७ वैशाख २०८१ शुक्रबार
समाज

प्रभु हेलिकोप्टरद्वारा अधिक चार्टर शुल्क मागः छानबिन गर्न पर्यटन मन्त्रालयकाे पत्राचार

खोटाङ– अधिक चार्टर शुल्क माग गरेको भन्दै प्रभु हेलिकोप्टर प्रालिका सञ्चालकविरुद्ध उजुरी परेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई छानबिनका लागि पत्राचार गरेको छ।

खोटाङको खोटेहाङ गाउँपालिका–३, सावाकटहरेका प्रेम सुवेदीलाई काठमाडौं लैजानका लागि हेलिकोप्टर चार्टर गर्न खोज्दा तीन लाख १५ हजारबाट ‘बार्गेनिङ’ गरेर दुई लाख ८५ हजार शुल्क मागिएको भन्दै उजुरी परेपछि मन्त्रालयले प्राधिकरणलाई छानबिन र कारबाही गर्न पत्राचार गरेको हो।

दुई लाख ८५ हजारभन्दा कम शुल्कमा बिरामी बोक्न नजाने भनेपछि खोटाङ सेवा समाज काठमाडौंका सचिव बाजिन्द्र बिष्टले प्रभु हेलिकोप्टर प्रालिविरुद्ध असार १८ गते उजुरी दिएका थिए। दुर्गम क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणको स्वास्थ्यसँग जोडिएको विषयमा प्रभु हेलिकोप्टरबाट कमजोरी भए÷नभएको सत्यतथ्य विवरण उपलब्ध गराउन मन्त्रालयले भनेको छ।

‘यात्रुको हकहित संरक्षण गर्ने दायित्वलाई मध्यनजर गर्दै प्रभु हेलिकोप्टरबाट माग गरिएको भनिएको रकम मन्त्रालयले निर्धारण गरेको दरभन्दा बढी हो÷होइन ? उक्त उजुरी सम्बन्धमा के भएको हो ? दुर्गममा बस्ने सर्वसाधारणको उपचारसँग जोडिएको विषयमा छानबिन गरी हेलिकोप्टरको उडान रोक्नु पर्ने भए सो समेत सत्यतथ्य विवरण यस मन्त्रालयमा पेस गर्न अनुरोध छ,’ प्राधिकरणलाई लेखिएको पत्रमा उल्लेख छ। नेपाल सरकार मन्त्रीस्तरको २०७२ चैत ७ गतेको निर्णयानुसार दुर्गम क्षेत्रमा रहेका नागरिकका लागि ‘आर ४४’ समूहका हेलिकोप्टरको चार्टर दर प्रतिघण्टा एक हजार अमेरिकी डलर निर्धारण गरिएको छ।

प्रभु हेलिकोप्टर प्रालिले बढी शुल्क मागेपछि बिरामी सुवेदीलाई एक लाख ९५ हजार तिरेर अर्को कम्पनीको हेलिकोप्टरमार्फत् काठमाडौं पु¥याइएको थियो। त्यसभन्दा हप्ता दिन अगाडि जन्तेढुंगा गाउँपालिका–५, चिसापानीका बिरामी मञ्जु कार्कीलाई एक लाख ८५ हजारमा काठमाडौं लगेको प्रभु हेलिकोप्टर प्रालिले हप्ता दिनपछि नै बढी शुल्क मागेको खोटाङ सेवा समाज काठमाडौंका सचिव बिष्टले बताए।

प्रभु हेलिकोप्टरका म्यानेजर सुवास शाक्यले भने उजुरीमा भनिएको आरोपको खण्डन गरेका छन्। ‘चरिकोटको उडानपछि हेलिकोप्टर खोटाङ पठाउँछौँ भनेका थियौँ, तर पछि सम्पर्क गर्ने भनेर उहाँहरू सम्पर्कमा आउनु भएन,’ शाक्यले भने, ‘रेटको विषयमा मार्केटिङ स्टाफबाट इरर भएको थियो। हामीले तत्कालै जानकारी पनि गराएका थियौँ।’

प्रकाशित: २८ श्रावण २०७६ ०९:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App