७ वैशाख २०८१ शुक्रबार
समाज

बाली जाेगाउन थापेकाे पासाेमा भालु परेपछि...

सोलुखुम्बु- सोलुदुधकुण्ड नगरपालिका–३ तामाखानीका कृषकले थापेको पासोमा भालु परेकाे छ। वन्यजन्तुबाट कृषकले मकैबाली जोगाउनका लागि थापेको पासोमा दुई दिनदेखि भालु परेको जनाएको छ।

वर्षेनी भालुको आक्रमणबाट जनधनको क्षति व्यहोरेका कृषकले मुख्य खाद्यान्न बाली मकै जोगाउन पासो थापेको थिए। मकै खानका लागि आएको भालु दुई दिनदेखि पासोमै परेको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ। भालु परेको थाहा पाएपछि तामाखानीका स्थानीयले शनिबार प्रहरी र वन कार्यालयमा खबर गरेका थिए।

डिभिजन वन अधिकृत डा. ईन्द्र प्रसाद सापकोटाले वन र प्रहरीको टोलीले भालु परेको स्थलगत अनुगमन गरेर फर्केको बताए। ‘कानुनले भालुलाई मार्न नपाईने भएकाले रेक्यू टिम मगाएको उनले बताए। उनका अनुसार उक्त टिम सोमबारसम्म आइपुग्ने बताइएको छ। 'हाम्रो पहल जारी छ' वन अधिकृत डा.सापकोटाले भने 'भालु खानेकुराविना कम्तिमा एक हप्ता बाँच्ने भएकाले पासोमा मर्ने सम्भावना कम रहेको छ।'

नियन्त्रणको माग
भालुको बिगबिगी बढेपछि तामाखानीका स्थानीयले भालु नियन्त्रणको माग राखेका छन्। वर्षेनी जनधनको क्षतिबाट हैरानी बनेका उनीहरुले मानव–वन्यजन्तु द्धन्द्धको समाधान खोज्न सरकारसमक्ष माग राखेका हुन्। ०७२ सालमा भालुको आक्रमणमा परेका प्रेम रेग्मी मगरले कि भालुलाई मार्न दिनुपर्ने कि त्यसको सरकारले व्यवस्था गर्नुपर्ने बताए। 'राज्यलाई मानिस भन्दा भालु प्यारो हो भने भन्नु प-यो। हामी बर्षेनी पीडामा रहेका छाैं' उनले भने। वर्षभरि खाने मकै राम्ररी दाना नपस्दै स्वाहा पार्ने भएकाले कृषकको परिश्रम खेर गएको मगरको भनाई छ।

तामाखानीकै भवानी राजभण्डारीले पुरुषको तुलनामा महिलाहरु भालु आक्रमणको जोखिममा परेको आक्रोश व्यक्त गरिन्। उनले भनिन्, ‘विहान बेलुका घाँसदाउराका लागि बारी, जंगल धाउनुपर्छ। कतिखेर भालुको आक्रमण पर्छौं थाहा हुदैन्। अघिल्लो वर्षपनि तामाखानीमा मात्रै तीन जना गम्भीर घाइते भएकाे उनले बताइन्। पीडित भण्डारीले सरकारले कानुन संशोधन गरि जनतालाई दुःख दिने कुनै पनि वन्यजन्तु मार्न पाउँनुपर्ने व्यवस्था मिलाउन सरकारसमक्ष माग राखिन्। उनले भनिन् 'हैन भने सरकारले समातेर निकुञ्जमा लगेर छाड्न पनि माग गरिन्।

सोलुदुधकुण्ड नगरपालिकाको तामाखानी, बेनी, फाप्लु, गार्मा, महाकुलुङ गाउँपालिकाको बुङ, छेस्काम र गुदेल क्षेत्रमा वर्षेनी भालुले लाखौंको खाद्यान्न बालीमा क्षति पु-याउदै आएको छ भने वर्षेनी झण्डै दर्जन मानिस भालुको आक्रमणमा पर्दै आएका छन्।

प्रकाशित: ८ भाद्र २०७६ १०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App