८ वैशाख २०८१ शनिबार
समाज

पोखरा विश्वविद्यालयमा नमूना युवा संसद

पोखरा- पोखरा विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय र टोनी हागन फाउण्डेशन, काठमाडौंको संयुक्त आयोजनामा पोखरा विश्वविद्यालयमा एक दिवसीय नमूना युवा संसद अभ्यास गरिएको छ।     

गण्डकी प्रदेशका लागि प्रभावकारी पर्यटन नीति र कार्यक्रमहरूमा संसदीय प्रस्ताव विषयक नमूना संसदमा पोखरा क्षेत्रका ११ महाविद्यालय तथा कलेजमा अध्ययनरत ३२ महिला र २४ पुरुष गरी जम्मा ५६ स्नातक तहका विद्यार्थीको सहभागिता थियो।    

विद्यार्थीलाई प्रजातान्त्रिक प्रणाली अनुसार संसदमा हुने संसदीय काम कारवाहीका विषय र पद्दतिका सम्बन्धमा यही भदौ ६ गते नेपाल संसदका पूर्वसचिव तोयानाथ भट्टराई र पूर्वसांसद फटिक थापाले एक दिवसीय अभिमुखीकरण तालीम दिएका थिए। सोही तालीमका आधारमा विद्यार्थीले संसदमा हुने र सञ्चालन गरिने पद्दतिका विषयमा विभिन्न भूमिका निर्वाह समेत गरेका थिए। 

नमूना संसदमा विद्यार्थीले ज्येष्ठ सांसद, सभामुख, पर्यटनमन्त्री, प्रमुख विपक्षी दलका नेता, सत्तापक्षका सचेतक, विपक्षी दलका सचेतक, सचिवालय सदस्य, वक्ता, मर्यादापालकजस्ता खास–खास पदको भूमिका निभाएका थिए। कार्यक्रममा प्रस्ताव दर्ता गर्ने, तिनको छनोट गर्ने, सभामुखबाट स्वीकृति प्रदान गर्ने, प्रस्तावको समर्थन र विरोध, अन्य पदाधिकारी छनोटका साथै सङ्कल्प प्रस्ताव पारित गर्न नमूना युवा संसदमा मतदानसमेत गरिएको थियो।     

कार्यक्रममा टोनी हागन फाउण्डेशनका तर्फबाट फाउण्डेशनका अध्यक्ष प्रा.डा. प्रमोदकुमार झाले आगामी दिनमा यस्तो कार्यक्रमका लागि प्राविधिक सहयोग गर्न सकिने बताए। पोखरा विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्रा.डा. इन्द्रप्रसाद तिवारीले गण्डकी प्रदेशका विभिन्न महाविद्यालय तथा क्याम्पससँग सहकार्य गरी नमूना युवा संसद सञ्चालन गर्न सकिने बताए।

कार्यक्रमको अन्त्यमा टोनी हागनले नेपालका विभिन्न स्थानमा अध्ययन भ्रमणका क्रममा सङ्कलित सामग्रीका आधारमा बनाइएको ‘उहिलेको नेपाल’ नामक वृत्तचित्र देखाइएको थियो। कार्यक्रममा प्रा.डा. कृष्ण पौडेल र वसन्त थापाले नेपालका लागि टोनी हागनले गरेका महत्वपूर्ण योगदानको बारेमा समेत चर्चा गरे।

फाउण्डेशनका तर्फबाट अध्यक्ष झाले टोनी हागनको केही प्रसिद्ध पुस्तक पोखरा विश्वविद्यालयलाई हस्तान्तरण गरे। सो अवसरमा नमूना संसदमा सहभागी विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो।रासस
 

प्रकाशित: ८ भाद्र २०७६ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App