७ वैशाख २०८१ शुक्रबार
समाज

उदयपुरमा डेंगुका २१ जना विरामी

उदयपुर– सुनसरीको धरानमा पहिलो पटक देखा परेको डेंगुको जिवाणु जताततै फैलिँदै उदयपुरमा पनि डेढ दर्जन बढीमा संक्रमण भएको पाइएको छ। सुरुमा सातादिनअघि कटारी बजारका २ जना विरामीमा देखा परेको डेंगुको जिवाणुले सोमबारसम्ममा २१ जनालाई विरामी पारेको फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ। 

जिल्ला जनस्वास्थ्य अधिकृत रमेश खकुरेलका अनुसार कटारी नगरपालिकाभित्र मात्र १९ जना विरामीमा डेंगु फेला परेको छ। त्यस्तै बेलका नगरपालिका ५ मा ४ जनामा देखा परेको डेंगुको जिवाणु त्रियुगा नगरपालिका १२ को १ जनामा देखिएको छ। चौदण्ढीगढी नगरपालिका ६ बेल्टार बजारका १ जनामा पनि डेंगुको जिवाणु देखा परेको खकुरेलले बताए। जताततै संक्रमण देखिन थालेपछि बँच्ने उपायबारे जनस्वास्थ्य, अस्पताल र स्थानीयतहहरुले सर्वसाधारणलाई सचेत गराउन विभिन्न कार्यक्रम गर्न थालेका छन्। 

डेंगुको जिवाणु लामखुट्टेको टोकाईबाट संक्रमण हुने भएकाले लामखुट्टेबाट बँच्ने उपाय अपनाउन चिकित्सकले सुझाव दिएका छन्। लामखुट्टेले पानीमा फुल पार्ने भएकाले पानी जम्न नदिन, पाइप र नालीहरु सफा गर्न तथा पानी जमेको ठाउँमा नियमति औषधि छिट्न र पुर्न उनीहरुको सल्लाह छ। जनस्वास्थ्य अधिकृत खकुरेलले डेंगुबाट बँच्न लामखुट्टेको टोकाईबाट बँच्नु नै उत्तम र सुरक्षित उपाय भएको बताए। 

कटारी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. पवन साहले सुरुमा कटारी ४ का चित्रबहादुर कार्की र निर्मला खड्कामा देखिएको डेंगु रोग विस्तारै अन्य विरामीमा पनि देखा परेको बताए। उनका अनुसार सातादिनअघि अस्पताल भर्ना भएका कार्की र खड्का भने निको भएर डिस्चार्ज भएर घर फर्किसकेका छन् । त्यसपछि आएका विरामीहरुमा पनि डेंगु देखा परेको हुनाले उपचार भईरहेको डा. साहले बताए। सुरुवाती चरणमा ज्वरो आउने र सातादिनसम्म निको नभएपछि उपचार गर्न आउनेमा डेंगु देखा परेको अस्पतालहरुले जनाएका छन्। 

डेंगुबाट बँच्न किटनासक औषधियुत्तः झुल प्रयोग गर्नु उत्तम हुने डा. साहको सल्लाह छ। ‘यो रोग लामखुट्टेबाट सर्ने भएकाले यसबाट बँच्न लामखुट्टेको टोकाईबाट बँच्नु नै उत्तम उपाय हो’ डा. साहले भने ‘त्यसका लागि लामखुट्टे जन्मन र हुर्कन नदिन घर वरिपरी पानी जम्न दिनु भएन। टोकाईबाट बँच्न झुल अनिवार्य लगाएर सुत्ने गर्नुपर्छ । सकेसम्म किटनाशक औषधियुक्त झुल लगाएर सुत्नु सुरक्षित हुन्छ।’

डेंगु जताततै फैलिएपछि स्थानीयतहहरुले यसबाट बँच्न लामखुट्टे मार्ने किटनाशक औषधि छर्कन तथा फोहोर ठाउँमा सरसफाई गर्ने काम थालेका छन्। चौदण्डीगढी नगरपालिकाले डेंगु संक्रमणको खतरा बढेपछि महिनादिनअघि १० वटै वडाका विभिन्न ठाउँमा लामखुट्टे मार्ने औषधि छरेको जनाएको छ। यसै साता पुनः सरसफाई गर्दै औषधि छिट्ने काम गरिरहेको नगरप्रमुख खगेन्द्र राईले बताए। धरानमा डेंगु रोग देखिएलगत्तै संक्रमणको खतराबाट नगरबासीलाई सचेत गराउँदै जनघनत्व बढी भएको संभावित डेंगु प्रभावितक्षेत्र र वडाका बस्तीदेखि बजारसम्म औषधि छिट्ने र सरसफाई गर्ने काम भएको मेयर राईले बताए। उनका अनुसार एकपटकले मात्र लामखुट्टे नमर्ने भएकाले दोहोरो तेहरोसम्म औषधि छिट्ने काम नगरपालिकाले गरेको छ। 

त्यस्तै कटारीमा पनि डेंगु देखिएपछि औषधि छिट्न र बजार सरसफाई गर्न थालिएको छ। बजारकै मान्छेमा धमाधम डेंगु देखिएपछि नगरपालिकाले स्वास्थ्य शाखाका कर्मचारी परिचालन गरी पहिले कटारी बजार र त्यसपछि सबै वडामा औषधि छिट्न थालिएको नगर उपप्रमुख भिमकुमारी राउतले बताइन्। उनका अनुसार विरामीलाई छिटो निको पार्न तथा थप संक्रमण हुन नदिन पनि नगरपालिकाले आवश्यक औषधि, रक्त परीक्षण गर्ने किटको व्यवस्था गरेर अस्पताललाई उपलब्ध गराएको छ। थप जनतालाई रोगको संक्रमण हुन नदिन नगरपालिकाले जनचेतना कार्यक्रम पनि सञ्चालन गर्ने तयारी गरिरहेको उपमेयर राउतले बताएकी छिन्। त्रियुगा र बेलका नगरपालिकाले पनि लामखुट्टेविरुद्धको औषधि छरिरहेको जनाएका छन्। 

प्रकाशित: २ भाद्र २०७६ १६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App