४ वैशाख २०८१ मंगलबार
समाज

प्रधानमन्त्री ५ गते सिंगापुर जाने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली यही भदौ ५ गते थप उपचारका लागि सिंगापुर जाने भएका छन्। करिब एक साताअघि सिंगापुरमा स्वास्थ्य उपचार गराएर फर्किएका प्रधानमन्त्री ओली ‘फलोअप’ का लागि जान लागेका हुन्। बालुवाटार स्रोतका अनुसार यसअघिको उपचारमा दुई साइकल औषधि चलाइएको र थप एक साइकल तीन साताको बीचमा चलाउनुपर्ने चिकित्सकको सल्लाहबमोजिम ओली सिंगापुर जान लागेका हुन्।

चिकित्सकले सिफारिस गरेको औषधिको ‘साइड इफेक्ट’ देखिएकाले पनि प्रधानमन्त्री ओली तत्कालै जान सिंगापुर जानुपरेको स्रोतको भनाइ छ। औषधिको ‘साइड इफेक्ट’ कै कारण प्रधानमन्त्री ओलीलाई ज्वरो आउने, टाउको दुख्ने जस्ता समस्या देखिएको स्रोतले बतायो। ‘आज (आइतबार) संसद्मा गरेको सम्बोधनमा समेत प्रधानमन्त्रीले असहज महसुस गर्नुभएको देखिन्थ्यो।

त्यो औषधिको साइड इफेक्टका कारण हो’, स्रोतले भन्यो, ‘चिकित्सकले पनि औषधिको साइड इफेक्ट हुने जानकारी गराएका थिए।’ यसअघि साउन १८ मा उपचारका लागि सिंगापुर गएका ओली २७ गते फर्किएका थिए। स्वास्थ्य उपचार गरी फर्किएको दुई दिनपछि ज्वरो आएका कारण पार्टीका निर्धारित बैठक स्थगित गरिएको थियो। यसपटक पनि प्रधानमन्त्री ओली करिब एक साता सिंगापुरमा रहने जनाउँदै स्रोतले भन्यो, ‘यसबारे विस्तृत जानकारी छिट्टै गराइने छ।’ प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउँदै आएका छन्।

प्रकाशित: २ भाद्र २०७६ ०१:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App