१६ चैत्र २०८० शुक्रबार
समाज

नेपाल घुम्न बेइजिङबाट चिनियाँलाई निम्ता

बेइजिङ - अग्ला तीनवटा पोलमा लहरै फहराइएका नेपालका राष्ट्रिय झण्डा।  लुम्बिनीमा मायादेवीसहित सिद्धार्थ गौतम बुद्धको आकृति कुँदिएको चित्र।  रातो इँटामा चिटिक्क परेको घरको बीचबाट आकाशतिर उठेको स्वयंभूको स्तुप।  वरिपरि फहराइरहेका लुङ्दर अनि भित्रबाट सुमधुर आवाजमा आइरहेको नेपाली संगीतको पाश्र्व ध्वनि।  भवनभित्र छिर्दा ढोकाको सामुन्ने बुद्धको मूर्ति।  मूर्तिको वरिपरि नेपाली जडीबुटी र फलफूलका नमुना।  यो दृश्य बेइजिङस्थित बागवानी प्रदर्शनी केन्द्रमा रहेको लुम्बिनी शान्ति बगैंचाको हो।  बगैंचामा पुग्दा एकैचोटि नेपाल पुगेको अनुभूति हुन्छ।

बेइजिङमा जारी बागवानी प्रदर्शनी स्थलमा राखिएको नेपाली कक्ष नेपालको पर्यटन प्रवद्र्धनमा मŒवपूर्ण चौतारो बनेको छ।  ‘बेइजिङ एक्स्पो २०१९’ नाममा अप्रिल २८ मा सुरु भएको बागवानी प्रदर्शनीमा राखिएको नेपाली कक्षले अहिलेसम्म १० लाखजति चिनियाँलाई नेपालबारे जानकारी दिएको छ।  नेपालले अर्को वर्ष आयोजना गर्ने नेपाल भ्रमण वर्ष कार्यक्रम सफल पार्न सघाउने लक्ष्य पनि यसले बोकेको छ।

प्रदर्शनी कक्षमा आउने चिनियाँलाई नेपालको पर्यटन मात्र नभएर जलविद्युत्, पूर्वाधार विकास, प्रविधि, कृषिलगायत क्षेत्रमा लगानी गर्र्न प्रेरित गरिन्छ।

एक हजार वर्गमिटर क्षेत्रफलमा रहेको नेपाली प्रदर्शनी कक्षमा नेपालको प्रतिनिधित्व हुनेगरी ‘लुम्बिनी शान्ति बगैंचा’ मा स्वयम्भूका दुई आँखा अंकित १५ मिटर अग्लो स्तुप बनाइएको छ।  त्यसभित्र ११ फिट अग्लो बुद्धको मूर्ति राखिएको छ।  ‘लुम्बिनी शान्ति बगैंचा’ को निर्माण नेपालको इमप्लिमेन्टिङ एक्स्पर्ट ग्रुपले गरेको हो।  इमप्लिमेन्टिङ एक्स्पर्ट ग्रुपका निर्देशक तथा एक्स्पोका नेपाल कन्ट्री निर्देशक बिनायक शाह हुन्।

‘हरित जीवन, सुन्दर घर’ विषय बोकेको प्रदर्शनीमा एक सय दस मुलुक र अन्तर्राष्ट्रिय संगठन सहभागी छन्।  ती मुलुकमध्ये ४८ वटाले आफ्नो पहिचान झल्किने पेभिलियन निर्माण गरेका छन्।  लुम्बिनी शान्ति बगैंचा नेपालको पेभिलियन हो।  सबै राष्ट्रले आफ्ना देशका वनस्पति र फलफूलको प्रदर्शन गरेका छन्।  सिंगापुरको प्रदर्शनीकक्ष सुनाखरीले भरिपूर्ण छ भने थाइल्यान्डले डुरियन फललगायत आकर्षक फलफूल प्रदर्शनीमा राखेको छ।  अन्य राष्ट्रले पनि आफ्ना देशका विशेष वनस्पति प्रदर्शनीमा राखेका छन्।  नेपालले भने मुख्य रुपमा विशाल बुद्धको मूर्ति राखेको छ।  बुद्ध मूर्ति वरिपरि यार्चागुम्बुलगायत जडीबुटीको नमुना राखिएको छ।  यसले मुख्य रुपमा दुईवटा कुराको सन्देश प्रवाह गरेको शाह बताउँछन्।  यसले चिनियाँलाई बुद्ध नेपालमा जन्मिएका हुन् र नेपालमा महŒवपूर्ण जडिबुटीहरु उत्पादन हुन्छ भन्ने सन्देश राम्ररी दिएको छ।

