८ वैशाख २०८१ शनिबार
समाज

तीन भाषामा स्थानीय पाठ्यक्रम बनाइने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यक्रम निर्माण गर्ने निर्णय गरेको छ। काठमाडौं माहानगरमा नेवारी समुदायको बसोबास भएको र नेपाल भाषाका स्कुलहरु समेत सञ्चालनमा रहेकाले स्थानीय पाठ्यक्रम निर्माण तीन भाषामा गरिने महानगरको शिक्षा समितिको बैठकले निर्णय गरेको हो। काठमाडौं महानगरपालिका शिक्षा समितिको बुधबार बसेको बैठकले स्थानीय पाठ्यक्रम निर्माण तीन भाषामा गर्ने निर्णय गरेको छ।

महानगरपालिकाका मेयर एवं शिक्षा समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले काठमाडौं महानगरपालिका भित्रका ६० प्रतिशत र उपत्यकाभरिका ४० प्रतिशत विषयबस्तु समेटेर स्थानीय पाठ्यक्रम निर्माण गर्ने निर्णय गरेको माहानगरपालिका शिक्षा अधिकारी निर्माला केसीले नागरिकलाई बताइन्। उनले कक्षा एकदेखि आठसम्मको स्थानीय पाठ्यक्रम नेपाल भाषा, अंग्रेजी भाषा र नेपाली गरी तिनै भाषामा निर्माण गर्ने तयारी महानगरको रहेको बताइन्। ‘महानगरले निर्माण गरेको स्थानीय पाठ्यक्रम उपत्यकाभरिका तीनै जिल्लालाई हुने गरी बनाइनेछ,’ अधिकारी केसीले नागरिकसँग भनिन्, ‘अभिभावको चाहना, विद्यार्थीको रुचि, भाषा, संस्कृति, रितिरिवाज चाडपर्व, धर्मसंस्कृति, पर्यटनलगायतका सबै स्थानीय विषयबस्तुहरु समेटिएर पाठ्यक्रम निर्माण गर्ने महानगरको तयारी छ।’ उनले थपिन्, ‘अगामी शैक्षिक सत्रदेखि कार्यन्वयन हुने गरी हामी अघि बढिरहेका छौं। त्यसका लागि विभिन्न उपसमितिहरु गठन गरिएका छन्।’

महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार बैठकले पाठ्यक्रम लेखनका लागि दुई वटा समिति समेत निर्माण गरेको छ। कक्षा एकदेखि आठसम्मको नेपाल भाषाको पाठ्यक्रम निर्माणका लागि काठमाडौं महानगरपालिका शिक्षा अधिकारी निर्मला केसीको अध्यक्षतामा एउटा समिति बनेको छ। त्यस्तै, प्राडा चुन्दा बज्राचार्य, हरिभक्त श्रेष्ठ र सदस्यसचिव मोतिराज खनाल सदस्य रहेको समितिले नेपाल भाषामा स्थानीय विषयबस्तु समेटेर पाठ्क्रम बनाउने काममा जुटेको प्रवक्ता डंगोलले बताए।

नेपाल भाषा ऐच्छिक विषयका रुपमा रहनेछ। ‘उपत्यकामा नेवारी समुदायहरुको बसोवास रहेकाले पनि नानीहरुलाई स्थानीय विषयबस्तु बुभ्mन सहजताका लागि नेपाल भाषामा पनि पाठ्यक्रम निर्माण हुन्छ,’ प्रवक्ता डंगोलले भने ‘साथै महानगरले विभिन्न कार्यक्रम गरी शिक्षा दिवस पनि मनाउने निर्णय गरेको छ।’ उनले थपे, ‘हाम्रो काठमाडौं हामी बनाउँछौं नाराका साथ यस वर्षको शिक्षा दिवस काठमाडौं माहानगरपालिका शिक्षा समितिले मनाउने निर्णय गरेको छ। यसका लागि विभिन्न कार्यक्रम तय गरिएको छ।’

त्यसैगरी अंग्रेजी र नेपाली भाषका लागि छुट्टा छुट्टै समिति बनेको छ। त्यसको पनि अध्यक्ष केसी नै छिन्। सदस्यहरुमा चुन्दा बज्राचार्य, प्रा. मदनराज मानन्धर, माधव घिमिरे, नातीकाजी महर्जन र ज्ञानबहादुर अधिकारी रहेका छन् भने सदस्य सचिवमा महानगरपालिका शिक्षा विभागका अधिकृत तारापति खरेल रहेका छन्।

समितिलाई काठमाडौं महानगरपालिकाभित्र चल्ने सामुदायिक र संस्थागत विद्यालयको कक्षा एकदेखि कक्षा आठसम्मको पाठ्यक्रम निर्माणको जिम्मेवारी दिइएको समिति सदस्य नातिकाजि महर्जनले बताए। उनले पुस्तक लेखनका काम कात्तिकको दोस्रो साताबाट सुरु गर्ने महानगरको तयारी रहेको जनाए। काठमाडौं महानगरपालिकाभित्र सामुदायिक र संस्थागत विद्यालय ७ सय ५० रहेका छन्। त्यसैगरी बैठकले राष्ट्रिय शिक्षा दिवस मनाउने पनि निर्णय गरेको छ। पाठ्यक्रम निर्माणपछि पाठ्यपुस्तक लेखन काम सुरु गरिने अधिकारी केसीले बताइन्। ‘शिक्षा समितिले त्यसलाई पास गर्छ र कार्यपालिकाले अनुमोदन गरेपछि पाठ्यपुस्तक लेखनमा जान्छ,’ उनले भनिन्, ‘पाठ्यक्रममा काठमाडौंको पेसाव्यवसाय, धर्म, कला, संस्कृति, भौगोलिक अवस्थिति, वास्तुकला, मूर्तीकला, पर्यटनजस्ता विषयलाई समावेश गरिन्छ।’

प्रकाशित: ५ भाद्र २०७६ ०२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App