८ वैशाख २०८१ शनिबार
समाज

कारक स्थानीय सडक

जुम्ला - स्थानीय सरकारले जथाभावी निर्माण गरेका ग्रामीण सडकका कारण कर्णाली राजमार्ग अस्तव्यस्त बनेको छ। जहाँ पायो त्यहींबाट शाखा सडक खोल्दा खसेका पहिरोका कारण राजमार्ग असुरक्षित बन्दै गएको छ।

सामान्य वर्षा हुनेबित्तिकै पहिरो जान थालेको स्थानीय बताउँछन्। जुम्लाबाट सुर्खेत झरेका शेरबहादुर बोहोराले भने, ‘ग्रामीण सडकले गर्दा राजमार्ग धरापजस्तै भएको छ। स्थानीय सरकारले बनाएका सडकका कारण राजमार्ग अस्तव्यस्त बनेको छ। हचुवामै खनिएका स्थानीय सडकका कारण राजमार्गमा ठाउँठाउँमा पहिरो झर्दा यात्रुले सास्ती बेहोर्नु परेको छ।’ उनले आफू सुर्खेतबाट फर्किंदा शेराबाडानजिकै पहिरोले चार घण्टा रोकिनुपरेको बताए।

जथाभावी डोजर लगाएका कारण वर्षा हुनेबित्तिकै पहिरो खस्ने गरेको छ। ग्रामीण सडकका कारण राजमार्गको कालिकोट खण्डमा बढी क्षति पुगेको छ। बोहोराले भने, ‘कर्णाली राजमार्ग संघीय सरकारले हस्तान्तरण नगरेको भन्दै प्रदेश सरकारले रकम हाल्न मान्दैन। संघीय सरकारले कर्णालीको व्यथा सुन्दैन। स्थानीय सरकारले विकासका नाममा विनाश निम्त्याउन थालेका छन्। त्यसको प्रत्यक्ष मार यात्रुले खेपिरहेका छन्।’

जुम्लाका तिला, तातोपानी र चन्दननाथमा निर्माण गरिएका स्थानीय सडकले राजमार्गमा अवरोध पु-याएका छन्। सडक खन्दा थुपारिएको माटो पन्छाइएको छैन, जसले सडक साँघु¥याएको छ, पिच भत्केको छ।

जिल्ला प्रशासन कार्यालय कालिकोटले दैनिक राजमार्गमा सानोतिनो पहिरो खस्दा यात्रुले सास्ती खेप्नुपरेको जनाएको छ। कतिपय स्थानमा चालकले रकम उठाएर सडक खुलाउनुपर्ने बाध्यता छ। यात्रुले पहिरो सफा गर्न सरकारले ठाउँठाउँमा डोजर, एक्साभेटर राख्नुपर्ने माग गरिरहेका छन्।

सडक अस्तव्यस्त भएकाले जुम्ला र कालिकोटमा उत्पादित स्याउ बजार पु-याउन सकस भइरहेको व्यापारी बताउँछन्। जुम्लादेखि सुर्खेतसम्मको दुई सय ३२ किलोमिटर राजमार्गमा यात्रा निकै जोखिमपूर्ण बनेको छ। सडकमा ट्राफिक चिह्न छैन। प्रहरी चौकी पनि जिम्मेवार देखिँदैनन्। भगवान् भरोसामै यो सडकमा यात्रा गर्नुपरेको स्थानीय बताउँछन्।

प्रकाशित: ३२ श्रावण २०७६ ००:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App