coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पासोमा फसेको भालुको उद्धार

सोलुखुम्बु– सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीका कृषकले थापेको पासोमा फसेको एउटा भालुको उद्धार गरिएको छ।

डिभिजन वन कार्यालयको पहलमा काठमाडौंबाट आएको एक टोलीले तीन दिनदेखि पासोमा फसेको भालुको उद्धार गरेको हो। टोलीले भालुलाई तीन वटा लठ्याउने सिरिन्ज लगाएपछि पासोबाट बाहिर निकालिएको छ। भालुको पेटमा सामान्य चोट लागेको छ। उद्धार गरिएपछि भालुलाई चिडियाखाना या निकुन्जमा लैजाने विषयमा टुंगो नलागेको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ। वन्यजन्तुबाट कृषकले मकैबाली जोगाउनका लागि थापेको पासोमा भालु फसेको थियो।

हरेक दिन भालुले दाना हाल्दै गरेको मकैमा क्षति पुर्याएपछि भालु नियन्त्रणका लागि चर्को आवाज उठाइएको छ। सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा, प्रमुख जिल्ला अधिकारी वेदनिधी खनाल, प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमोरिया, डिभिजन वन अधिकृत डा. इन्द्रप्रसाद सापकोटासहित उपस्थित रहेको भेलामा तामाखानीबासीले भालु नियन्त्रणको माग राखेका छन्। 

उनीहरुले भालुको आक्रमणबाट घाइते र घाइतेका परिवारलाई पालनपोषण र शिक्षादिक्षामा सहयोग गर्नुपर्ने, भालुले क्षति पु-याएको विवरणअनुसार क्षतिपूर्तिको व्यवस्था मिलाउनुपर्ने, विद्यमान कानुन संशोधनका लागि पहल गर्नुपर्ने, भालुलाई चिडियाखाना तथा संरक्षित क्षेत्रमा लैजानुपर्ने लगायतका दर्जनौ माग राखेका छन्। स्थानीयले भालु आतंक क्षेत्र घोषणाका लागि समेत माग राखेका छन्।

नागरिकको गुनासो सम्बोधन गर्दै मेयर शेर्पाले भालुले मकै बालीमा पुर्याएको क्षति अनुसार राहत उपलब्ध गराउने र वन्यजन्तु व्यवस्थापनमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। डिभिजन वन अधिकृत डा. सापकोटाले भालुको आक्रमणबाट बचाउनका लागि पूर्वतयारीका कार्यक्रममा संचालनका लागि सहयोग गर्ने र घाइतेको उपचारका लागि राहत रकम यथाशिघ्र उपलब्ध गराउनका लागि काम गर्ने बताए। 

प्रकाशित: ९ भाद्र २०७६ १५:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App