१६ चैत्र २०८० शुक्रबार
समाज

भारतीय विदेशमन्त्री जयशंकर काठमाडाैंमा(फाेटाेफिचर)

काठमाडाैँ - भारतीय विदेशमन्त्री एस जयशंकर उच्चस्तरीय बैठकमा सहभागी हुन नेपाल आइपुगेका छन् । उनी बुधबार मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

नेपाल–भारत मन्त्रिस्तरीय संयुक्त संयन्त्रको पाँचौं बैठकमा सहभागी हुनको लागि  विदेशमन्त्री जयशंकर नेपाल आएका हुन् । उनले बैठक सुरु हुनुभन्दा अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ । प्रधानमन्त्रीसँगको भेटवार्ता दिउँसो २ बजे तय गरिएको स्राेतले बताएकाे छ ।

त्यसपछि दिउँसो तीन बजे होटल याक एण्ड यतीमा आयोजना गरिएको नेपाल -भारत संयुक्त आयोगको बैठकमा जयशंकर सहभागी हुने छन् । बिहीबारसम्म चल्ने बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल गर्ने एजेण्डा तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल बसाइको क्रममा विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने छन् । राष्ट्रपति भण्डारीसँग बिहीबार बिहान साढे १० बजे भेटवार्ता तय भएको छ । नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकाल सुरु भएयता भारतीय पक्षको यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हो ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App