१६ चैत्र २०८० शुक्रबार
समाज

महिला उद्यमीलाई विशेष सहयोग गर्नुपर्छः प्रदेश प्रमुख

मकवानपुर - प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले महिला उद्यमीलाई सरकार र निजी क्षेत्रले विशेष सहयोग गर्नुपर्ने बताएकी छन्। हेटौंडामा बिहीबार सिर्जनशील महिला उद्यमी मेलाको उद्घाटनपछि उनले देशको अर्थतन्त्र विकास गर्न महिला उद्यमीलाई थप प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन्।

‘स्वदेशी उद्योगको उत्पादन र विकासमा यस्ता मेलाले महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भनिन्। मेलाले आफूमा ऊर्जा थपिएको महसुस भएको बताउँदै उनले हस्तकलाले देशको परिचय गराएकाले त्यसमा लगानी बढाउनुपर्ने बताइन्। ‘मेलामा आउँदा म आफैंलाई ऊर्जा महसुस भएको छ,’ उनले भनिन्, ‘हस्तकलालाई राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा थप प्रवद्र्धन गर्नुपर्छ।’

मेला, महोत्सवले महिला सशक्तीकरणसँगै आर्थिक विकासमा सहयोग पुग्ने भन्दै प्रमुख कोइरालाले महिलाहरूलाई आत्मबल र प्रेरणा दिन मेलाले भूमिका खेल्ने बताइन्। महिलाहरूको मेलामा पुरुषहरूको उपस्थिति कम भएकोमा गुनासो गर्दै उनले भनिन्, ‘महिला सशक्तीकरणका लागि पुरुषहरूले पनि अनिवार्य साथ र सहयोग गर्नुपर्छ।’

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपप्रमुख मीनाकुमारी लामा, नेपाल उद्योग वाणिज्य संघकी केन्द्रीय सदस्य राजकुमार न्यौपाने, जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लम्साल, महिला सिर्जनशील केन्द्र काठमाडौंकी निलु थापालगायतले महिला उद्यमीलाई उत्प्रेरणा जगाउने र बजार विस्तार गर्ने भएकाले मेला लाभदायक रहेको भन्दै थप व्यवस्थित रूपमा सञ्चालनका लागि आग्रह पनि गरे।

महिला उद्यमीद्वारा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्ने उदेश्यले मकवानपुर महिला उद्यमी व्यवसायी संघ र महिला सिर्जनशील केन्द्र काठमाडौंले मेला आयोजना गरेको हो। तीन दिने मेलामा ४० मध्ये ३० वटा स्टलमा घरेलु उत्पादनलाई प्राथमिकता दिइएको मकवानपुर महिला उद्यमी व्यवसायी संघकी अध्यक्ष सुशीला पाण्डेले बताइन्।

प्रकाशित: ६ भाद्र २०७६ ०२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App