७ वैशाख २०८१ शुक्रबार
समाज

पाटनमा जन्माष्टमीको रौनक

काठमाडौं – श्रीकृष्णजन्माष्टमीको अवसरमा पाटनको कृष्ण मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई लक्षित गर्दै सबैखाले तयारी पूरा भएको छ। शुक्रबार बिहान ५ बजेदेखि नै भक्तजनले दुईतर्फी लाइनबाट दर्शन गर्नसक्ने व्यवस्था गरिएको छ। मन्दिरको पहिलो तलामा रहेको राधाकृष्णको मूर्तीमा भक्तजनले पूजा गर्नेछन्। भक्तजनको भीडभाड हुने भएकाले महिला र पुरुषको लाइन छुट्याइएको कृष्ण जन्माष्टमी व्यवस्थापन समितिले जनाएको छ।

हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व हिन्दू धर्मावलम्वी र श्री कृष्णका भक्तहरु विभिन्न पूजाआजा गरी मनाउने गर्दछन्। मन्दिरका पूजारी प्रतापधर राजोपाध्यायका अनुसार कृष्ण मन्दिरको दर्शन गर्नका लागि नेपाली मात्रै नभएर भारतबाट पनि भक्तजन आउने गर्दछन्। भक्तजनको आगमनलाई ध्यानमा राख्दै दर्शन गर्ने सहज व्यवस्था मिलाइएको उनको भनाइ छ। ‘गत वर्षभन्दा यो वर्ष धेरै भक्तजन आउने अनुमान गरिएको छ। करिब ३० हजार भक्तजन आउँछन् भन्ने अनुमान छ,’ उनले भने। उनका अनुसार यो वर्ष ललितपुर महानगरपालिका, उद्योग वाणिज्य संघ ललितपुर र मंगल टोल सुधार समितिको सहकार्यमा कृष्ण जन्माष्टमीलाई व्यवस्थित पार्नको लागि विभिन्न तयारी भएको छ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिरको दर्शन गर्नेछिन्। शुक्रबार करिब २ः३० बजे राष्ट्रपति मंगलबजारमा उपस्थित हुने मंगल टोल सुधार समितिले जनाएको छ। राष्ट्रपतिले कृष्णको दर्शन तथा मंगलबजारमा ऐतिहासिक सम्पदा अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ।

२०७२ सालको भूकम्पबाट क्षति भएको कृष्ण मन्दिरको पुनर्निर्माण गत वर्ष भदौमा गरिएको थियो। कृष्ण मन्दिर प्रस्थरबाट बनेको मन्दिर हो। मन्दिरको पहिलो तलामा राधाकृष्णको मूर्ती छ। त्यस्तै, दोस्रो तलामा महादेवको मूर्ति राखिएको छ। कृष्णको मन्दिर भनेर परिचत मन्दिरभित्र महादेवको मूर्ति राख्नुमा खास अर्थ भएको मंगल टोल सुधार समितिका सचिव ज्ञानुराजा श्रेष्ठले बताए।

उनका अनुसार सत्रौं शताब्दीतिर तत्कालीन राजा सिद्धिनरसिंह मल्लले मन्दिर बनाएका थिए। कृष्णमन्दिर बनाउने क्रममा सिद्धिनरसिंहलाई सपनामा कसैले श्रीकृष्णको मन्दिरभित्र महादेवको बास हुनुपर्छ, मूर्ति राखिनुपर्छ भनेपछि सिद्धिनरसिंहले मन्दिरको तेस्रो तलामा महादेवको मूर्ति राख्न लगाएका थिए। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको विश्वास गरिन्छ। किंवदन्तीअनुसार उनैको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो। अत्यन्तै चहक र अति प्रभावशाली व्यक्तित्वका धनी भगवान श्री कृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्ने वर्णन स्मृति तथा पुराणहरुमा पाइन्छ।

उनको मुस्कानमा हर्ष छ, मनको सौन्दर्यता र सौम्यताको अद्भभूत संगमयूक्त उनको कालो घुम्रिएको कपालमा मयूरको प्वाखँ सजिएको हुन्छ, गलामा सुगन्धित रङ्गीचङ्गी फूलको माला पहिरीएका कृष्णका पोशाकका रगंहरु बिजुलि चम्किँदाको जस्तो चम्किलो हुन्छन् र उनको पैतालाका नङ्गका रगंहरुले चन्द्रमाको आभाष मिल्छ। कंसले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीको कोखबाट श्रीकृष्णको जन्म भएको थियो।

प्रकाशित: ६ भाद्र २०७६ ०२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App