१६ चैत्र २०८० शुक्रबार
समाज

सगरमाथा आरोहणबाट ४४ करोड राजस्व संकलन

काठमाडौं - विश्वको अग्लो चुचुरो मानिएको सगरमाथा आरोहणबाट यस वर्षको वसन्तकालीन मौसममा राज्यले ४४ करोड २३ लाख रुपैयाँ राजस्व उठाएको छ।  पर्यटन विभागका अनुसार सरकारले हरेक वर्ष दुईपटक सगरमाथा आरोहणको अनुमति दिने गरेको छ।  जसअनुसार वसन्तकालीन मौसममा मार्च, अप्रिल र मे महिनाका लागि आरोहण अनुमति दिइन्छ भने शरद्कालअन्तर्गत अक्टुबर, नोभेम्बर र डिसेम्बर महिनाका लागि आरोहण अनुमति दिइन्छ।  वसन्तकालीन मौसम भर्खरै सकिएको छ।

विभागका अनुसार वसन्तकालीन मौसममा ४४ आरोहण समूहलाई सगरमाथा आरोहणको अनुमति दिइएको थियो।  ४४ आरोहण समूहका ६ सय ४२ जनाले वसन्त ऋतुमा सगरमाथा आरोहणको अनुमति लिएको विभागले जनाएको छ।  तीमध्ये ३ सय ८१ जनाले आरोही र बाँकी २ सय ६१जना आरोहीका सहयोगी, गाइड र शेर्पा थिए।

सगरमाथा आरोहण असुरिक्षत हुँदै गएको र आरोहण दलसँगै जाने सम्पर्क अधिकृत (लियाजन अफिसर) बेसक्याम्पमै नपुगी आरोहण प्रमाणित गर्ने गरेको समाचार आएपछि छानबिन गर्न समिति गठन भएको छ।

आरोहण अनुमति लिएका मध्ये २ सय ८१ आरोही सगरमाथा चुचुरोमा पुगेका थिए।  यसैगरी ३ सय ७८ जना सहयोगी र गाइड पनि सगरमाथा चुचुरोमा पुगेको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए।  उनका अनुसार वसन्तकालीन मौसममा विदेशी आरोहीबाट ४४ करोड १३ लाख ८७ हजार ८ सय ६२ रुपैयाँ र नेपाली आरोहीबाट १० लाख ५० हजार रुपैयाँ राजस्व जम्मा भएको विभागले जनाएको छ।  सगरमाथा आरोहण गर्दा विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर र नेपाली नागरिकले प्रतिव्यक्ति ७५ हजार रुपैयाँ राजस्व बुझाउनुपर्छ।

यस वर्ष वसन्तकालीन ऋतुमा ३३ वटा हिमाल आरोहणको अनुमति दिइएको थियो।  यी सबैबाट ४९ करोड ५९ लाख ८६ हजार ६ सय २२ रुपैयाँ उठेको विभागले जनाएको छ।  विभागका अनुसार यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा ८ आरोहीको निधन भएको छ।  एकजना हराइरहेका छन्।  सगरमाथा आरोहणका क्रममा मृत्य हुनुमा हाइ अल्टिच्युड, प्रतिकूल मौसम, अचानक मुर्छा पर्ने समस्या र शारीरिक कमजोरी मुख्य कारण भएको विभागले जनाएको छ।

सगरमाथा आरोहण असुरिक्षत हुँदै गएको र आरोहण दलसँगै जाने सम्पर्क अधिकृत (लियाजन अफिसर) बेसक्याम्पमै नपुगी आरोहण प्रमाणित गर्ने गरेको समाचार आएपछि यस विषयमा छानबिन गर्न सरकारले पर्यटन विभागका महानिर्देशक घनश्याम उपाध्यायको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।  सगरमाथा आरोहण पूरा गरेको दाबी गरेका आरोहीमध्ये दुईजनाले सगरमाथा आरोहण पूरा गरेनगरेको विषयमा मन्त्रालयले छानबिन सुरु गरेको छ। 

नक्कली आरोहणलाई सक्कली भनी प्रमाणित गर्ने लियाजन अफिसरको भूमिकाबारे पनि समितिले छानबिन गरिरहेको स्रोतले बताएको छ।  स्रोतका अनुसार आरोहण दलमा लियाजन अफिसर लैजाने नियममा पनि परिमार्जन हुन सक्ने स्रातेले बतायो।  सम्पर्क अधिकृत सरकारी कर्मचारी हुने व्यवस्था छ।  सम्पर्क अधिकृत भई हिमाल आरोहणमा जान कर्मचारीबीच प्रतिस्पर्धा हुने गरेको छ।

प्रकाशित: २८ श्रावण २०७६ ०१:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App