coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रोग निको हुने विश्वासमा धर्म परिवर्तन

रोल्पा - पाँच वर्षअगाडि मानसिक रूपले बिरामी परेकी त्रिवेणी गाउँपालिका–७ गैरीगाउँ तितिमकी २० वर्षीया विमला पुन अस्पतालले उपचार गर्न नसकेको भन्दै चर्चमा प्रार्थना गर्न थालेपछि निको भएको ठानेर धर्म परिवर्तन गरी अहिले अभियन्ता बनेकी छन्। विमलाको अहिले पाँच महिनाको छोरो छ। बालविवाह गरेकी उनले विवाह गर्ने उमेर नपुग्दै छोरो जन्माइन्। यो गाउँमा उनीजस्ता दर्जनौं किशोरी आमा बनिसकेका छन्।

केही महिनाको उपचारले बिरामी निको नभएकी उनको रोग चर्चले बिसेक भएको भन्दै सबै परिवारले धर्म फेरे। ‘तीन महिनाजति बिरामी भए। धेरै अस्पताल उपचार गरे सन्चो भएन। चर्चमा प्रार्थना गर्न थालेपछि निको भयो।’ गाउँमा रहेको ‘सालम प्रशंसा मण्डली’की विश्वासी विमलाले बताइन्। ‘अहिले धर्म फेर्ने धेरैजसो बिरामी छन्। हरेक शनिबार चर्चमा जान्छौं,’ उनले भनिन्, ‘म त अभियन्ता नै हुँ। अहिले त माइतीले पनि धर्म फेरे।’ उनका अनुसार रहर वा बुझेर चर्च आउनेभन्दा पनि रोग उपचारका लागि आउनेको संख्या बढिरहेको छ। विमलाका अनुसार ‘कतिपय बच्चालाई समेत अस्पतालमा रोग निको नभएपछि चर्चमा ल्याउँछन।’ हिजोआज त्रिवेणीको वडा ७ गैरीगाउँमा मात्रै डेढ दर्जन चर्च मण्डली छन्। शनिबार चर्च जानेले उठाएको भेटी नै मण्डलीको खर्च व्यवस्थापनको स्रोत हो भने कहिलेकाहीं माथि कताबाट सहयोग पनि आउँछ तर त्यो भने सबैलाई जानकारी हुँदैन।

चर्चसम्बन्धी तालिम लिन बाहिरी जिल्ला जाने गरेका विमलाजस्ता धेरैलाई धर्म के हो भन्ने थाहा नभए पनि बिरामी निको हुने विश्वासले छोपेको छ। ‘हामी बाहिरी जिल्लामा तालिम लिन जान्छौं भने बोलाएपछि यही पनि तालिम दिन आउनुहुन्छ,’ विमला भन्छिन्, ‘भेटीको पैसा र अन्य सहयोगबाट जग्गा किनेर मण्डली पनि बनाउँछौं। त्यही प्रार्थना गर्छाैं। पास्टरहरूचाहिँ गाउँगाउँमा गएर प्रचारप्रसार गर्नुहुन्छ।’

धर्म परिवर्तन गरेको केही समय त तिज, दसैं, तिहारजस्ता चाडबाडको रहर लागे पनि अहिले उनले ती सबै भुलिसकेकी छिन्। ‘तिजमा नाच्ने रहर त लाग्छ नि तर ननाचेको राम्रो रे ! बहिनीहरूको पनि त्यही हो,’ उनले भनिन्, ‘अब त बानी पनि बस्यो। रहर म¥यो।’ त्रिवेणी गाउँपालिका ७ गैरीगाउँ गरगरे कि २१ वर्षीया कमला घर्तीलाई पनि तिजमा नाच्ने रहर लाग्छ तर धर्म फेरीएपछि नाच्न पाएकी छैनन्। ‘मेरो माइती होलेरी हो,’ उनले भनिन्, ‘बिहे गरेर यहाँ आएको घरमा सबैले क्रिस्चियन धर्म मान्नेरैछन्। पहिला थाहा थिएन।’ माइतमा हिन्दु घरमा क्रिस्चियन भएपछि समस्या परेको छ। ‘चाडबाडमा माइती जानु केही गर्न मिल्दैन। माइतीले दसैं, तिहार, तिज मनाउँछन् मैले मनाउँदिन त्यसैले चाडबाडमा जाँदैन,’ कमलाले सुनाइन्, ‘जन्मेदेखि मनाएको चाड मनाउन रहर त लाग्छ नि। सुरुमा धेरै गाह्रो भयो तर अब त बानी पर्न थालियो।’

कमला, विमलाजस्ता धेरै रोल्पाली बिरामी निको हुने बहानामा चर्च धाइरहेका छन। परम्परागत रूढीवादी मान्यतालाई मलजल गरिरहेका प्रभुका अनुयायीहरूले घुमाउरो पारामा धर्म परिवर्तनको खेती गरिरहेका छन्। जिल्लाका कतिपय गाउँमा रहेका स्वास्थ्य संस्थानजिकै खुलेका चर्च मण्डलीमा बिरामीको घुइँचो लाग्ने गर्दछ। करेटी, बुढागाउँ, राङसीलगायत हेल्थपोस्टनजिकै चर्च स्थापना गरिएका छन्।

‘बिरामीहरू स्वास्थ्य संस्था ल्याउनु साटो चर्च लैजान्छन्। कतिपय रिफर गरिएका केसहरू अस्पताल नलगेर प्रार्थना गर्न लैजान्छन्,’ राङसी स्वास्थ्य चौकीका नरबहादुर डाँगीले भने, ‘परम्परागत रूढिवादी यो तरिकाले बिरामीहरूले दुःख पाइरहेका छन्।’ लाखौं मूल्यमा निर्माण चर्च भवन कुन स्रोतबाट तयार भए भन्नेबारे कहीँ कसैले चासो दिने गरेका छैनन्। देश धर्मनिरेपेक्ष भएको घोषणा गरिपछि मौलाएको धर्म परिवर्तनको खेती बढ्दो छ। जिल्लामा कति चर्च मण्डली छन् भन्ने आधिकारिक तथ्यांक कोही कसैसँग नभए पनि करिबपाँच दर्जनभन्दा बढी ठाउँमा प्रार्थना हुने गरेको छ।
बच्चा उपचारका लागि स्वास्थ्य संस्था पुगेका विमला र कमला।

प्रकाशित: ७ भाद्र २०७६ ०२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App