coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बढ्दै अपराध, परिवारकै सदस्यबाट खतरा

कैलाली - केही वर्षयता कैलालीमा आपराधिक घटना बढ्दै गएका छन्। त्यसमा पनि घरपरिवारका सदस्यबाट हुने अपराधका घटनामा वृद्धि भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। एक वर्षको अवधिमा अंशवण्डा, मादक पदार्थ सेवन र रिसको आवेगमा आएर आफ्नै परिवारका सदस्यको हत्या गर्ने क्रम बढेको कैलाली प्रहरीले बताएको छ।

साउन १२ गते राति कैलालीको गोदावरी नगरपालिका–५, बरबट्टामा छोराले चिर्पटले हानेर बुबाको हत्या गरे। अंशवण्डाको विवादमा ३० वर्षीय रामबहादुर कुमालले चिर्पटले हान्दा ६० वर्षीय बुबा अमरसिंह कुमालको मृत्यु भयो। साउन ६ गते घोडाघोडी नगरपालिका–११ सिसैयाका ५५ वर्षीय उदय राउतले धारिलो हतियार प्रहारबाट आफ्नै बाबुआमाको हत्या गरे। उनले धारिलो हतियार प्रहारबाट ७५ वर्षीय बुबा कल्चे राउत र आमा नन्दा राउतको हत्या गरेका हुन्।
    
मादक पदार्थ सेवन गरेर उनले आमाबुबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दक्षकुमार बस्नेतले बताए। गत मङ्सिर ३१ गते लम्की चुहा नगरपालिकाको बलियामा जहरलाल चौधरीले ६० वर्षीय बुबा पल्टु थारू र ५० वर्षीय काका छनक थारूको हत्या गरे। उनले अंशवण्डामा कुरा नमिल्दा हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्यो।

गत असोज ६ गते टिकापुर नगरपालिका–कालीमाटीमा बुबाले छोराको हत्या गरेका छन्। त्रियासी वर्षीय पहले लुहारले धारिलो हतियार प्रयोग गरी आफ्नै ५२ वर्षीय छोरा कृते लुहारको हत्या गरे। गत कात्तिक १७ गते गोदावरी नगरपालिका–७ लालपुरकी ३९ वर्षीया हिरादेवी नागरीको उनकै श्रीमान् विजय नागारीले हत्या गरे।

गत भदौ २९ गते गोदावरी नगरपालिका–१० दमौराकी तुलसी फुलौरा भट्टको उनकै श्रीमान् प्रशान्त भट्टले हत्या गरे। गौरीगङ्गा नगरपालिका–६ की निर्मला साउदलाई उनकै श्रीमान् लालबहादुर साउदले हत्या गरे।

माया प्रेम, भागबन्डा, मदिरा सेवन तथा रिसको आगेवमा कैलालीमा एक वर्षको अवधिमा आफ्नै जन्मदिने आमा–बुबा तथा श्रीमान्ले श्रीमती र श्रीमतीले श्रीमान्को गरी नौ जनाको हत्या भएको कैलालीका प्रहरी उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

यस अवधिमा कर्तव्य ज्यान, बलात्कार, तस्करी र चोरी–डकैतीसम्बन्धी अपराध बढ्दै गएको प्रहरीले जनाएको छ। आर्थिक वर्ष २०७३÷७४ मा जिल्ला प्रहरी कार्यालयमा २० कर्तव्य ज्यानसम्बन्धी, तीन ज्यान मार्ने उद्योग, ४८ विष खाएर मृत्यु र ११६ ले झुन्डिएर आत्महत्या गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ। यी अपराधका घटना आव २०७४÷७५ मा बढेका छन्। यो समयमा १२ कर्तव्य ज्यानसम्बन्धी, ११ ज्यान मार्ने उद्योग, ७३ विष खाएर मृत्यु र १२८ ले झुन्डिएर आत्महत्या गरेका छन्।

आव २०७५/७६ मा अपराधका घटना अझ बढेको तथ्याङ्कले देखाएको छ। यो अवधिमा १६ कर्तव्य ज्यानसम्बन्धी, ३० ज्यान मार्ने उद्योग, ४८ विष खाएर मृत्यु र १५० ले झुन्डिएर आत्महत्या र आठ जनाले आत्महत्या दुरुत्साहन गरेको कैलाली प्रहरीले जनाएको छ। यसबाहेक आव २०७३÷७४ मा १४८, सार्वजजनिक कसुरसम्बन्धी, चार मानवबेचबिखन तथा ओसारपसार, नौ बहुविवाह, ६२ सवारी ज्यानसम्बन्धी घटना भएका छन्।

आव २०७४/७५ मा २९४ सार्वजजनिक कसुरसम्बन्धी, नौ मानव बेचबिखन तथा ओसारपसार, १७ बहुविवाह, ६४ सवारी ज्यानसम्बन्धीका घटना रहेका छन्। यस्तै आव २०७५÷७६ मा ३६६ सार्वजनिक कसुरसम्बन्धी, १७ मानव बेचबिखन तथा ओसारपसार, २३ बहुविवाह, ६१ सवारी ज्यानसम्बन्धीका घटना रहेको कैलाली प्रहरीले जनाएको छ।(रासस)

प्रकाशित: २८ श्रावण २०७६ ०६:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App