अक्टोबर ७ तारिखसम्म चल्ने बागवानी प्रदर्शनीमा सेप्टेम्बर १५ मा नेपाल दिवसको आयोजना गरिनछ।  त्यस दिन नेपाली कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन्।  सो कार्यक्रमले पनि नेपालको घनिभूत प्रचार गर्ने शाह बताउँछन्। लुम्बिनी शान्ति बगैंचाको ७२ प्रतिशत भागमा वनस्पति र बोटबिरुवा छन्।  चीन भ्रमण क्रममा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले रोपेको लोठसल्लाको विरुवा पूर्वदक्षिण कुनामा छ।  सुरुमा राष्ट्रपति भण्डारीले लालिगुराँसको बिरुवा रोप्ने भनिएको थियो।  लालिगुराँस नेपालको राष्ट्रिय फूल भएकाले त्यसको अर्थ महŒवपूर्ण हुन सक्थ्यो।  तर नेपालबाट लालिगुराँसको बिरुवा चीनमा ल्याउन क्वारेन्टाइन पास गर्नुपर्ने र यसका लागि समय अभावका कारणले स्थानीय लोठसल्लाको विरुवा नै रोप्नुपर्ने बाध्यता भएको शाह बताउँछन्।  स्तुपको बाहिरी भागमा रहेको रातो खम्बामा राष्ट्रपति भण्डारीको हस्ताक्षर पनि देख्न सकिन्छ।

प्रदर्शनी कक्षमा आउने चिनियाँलाई नेपालको पर्यटन मात्र नभएर जलविद्युत्, पूर्वाधार विकास, प्रविधि, कृषिलगायत क्षेत्रमा लगानी गर्र्न प्रेरित गर्ने काम पनि हुँदै आएको शाहले जानकारी दिए।  प्रदर्शनी कक्षमा सुरुमा नेपाल पक्षबाट वाणिज्य मन्त्रालय, लगानी बोर्डर पर्यटन बोर्डका एकएक प्रतिनिधि राख्ने सहमति थियो।  तर पछि ती निकायले प्रतिनिधि पठाएनन्।  शाह भन्छन्, ‘हामी यहाँ नेपाल पर्यटन बोर्डले उत्पादन गरेका सामग्री वितरण र नेपाल भ्रमण गर्न प्रेरित गर्छौं।  त्यसबाहेक मान्छेको आबद्धता हेरेर नेपालमा लगानी र व्यापार गर्न उपयुक्त वातारण रहेको सूचना पनि प्रवाह गर्छौं।  तीनवटै निकायको काम हामी एक्लैले गरिरहेका छौं। ’ मुख्य रुपमा नेपाल घुम्न चिनियाँलाई निम्तो बाँड्ने काम प्रदर्शनी कक्षले गरिरहेको उनले बताए।

‘लुम्बिनी शान्ति बगैंचा’ मा छिरेका चिनियाँले नेपाली मम र लस्सी पनि चाख्न पाउँछन्।  सम्झनाका लागि नेपाली हस्तकलाका रुपमा हातमा बाँध्ने लकेट र बुद्धका मूर्ति किन्न पनि सक्छन्। बागवानी प्रदर्शनीमा रहेका विभिन्न मुलुकका विशेष ४८ वटा कक्षमध्ये ‘लुम्बिनी शान्ति बगैंचा’ को विशेषता अलिक फरक छ।  अन्य प्रदर्शनी कक्ष वनस्पतिले भरिभराउ र अस्थायी खालका छन्।  तर, नेपालको प्रदर्शनी कक्ष कुनै सांस्कृतिक सम्पदास्थल जस्तै छ।  अन्य प्रदर्शनी स्थलमा पुगेका अवलोकनकर्ता विभिन्न वस्तुको मूल्य सोध्छन् तर नेपालको प्रदर्शनी कक्षमा आउने हात जोडेर बुद्धको प्रार्थना गर्न थाल्छन्।  गत बुद्ध पूर्णिमाका दिन प्रदर्शनी अवलोकन गर्न आएका थुप्रै चिनियाँ लामाले नेपाली प्रदर्शनी स्थलमा पुगेर पूजापाठ गरेका थिए।  ‘लुम्बिनी शान्ति बगैंचा’ नाम राख्नुको अर्थ बताउँदै शाह भन्छन्, ‘कुनै पनि मान्छे शान्ति र आनन्द खोज्न बगैंचामा जान्छ।  नेपाली कक्षमा पस्दा सबैले शान्तिको महसुस गर्छन्।  बुद्धले शान्तिको सन्देश छरेका थिए।  बुद्धको मूर्ति अगाडि पुगेर सबैले शान्तिको आत्मबोध गर्छन्। ’

प्रकाशित: १ भाद्र २०७६ ०२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App