२८ असार २०७७ आइतबार
समाज

बेलहिया–बुटवलमा अपाङ्गतामैत्री आकाशे पुल

लुम्बिनी- सिद्धार्थ राजमार्ग अन्तर्गतको बेलहियादेखि बुटवलसम्मको ६ लेन सडकमा नौ वटा आकाशे पुल निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी ११ वटा बन्ने क्रममा छन्।     

साँढे २७ किलोमिटरको उक्त क्षेत्रलाई बेलहिया बुटवल छ लेन व्यापारिक मार्ग पनि भनिन्छ। बेलहिया बुटवल छ लेन व्यापारिक मार्ग आयोजनामार्फत नै उक्त पुल निर्माण भएका हुन्। पूर्णतया अपाङ्गमैत्री रहेका हरेक आकाशे पुल ३० मिटर लम्बाइ, साँढे २ मिटर चौडाइ र ५ मिटर उचाइका छन्।

उक्त आकाशे पुलमा ढलानसहितको बेस बिममाथि स्टिलको रड र रेलिङसमेत राखिएको छ। पुलको दुवै तर्फ सोलार बत्ती जडान भएका छन्। बेलहियादेखि बुटवलसम्मको सडकखण्ड अन्तर्गत आँखा अस्पतालचोक, देवकोटाचोक र ब्रमेलीटोलचोक भैरहवामा आकाशे पुल निर्माण भइसकेको छ। यसैगरी तिलोत्तमा नगरपलिका अन्तर्गतको ड्राईभर टोल र बुटवलका जोगीकुटि, होराइजनचोक, कालीका स्कुल अगाडि, राजमार्ग चौराहा, मिलनचोकमा आकाशे पुल निर्माण सम्पन्न भई प्रयोगमा आइसकेकोे बेलहिया बुटवल व्यापारिक मार्ग आयोजनाका प्रमुख इञ्जिनीयर जीवेन्द्र मिश्रले बताए।    

साँढे २७ किलोमिटर दुरीको बेलहिया बुटवल सडक पाँच अर्ब ८६ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ। उक्त आयोजना अन्तर्गत नै २० वटा आकाशे पुल बनाउन थालिएको हो। बाँकी पुल दुई महीनाभित्र ठेक्का प्रक्रिया शुरु गरी निर्माणकार्य अगाडि बढाइने इञ्जिनीयर मिश्रले बताए।    

उनले भने,“यात्रुको चाप र दुर्घटना सम्भावित क्षेत्रलाई मध्यनजर गर्दै बाँकी कहाँ कहाँ राख्ने भन्ने अध्ययन गरेर अरु आकाशे पुल निर्माण गरिनेछ।”रासस

प्रकाशित: ६ भाद्र २०७६ १८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App