८ वैशाख २०८१ शनिबार
समाज

राधाकृष्ण रथयात्रामा लाखौं सहभागी, हेलिकोप्टरबाट पुष्पवृष्टि (फोटो फिचर)

विराटनगर– विराटनगरमा निकालिएको राधाकृष्ण रथयात्रामा लाखौं भक्तजन सहभागी भएका छन्। शनिबार विराटनगरमा निकालिएको रथयात्रामा लाखौं भक्तजन सहभागी भएका हुन्। 

रथयात्रामा हेलिकोप्टरले पुष्पवृष्टि गर्ने खबरले पनि विराटनगर महानगरपालिकालगायत आसपासका क्षेत्र र सीमावर्ती भारतबाट समेत भक्तजनको भीड लागेको थियो। शुक्रबार वर्षा भएको र शनिबार बिहानसम्म पनि बादल र सिमसिम पानी परेका कारण शनिबार विराटनगरको तापक्रम अन्य दिनको तुलनामा घटेको थियो। गर्मी कम भएका कारण पनि यात्रामा सहभागी भक्तजनको संख्या उल्लेख्य रुपमा बढेको आयोजक समितिले जनाएको छ। 

मौसमले साथ दिएको, हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको, चुस्त व्यवस्थापन, स्वतःस्फुर्त रुपमा सबैको सहयोगका कारण रथयात्रा भव्य रुपमा सम्पन्न भएको रथयात्रा आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए। रथयात्रामा ५ लाख भक्तजन सहभागी भएको उनले बताए। ‘ऐतिहासिक रथयात्रामा नेपाल र भारतका करिब ५ लाख भक्तजन सहभागी भएको अनुमान गरिएको छ’, ओझाले भने। 

रथयात्राको अघिल्लो दिनको भारी वर्षाले निर्माणाधीन सडमा पारेको खाल्डाखुल्डीलाई समेत विराटनगर महानगरपालिकाले शनिबार बिहानै पुरेर सम्याएको थियो। रथयात्रामा रथ र भक्तजनलाई कुनै समस्या नहोस् भन्ने उद्देश्यले सडक मर्मतलगायतका कामलाई प्राथमिकता दिइएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए। उनले रथयात्रा हुने सडकमा शनिबार बिहानै अवलोकन गरेर मर्मत गर्नुपर्ने स्थानमा तत्कालै मर्मत गर्न लगाएका थिए। 

विराटनगरमा आयोजना गरिएको रथयात्रामा विराटनगर आसपासका क्षेत्र र सीमावर्ती भारतबाट समेत भक्तजन उल्लेख्य रुपमा सहभागी भएका थिए। रथयात्रामा विभिन्न जातजाति तथा संघ संस्थाका ६० वटा झा“की पनि सहभागी भएका थिए। 
हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा राधाकृष्णको युगल जोडीको रथयात्रा निकालिने गरिएको छ। रथयात्रा व्यवस्थित रुपमा सञ्चालन गर्न १८ वटा उपसमिति गठन गरिएको थियो। ऐतिहासिक ५२ औं राधाकृष्ण रथयात्राको प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङ, संघीय सरकारका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलगायतले शुभारम्भ गरेका थिए। 

वि.सं. १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको रथयात्रा २०२५ सालबाट रथयात्रा महोत्सवको रूपमा मनाउन थालिएको हो। 

हरेक वर्ष रथलाई नया“ ढंगले सिँगार्नेक्रममा यस वर्ष रथको रङ परिवर्तन गरिएको थियो। सुनौलो रङ र सिँगारले मानव सागरको बीचमा देखिने रथ दिव्य र प्रकाशमय देखिएको थियो। पेगोडा शैलीको रथको लम्बाइ २२ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ। रथको अग्रभाग जुवाबाट ७५ फिट लम्बाइको दुई वटा डोरी राखिएको थियो। शनिबार साढे तीन बजे राधाकृष्ण मन्दिर परिसरबाट निस्किएको रथयात्रा मेनरोड, महेन्द्रचोक, धरान रोड, वरगाछी हुँदै पुनः मन्दिर परिसरमा आएर समापन भएको थियो। 

विराटनगरका विभिन्न ४० स्थानमा रथलाई विश्राम दिइएको थियो। रथयात्राले साढे ४ घण्टामा ७ किलोमिटरको दूरी पूरा गरी राधाकृष्ण मन्दिरमै पुगेर समापन भएको थियो। 

रथयात्राका क्रममा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। रथयात्राको सुरक्षाका लागि १ हजार ७ सयभन्दा बढी प्रहरी परिचालन गरिएको थियो भने ड्रोनबाट सुरक्षा निगरानी पनि गरिएको थियो। रथयात्राका क्रममा भीडभित्र पसेर भक्तजनको मोबाइल, सिक्रीलगायतका सामान चोरी गर्ने र भीडमा ठेलमेल, हुलहुज्जत गर्ने शंकास्पद ५० जनाभन्दा बढीलाई पक्राउ पनि गरिएको मोरङ प्रहरीका प्रवक्ता राजकुमार खिउंजुले जानकारी दिए। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App