coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सार्वजनिक यातायातमा पाइला राख्नै मुस्किल !

काठमाडौं – अफिसको काम सक्काएर हतार हतार गर्दै एनएसीको गाडी बिसौनीमा आइपुग्छन् कपन बालुवाखानी बस्ने सन्तोष भुसाल। कार्यालयबाट जति हतार गरेर गाडी बिसौनीमा आएपनि उनले न त गाडी भेट्टाउँछन् न त बस्ने सिट नै। कार्यालयदेखि कोठा जाने भनेर ६ बजे निस्केका भुसाल सधै झै आज पनि एक, डेढ घण्टाको पर्खाइपछि मात्र एउटा गाडी पाउँछन्। तर त्यसमा पनि खुट्टा टेक्ने ठाउँ नहुँदा ढोका मै झुन्डिन बाध्य हुन्छन्। उसो त भुसालले गाडी नपाएका होइनन् तर जती गाडी आए पनि यात्रुको चापले गर्दा भित्र पस्न त के ढोकामा झुन्डिन समेत सकेनन्। सधै यसरी नै ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य छन् काठमाडौंमा यात्रुहरु।

उनी एक  पात्र मात्र हुन्। उपत्यकामा साँझपख सार्वजनिक यातायातका सवारी साधनमा यात्रा गर्ने सबै यात्रुहरुको पीडा यही हो। सार्वजनिक यातायातका सवारीले क्षमता भन्दा बढी यात्रु बोक्ने गरेकाले सर्वसाधारण यात्रुले सास्ती खेपीरहेका छन्। कार्यालय तथा कामकाजीबाट घर फर्कने क्रममा सर्वसाधारणलाई बस, माइक्रोबस, ट्याम्पो जस्ता सार्वजनिक गाडीहरुबाट यात्रा गर्दा निकै कष्टकर हुने गरेको छ। यात्रुहरुले घण्टौँ कुरेपनि गाडी चढ्न र यात्रा गर्न निकै कठिने हुने उनीहरुको गुनासो छ। सवारी साधन र यात्रुको चाप झन त्यसमा उपत्यकाको बाटोमा भएका खाल्डा खुल्डीका कारण आवतजावत गर्न यात्रुहरुलाई अति नै पीडा हुने गर्छ। 

राजधानीका जमल, सुन्धारा, शहीदगेट, रत्नपार्क, पुरानो बसपार्क र भृकुटीमण्डपको बाहिरबाट विभिन्न स्थानमा जाने सार्वजनिक सवारी साधनमा खेप्नै नसकिने समस्या हुन्छ। ठेलमठेल गरी राखिएका यात्रुलाई दायाँ र बायाँ फर्क, पर सर भन्दै सहचालकले जबरजस्ती धकेल्ने र कराउने गरेकाले यात्रुलाई राजधानीका सडकमा यात्रा गर्न निकै अप्ठ्यारो हुनाले यात्रा गर्नै मन नलाग्ने उनीहरुको भनाई छ। दिउँसो भन्दापनि साँझको समयमा गाडी नपाउँदा र पाइहाले पनि दुईजनाको सिटमा तीनजना कोचेर राख्छन् गाडीका चालक तथा सहचालकहरुले। यसरी अटाईनअटाई यात्रु राख्दा विशेष गरी बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु र महिला लगायत सबै यात्रुलाई सार्वजनिक यातायातमा निकै सकस हुने गरेको छ।

विहान र बेलुकाको पिक समयमा गाडीहरु अपुग भई यात्रुहरुले धेरै दु:ख पाएको ट्राफिक कार्यालय बग्गीखानाका प्रहरी उपरीक्षक रबि कुमार पौडेल भन्छन्। यस्तै, यात्रुहरुलाई पनि गन्तव्यसम्म पुग्ने हतारका कारण उनीहरु चापलाई बेवास्ता गर्दै गाडीमा चढ्ने गरेको उनले बताए। पौडेलका अनुसार राजधानीमा चल्ने सार्वजनिक सवारी साधनहरुले सिट क्षमता भन्दा बढि यात्रु बोकेमा कारवाही हुन्छ। यात्रुलाई कोचेर राखेका सार्वजनिक सवारी साधन विरुद्धमा यात्रुले जानकारी दिए यातायात ऐन अनुसार कारवाही गरिने समेत पौडेल बताउँछन्। विगतका दिनदेखि आफुहरुले कारवाही गर्दै आएको भएपनि यात्रु आफैले दिइएको जानकारीबाट कारवाही प्रक्रिया झनै प्रभावकारी हुने सम्भावना उनले देखाए।

नीजि होस् या सरकारी, सबै कार्यालयको पुग्ने र निस्कीने समय एउटै भएका कारण सवारीको कमी भई यात्रुले कष्टपूर्ण यात्रा गरिरहेको यातायात व्यवस्था विभागका निर्देशक बन्धु प्रसाद बासकोटा बताउँछन्। यस्तै, चापलाई नियन्त्रण गर्न ढुवानीका सवारी साधनहरुलाई दिउँसोको समयमा राजधानीका सडकमा गुड्न रोक लगाउने र त्यस्ता सवारी साधनलाई निश्चित समयमा मात्र चल्न दिने योजना विभागले बनाएको उनले बताए। यस विषयमा सरोकारवालासँग छलफल भई छिट्टै योजना लागु हुने पनि उनले जानकारी दिए। त्यस्तै, राजधानीका सडकमा रातीसम्म सार्वजनिक सवारी साधन नपाउने हुँदा पनि साँझको समयमा धेरै यात्रुको चाप हुने गरेको उनले भने। ठूला–ठूला र इलेक्ट्रीक बसहरु ल्याइएको खण्डमा पनि चापलाई नियन्त्रण गर्न सकिने बासकोटाले बताए। सिन्डीकेट खारेज गरेका कारण सवारी साधनको मूल्यमा र गुणस्तरमा प्रतिस्पर्धा भई एकाधिकार हटेको उनको विश्वास छ। राजधानीमा राती १२ बजेसम्मै सार्वजनिक सवारी साधन चलाएमा पनि साँझपख हुने चाप र जामलाई केही हदसम्म हटाउन सकिने उनको बुझाई छ।

प्रकाशित: १ भाद्र २०७६ ११:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App