६ वैशाख २०८१ बिहीबार
समाज

मलेरिया पहिचान गर्न प्रशिक्षण

धनुषा - धनुषा र महोत्तरीका नीजि स्वास्थ्य संस्थामा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्टहरूलाई मलेरिया रोगको पहिचान गर्नका लागि प्रशिक्षण दिइएको छ।  सोमबारदेखि जिल्ला जनस्वास्थ्य कार्यालय धनुषामा ७५ जना मेडिकल टेक्नोलोजिष्टलाई रोग पहिचान गर्न दुई दिवसीय प्रशिक्षण सुरु गरिएको हो। 

मलेरिया रोगीहरूको संख्यामध्ये ६० प्रतिशत नीजि स्वास्थ्य संस्था र ४० प्रतिशत सरकारी अस्पतालमा उपचार गराउन आउने भएकोले देशैभरको यकिन तथ्यांक संकलन गरी रोग न्यूनीकरण गर्ने उद्देश्यले प्रशिक्षण दिइएको इपिडिमोबोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलले बताए।  ‘नेपालमा हाल मलेरियाको एक हजार ३८ बिरामी फेला परेकोमा प्रदेश २ मा ६६ जना रोगी रहेको तथ्यांक छ,’ उनले भने, ‘जसमध्ये आयातित ४५ र स्थानीय २१ जना रोगी रहेको छ।  यी संख्याका रोगीलगायत पहिचान हुन नसकेको, अन्धविश्वासमा परी उपचार नगराउने जस्ता बिरामीका पहिचान गर्न प्रशिक्षणले मद्दत पुग्छ। ’

नेपाल सरकारले मुलकबाट सन् २०२६ सम्ममा मलेरियामुक्त नेपालको दूरगामी लक्ष्यको परिकल्पना गरेको छ।  यो योजनाअनुसार मलेरियाबाट प्रभावित क्षेत्रहरूलाई सूक्ष्म अध्ययन गरी जोखिमका आधारमा वर्गीकरण गरी पहिचानको थालनी गरेको छ।  मलेरिया रोगका प्रमुख सूचक मानिने वार्षिक परजीवी दरलाई प्रतिहजारमा एकभन्दा कमबाट बढ्न नदिई सन् २०२५ सम्ममा स्थानीय रोगीको संख्या हालको भन्दा ९० प्रतिशतले घटाउने र स्थानीय मलेरिया संक्रमण भएका स्थानीय तहको संख्या ७० प्रतिशत घटाउने लक्ष्य लिइएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा. प्रमोदकुमार यादवले बताए। 

नेपाल–भारत खुला सिमानाका कारण ‘आयातित बिरामी’ बढ्दै जाने कारणले सरकारलाई रोगीको अनुगमन र फ्लोअप उपचारमा कठिनाइ आइरहेको छ।  नेपालमा सर्ने औंलोमध्ये ५५ प्रतिशत नेपालभित्रै सर्ने गरेका छन् भने ४५ प्रतिशत नेपाल बाहिर सरेर आउने रोगी रहेको तथ्यांक छ।  यसरी समग्रमा हेर्दा प्रदेश २ का ६६ गरी देशमा कुल १ हजार १ सय ८७ प्रभावित रहेको तथ्यांक छ।  

प्रदेश २ को ४ जिल्लामा औंलो बिरामी संख्या अहिले पनि यथावत रहेको तथ्यांकले देखाएको छ।  प्रदेश २ को बारा, धनुषा, सप्तरी र सर्लाही जिल्लामा औंलो रोग पाइएको छ। 

प्रकाशित: १० भाद्र २०७६ ०६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App