coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

महानगरपालिकाले ३२ वटै वडामा मेलमिलापकर्ता खटाउने

काठमाडौं – काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महानगरका ३२ वटै वडा कार्यालयहरुमा तालिमप्राप्त मेलमिलापकर्ता खटाउने बताएकी छिन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले स्थानीय तहका विवादलाई निरुपण गर्नका लागि मेलमिलापकर्ता खटाउने बताएकी हुन्।

महानगरपालिकाका अनुसार यसका लागि २४ दिने तालिम सञ्चालन गरिएको थियो। उक्त तालिममा सहभागी भएका ७५ जना मेलमिलापकर्ताहरुलाई महानगरपालिकाले प्रमाणपत्र वितरण गरेको छ। उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले तालिमप्राप्त मेलमिलापकर्तालाई प्रत्येक वडामा खटाएर स्वच्छ ढंगले न्याय दिलाउन महानगरपालिका प्रतिबद्ध भएको बताइन्।

‘महानगरपालिका र ३२ वडामा भएका विवादलाई मेलमिलापका माध्यमबाट निरुपण गर्नका लागि तालिम दिइएको हो,’ उनले भनिन्, ‘तालिम सम्पन्न भइसकेको छ। तालिमप्राप्त मेलमिलापकर्ताहरुलाई प्रत्येक वडामा खटाउने छौं। यसपछि जनताले छिटो, छरितो र स्वच्छ ढंगमा न्याय पाउने छन्।’ उनले धेरै मुद्दाहरुलाई न्यायिक समितिले मेलमिलापबाट समाधान गर्दै आएको बताइन्। ‘हामीले बहस गरेर भए पनि धेरै मुद्दालाई मेलमिलापबाट दुवै पक्षलाई न्याय दिँदै आएका छौं। तामिकर्ताहरुले पनि स्वच्छ भावनाले जनताका समस्याहरुलाई विवादरहित ढंगले निरुपण गर्नुपर्नेछ,’ उनले थपिन्।

उनका अनुसार प्रत्येक वडामा दुईजनासम्म तालिमप्राप्त मेलमिलापकताईहरु खटाइने छ र वडाको अधिकतम विवादहरुलाई मेलमिलापद्वारा नै समाधान गर्ने प्रयाश गरिनेछ। मेलमिलाप तालिम संयोजक बखतबहादुर साउदले प्रमाणपत्र पाउने मेलमिलापकर्ताहरुको जिम्मेवारी महत्वपूर्ण रहने बताए। ‘विवादलाई मेलमिलापबाट निरुपण गराउने उद्देश्यले तालिम दिएका हौं,’ उनले भने, ‘मुद्दाका विवादलाई समाधान गरी दुवै पक्षलाई न्याय दिने काममा उनीहरुको महत्वपूर्ण भूमिका रहनेछ।’ उक्त कार्यक्रममा मेलमिलाप पुस्तक समेत विमोचन गरिएको थियो।

प्रकाशित: ५ भाद्र २०७६ ०३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App