४ वैशाख २०८१ मंगलबार
समाज

पर्यटनमा केचना–कञ्चनजंघा सहकार्य

इलाम - मेची क्षेत्रका पर्यटन व्यवसायीले पर्यटन प्रवद्र्धनका लागि सहकार्य थालेका छन्।  गतवर्षदेखि पालैपालो ‘मेची महोत्सव’ आयोजना सुरु गरेका व्यवसायीले पर्यटन वर्ष सन् २०२० सुरु हुन करिब ४ महिना बाँकी रहँदा संगठित भएरै सहकार्य थालेका हुन्।

मेची मात्र नभई समग्र १ नम्बर प्रदेशको पर्यटन विकासबारे छलफल गर्न सोमबार प्रदेशभरका व्यवसायी इलाममा भेला भएका थिए।  उनीहरूले आपसी समन्वय र सहकार्यबिना पर्यटनले गति लिन नसक्ने निष्कर्ष निकाल्दै संगठित भएरै अभियान चलाउने पहल गरेका हुन्।  भ्रमण वर्ष २०२० का सदस्य राजन दंगालले सरकारी र निजी क्षेत्रबीच पर्यटनका लागि सहकार्य जरुरी रहेको पनि बताए।  ‘आउँदो भ्रमण वर्ष सफल बनाउन निजी र सरकारी क्षेत्रको समन्वय नितान्त आवश्यक छ,’ उनले भने, ‘प्रदेशभरका व्यवसायीले आपसी सहकार्य गर्नु झन् आवश्यक छ। ’ उनले कुनै एक ठाउँको पर्यटन विकासका लागि अर्काे ठाउँसँग सहकार्य गर्नुपर्ने बताए। 

विशेषगरी इलाम, पाँचथर, झापा र ताप्लेजुङबीच पर्यटन प्रवद्र्धनका आपसी समझदारी आवश्यक पर्ने सरोकारवालाको भनाइ छ।  ‘झापामा नभएको पर्यटकीय क्षेत्र वा वस्तु इलाममा हुनसक्छ, इलाममा नभएको वस्तु ताप्लेजुङ वा पाँचथरका हुनसक्छ,’ झापाका पर्यटन प्रवद्र्धक अर्जुन कार्कीले भने, ‘एक जिल्लाले अर्काे जिल्लाको पर्यटकीय क्षेत्रको पनि प्रचार गर्नसके मात्रै यो व्यवसाय दिगो हुन्छ। ’ उनले कुनै एउटा क्षेत्र, जिल्ला वा स्थानको मात्रै प्रचारले अब पर्यटन उँभो नलाग्ने पनि बताए।  ‘झापामा हामीले बेच्ने खास केही छैन तर हामीले इलाम, पाँचथर र ताप्लेजुङको प्रचार गर्न सक्यौं भने झापालाई पनि फाइदा हुन्छ,’ उनले भने, ‘पर्यटनबाट होटलले मात्र होइन, यातायातलगायत अन्य क्षेत्रले पनि फाइदा लिइरहेका हुन्छन्।’

नेपालकै होचो स्थान झापाको केचनादेखि विश्वकै तेस्रो अग्लो शिखर ताप्लेजुङको कञ्चनजंघासम्मका पर्यटन व्यवसायी एक नभएसम्म पूर्वमा पर्यटन फस्टाउन नसक्ने भन्दै व्यवसायी सहकार्यमा जुटेका हुन्।  उनीहरूले दमकका व्यवसायी राजन दंगालकै नेतृत्वमा मेची क्षेत्रस्तरीय पर्यटन समितिसमेत गठन गरेका छन्।  १५ सदस्यीय समितिको उपाध्यक्षद्वयमा ताप्लेजुङका तारा घिमिरे इलामका देवी पौडेल, महासचिवमा झापाका अर्जुन कार्की, सचिवमा झापाकै ख्याम सिटौला तथा कोषाध्यक्षमा इलामकी कमला रिजाल छानिएका छन्।  

‘अब इलामले कन्याम, माइपोखरी मात्र भनेर हुँदैन, पाथीभरा र जोरपोखरी पनि भन्नुपर्छ, पाँचथरले सन्दकपुर र लारुम्बा अनि झापाले कञ्चनजंघा र माइपोखरी पनि भन्नुपर्छ,’ उपाध्यक्ष पौडेलले भने, ‘कुनै पर्यटक मेची भित्रिएपछि उनीहरूलाई कसरी लामो समय यहीं टिकाइराख्न सकिन्छ भन्ने योजना बनाउनुपर्छ। ’ उनले कसैले व्यक्तिगत वा कुनै एउटा क्षेत्रको मात्रै प्रचार र प्रवद्र्धन गर्दा पर्यटन दिगो नहुने भन्दै आपसी सहकार्य जरुरी रहेको औंल्याए। 

सरकारी निकायले पनि पर्यटन प्रवद्र्धनका निजी क्षेत्रसँगै सहकार्य गर्ने प्रतिवद्धता गरेका छन्।  जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले पर्यटनका लागि पर्याप्त पूर्वाधार विकास गर्नुपर्ने बताए।  ‘हामीले तेस्रो मुलुकका भन्दा भारतीय र आन्तरिक पर्यटकलाई कसरी आकर्षित गर्ने भन्ने चाहिँ सोच्नुपर्छ,’ उनले भने, ‘आएका पर्यटकप्रति गरिने व्यवहार उचित हुनुपर्छ, पूर्वाधार पनि आवश्यकतअनुसार तयार गर्नुपर्छ। ’ बरालले मेची क्षेत्रमा पर्यटक आकर्षित गर्ने दर्जनौं सम्भावना रहेको र सम्भावनालाई वास्तविकतामा बदल्न सरकारी–निजी क्षेत्र सहकार्य आवश्यक रहेको बताए।  उनले पर्यटकका लागि विभिन्न स्थानमा पार्क बनाउन पनि सुझाव दिए। 

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले नगरको समृद्धिका लागि पर्यटनलाई पहिलो आधार बनाएको बताए।  ‘पर्यटन विकासकै लागि विमानस्थल, द्रुतमार्गलगायत पूर्वाधारका काम भइरहेका छन्,’ उनले भने, ‘पर्यटनका सबै क्षेत्रसँग सहकार्य गर्न नगरले पर्यटन प्रवद्र्धन समिति पनि गठन गरेको छ। ’ उनले पर्यटकीय सम्भावनाका क्षेत्र चिनेर मात्र लगानी गर्न पनि सुझाए।  ‘१ प्रदेश सरकारको बजेटमा पर्यटनका लागि मोरङ र सुनसरीका धेरैभन्दा धेरै योजनालाई बजेट दिइएको रहेछ,’ उनले भने, ‘पर्यटनको पूर्वाधार कहाँ विकास गर्दा त्यसले प्रतिफल दिन्छ भन्ने हेक्का भएनछ।’

त्यस अवसरमा व्यवसायीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको पर्यटन वर्ष २०२० को समितिमा इलामबाट कसैलाई सदस्य नराखिएकोमा विरोध जनाए।  एउटै जिल्ला झापाबाट ६ जना राखिएको समितिमा इलाम, पाँचथर र ताप्लेजुङजस्ता पर्यटकीयस्थल रहेका जिल्लाबाट कोही नसमेटिएको व्यवसायीको गुनासो थियो।

प्रकाशित: १० भाद्र २०७६ ०५:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App