coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

शिक्षक अभावमा कार्यालय सहयोगीले पढाउँदै

सल्यान- सल्यानको एक विद्यालयमा कार्यालय सहयोगीले पढाउँदै आएका छन्। तलब नपाएका शिक्षकले विद्यालय छोडेपछि कार्यालय सहयोगी राधिका परियारले विद्यार्थीहरुलाई पढाउन थालेकी हुन्। वनगाड कुपिण्डे–४ देउलीमा रहेको बाललीला प्राथमिक विद्यालयका प्रकाश बुढासहित अर्का एक शिक्षकले तलब नपाएको भन्दै पढाउन छोडेकाले विद्यार्थीको बिचल्ली भएको थियो।

वि.सं २०६६ मा स्थापित उक्त विद्यालयमा दरबन्दी नहँुदा पनि उनीहरूले निजी स्रोतमा पढाउँदै आएका थिए। एक वर्षसम्म निरन्तर विद्यालयमा पढाए पनि आफूले तलब नपाएको शिक्षक बुढाले बताए। “विगत एक वर्षसम्म उधारोमा पढाए विद्यालयमा पैसा आउने स्रोत नै नभएपछि अझ उधारोमा काम गर्न नसकेर छोडेँ”, उनले भने। विद्यालयमा शिक्षक नआएपछि आफूले नै पढाउन थालेको कार्यालय सहयोगी परियारले जानकारी दिए।

“निजी स्रोतमा रहेका दुई शिक्षकले विद्यालय आउन छोडेपछि विद्यालय बन्द हुँदा विद्यार्थीहरुलाई समस्या हुने भएकाले मैले पढाउन थालेको हूँ”, उनले भने। आफूले पनि तलब नपाएको जानकारी दिँदै कार्यालय सहयोगी परियारले भनिन्। “विद्यालयमा चाहिने सबै शैक्षिक सामग्री आफैंले किनेर ल्याउँछु, मेरो चिन्ता बालबालिकाको भविष्य नबिग्रियोस् भन्ने हो।” विद्यालयमा कुनै स्रोत नभएपछि तलब दिन नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर बुढाले बताए।

“विद्यालयको आफ्नो स्रोत छैन, विद्यार्थीबाट शुल्क उठाउन नपाइने र समुदायले पनि नदिने भएकाले विद्यालय सञ्चालन गर्न गाह्रो भइरहेको छ”, अध्यक्ष बुढाले भने। विद्यालयको समस्याका बारेमा नगरपालिकामा पटक पटक कुरा राखे पनि सुनुवाइ नभएको उनको गुनासो थियो। “नगरपालिकाबाट शिक्षामा छुट्याइएको करोडौँ रकम फ्रिज भएर जान्छ तर नगरपालिकाभित्रका विद्यालयको अवस्था दर्दनाक छ, हाम्रो कुराको सुनुवाइ हुदैंन”, उनले भने।

शिशुदेखि कक्षा तीन सम्म २६ विद्यार्थीले अध्ययन गरिरहेका सो विद्यालयमा निजी स्रोतबाट तलब सुविधा दिनेगरी दुई शिक्षक र एक कार्यालय सहयोगीको व्यवस्था गरिएको थियो।रासस     
   

 

प्रकाशित: ५ भाद्र २०७६ ०७:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App