४ वैशाख २०८१ मंगलबार
समाज

भारतबाट भित्रिएका चौपायाले सकस

नेपालगन्जस्थित चारलेन सडकमा रहेका छाडा चौपाया। तस्बिर: अर्जुन/नागरिक

नेपालगन्ज - नेपालगन्ज उपमहानगरपालिकाले सडकमा देखिने चौपायालाई समयसमयमा नियन्त्रणमा लिन्छ र कान्जी हाउसमा राख्छ।  तर पनि सडकमा गाई, गोरु र खच्चडको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।  छाडा चौपायाका कारण उपमहानगर क्षेत्र अस्तव्यस्त बनेको छ।  सडकमा चौपाया छाडिँदा दिनहुँजसो दुर्घटना हुने गरेका छन्।  छाडा चौपायाको बिगबिगी बढ्दा उपमहानगर क्षेत्र अस्तव्यस्त बनेको छ।

नेपालगन्ज उपमहानगरपालिकाका अनुसार गत वर्ष एक हजारको हाराहारीमा रहेका छाडा चौपायाको संख्या यो वर्ष दुई हजार पुगेको छ।  बर्सेनि संख्या बढ्नुमा भारतीय चौपायाको प्रवेश मुख्य कारण भएको नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि बताउँछन्।  दुई वर्षअघिसम्म नेपालगन्ज उपमहानगरपालिकाले स्थानीय फुलटेक्रास्थित कान्जी हाउसमा छाडा चौपायालाई राख्ने गरेको थियो।  त्यति बेला छाडा चौपायाको समस्या भयावह थिएन।

नेपालगन्ज उपमहानगरपालिकाका अनुसार गत वर्ष एक हजारको हाराहारीमा रहेका छाडा चौपायाको संख्या यो वर्ष दुई हजार पुगेको छ।

भारतीय चौपाया आउने क्रम बढेपछि गत वर्ष उपमहानगरपालिकाले वडा नम्बर २१ मा करिब ३ बिघा क्षेत्रफलमा नयाँ कान्जी हाउस निर्माण ग-यो।  एक वर्षयता सोही कान्जी हाउसमा छाडा चौपाया राख्ने गरिएको छ।  तर अझै पनि उपमहानगरपालिकाभित्रका मुख्य र भित्री सडकमा ठूलो संख्यामा छाडा चौपाया छन्।  खुला सिमानाका कारण नेपालगन्जमा दिनहुँ ठूलो संख्यामा भारतीय छाडा चौपाया प्रवेश हुने गरेकाले समस्या झन् पेचिलो बनेको नगर प्रमुख धवलशमशेर राणा बताउँछन्।  ‘नेपालगन्जमा रहेका छाडा चौपायामध्ये करिब ८० प्रतिशत भारतबाट आएका हुन्,’ उनले नागरिकसँग भने, ‘नेपाल–भारत सीमा खुला छ।

  उत्तरप्रदेशका विभिन्न जिल्लाबाट पशु चौपायालाई लखेट्दै सीमामा ल्याएर छाडिन्छ।  त्यसपछि ती पशु नेपालगन्ज प्रवेश गर्छन्। ’ बाँकेसँग भारतको ६५ किलोमिटर सीमा जोडिएको छ।  खुला सीमाका कारण छाडा चौपाया जुनसुकै ठाउँबाट पनि सहजरुपमा प्रवेश गर्न सक्ने अवस्था छ।  त्यसरी प्रवेश हुने भारतीय छाडा चौपायालाई सीमा क्षेत्रमा २४ सै घण्टा ड्युटी गरेर रोक्न सक्ने स्थिति नभएको नगर प्रमुख राणा बताउँछन्।

गत वर्ष उपमहानगरपालिकाले कतिपय छाडा चौपायालाई ट्रकमा राखेर राजमार्ग क्षेत्रमा लगी छाडेको थियो।  त्यति गरेर पनि छाडा चौपायाको संख्या घटेन।  उपमहानगरपालिकाले नयाँ कान्जी हाउस सञ्चालनमा ल्याइसकेपछि त्यहाँ पनि करिब पाँच सय छाडा चौपाया राखिएको छ।

कान्जी हाउसको क्षमताभन्दा बढी चौपाया भएका कारण व्यवस्थापन गर्न कठिनाई भइरहेको उपमहानगरपालिकाले जनाएको छ।  घाँसपानीको व्यवस्थापन नहुँदा चौपाया दिनहुँ मर्ने गरेका छन्।  कान्जी हाउसका चौपायाको व्यवस्थापन उपमहानगरपालिकाले गर्न नसकेको भन्दै नेपालगन्ज ग्यालरी नामक फेसबुक सञ्जालका अभियन्ताले सांकेतिक विरोध गर्दै गाईलाई घाँस र पानीको व्यवस्थापन गरेका छन्।

दबाबपश्चात् नेपालगन्ज उपमहानगरपालिकाले दुईजना कर्मचारी खटाएर ट्याक्टरमार्फत घाँस पु¥याउने व्यवस्था मिलाएको जनाएको छ।  सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले कान्जी हाउसका लागि उपमहानगरपालिकालाई संसद् विकास कोषबाट एक करोड छुट्याउने घोषणा गरेका छन्।  उनले तत्काल चौपायालाई घाँस व्यवस्थापनका लागि सामाजिक अभियन्तालाई ५० हजार सहयोग हस्तान्तरण गरेका छन्।

भारतीय चौपाया सहजै प्रवेश गर्ने खुला क्षेत्र धेरै भएकाले रोकथाम गर्न चुनौती रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख वीरबहादुर ओली बताउँछन्।  ‘भारतबाट गाडीमा लोड भएर आउने गरेको भए प्रहरीले रोक्न सक्थ्यो।  नेपालगन्जमा प्रवेश भएका जतिपनि चौपाया छन्, यिनीहरु ६५ किलोमिटरको जुनसुकै ठाउँबाट पनि प्रवेश हुन सक्ने अवस्था छ,’ उनले भने।  नेपालगन्जका सडकमा देखा पर्ने चौपायालाई भारत र नेपालको भनेर पहिचान गर्न नसकिने ओलीले बताए।  छाडा चौपायाको समस्या नेपालगन्जमा मात्र नभएर भारतीय सीमासँग जोडिएका हरेक जिल्लामा रहेको उनको भनाइ छ।

नेपालगन्जमा छाडा छोडिएका चौपायाको संरक्षण र व्यवस्थापनका लागि मंगलबार एक समिति गठन भएको छ।  नेपालगन्ज उपमहानगरपालिकाले आयोजना गरेको सर्वपक्षीय बैठकले व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो।  नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख राणा अध्यक्ष रहेको समितिको उपाध्यक्षमा डा. विनोद कर्ण, सचिवमा समिरमान श्रेष्ठ, कोषाध्यक्षमा श्याम शाक्य र सदस्यहरुमा वडा नम्बर २१ का अध्यक्ष रञ्जित खाँ, सृष्टि गौतम र दीपक लोध छन्।

प्रकाशित: २९ श्रावण २०७६ ०१:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App