम सामान्य तरिकाले गर्ने भनेर दुई लाख मात्रै विनियोजन गरेका हाैं। ’ उनले विगतको वर्ष चार लाख तीज विशेष कार्यक्रम गर्न बजेट छुट्याएको भए पनि यस वर्ष बजेट घटाएर दुई लाख मात्रै विनियोजन भएको जनाए। 

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले तीजभन्दा महिनाैं दिन अगावै गरिने कार्यक्रमले तीजलाई भड्किलो बनाएको बताए।  ‘यस वर्ष सिन्धुलीमा त्यस्तो भड्किलो कार्यक्रम भएको हामीलाई जानकारी छैन’, उनले भने, ‘केही जिल्लाले तीज अगावै कार्यक्रम गर्ने तथा दर खुवाउने कार्यक्रमलाई न्यूनीकरण गर्न उर्दी जारी गरेका छौं, हाम्रो मा त्यस्तो समस्या छैन। ’

प्रकाशित: १० भाद्र २०७६ ०६:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App