८ वैशाख २०८१ शनिबार
समाज

यस्तो छ काठमाडौंमा पुस्तकालयको अवस्था (भिडियो)

काठमाडौं – पुस्तक तथा पुस्तकालय समाजको एउटा ऐना हो। कुनै समय पुस्तकालय जाने संस्कृति जस्तै थियो तर हिजो आज त्यो चलनमा कमि आउँदै गएको छ।  पुस्तक र पुस्तकालयहरु मानव सभ्यताको प्रतिबिम्ब पनि हुन्। पुस्तकालयलाई सभ्य समाज निर्माणको आधारशिलाका रूपमा पनि लिइन्छ। सूचना प्रविधिको विकाससँगै पुस्तकालय संस्कृतिमा कमि आएको छ।

सबै किसिमका सूचना तथा ज्ञानलाई सबैको उपयोग गर्ने अवसर प्रदान गर्नै स्थान पुस्कालय हो। सरकारले अहिले हरेक स्थानीय तहमा सुविधा सम्पन्न सार्वजनिक पुस्तकालयको स्थापना गर्ने नीति लिएको छ।

नेपालमा वि.सं. १९८६ देखि पुस्तकालय स्थापना गरी सन्चालन भएको पाइन्छ। नेपालमा पुस्तकालयको विकास तथा विस्तारमा व्यत्तिगत र संस्थागत रुपमा प्रयास भएको पाइएपनि अपेक्षित उपलब्धि भने हासिल हुन सकेन। सरकारबाट नियमित रुपमा बजेट उपलब्ध नहुँदा धेरै पुस्तकालय खुल्ने र बन्द हुने स्थिती रह्यो।

नेपालमा वि.सं. १९८६ देखि पुस्तकालय स्थापना गरी सन्चालन भएको पाइन्छ। नेपालमा पुस्तकालयको विकास तथा विस्तारमा व्यत्तिगत र संस्थागत रुपमा प्रयास भएको पाइएपनि अपेक्षित उपलब्धि भने हासिल हुन सकेन। सरकारबाट नियमित रुपमा बजेट उपलब्ध नहुँदा धेरै पुस्तकालय खुल्ने र बन्द हुने स्थिती रह्यो। नेपालमा पुस्तकालयको सुरुवात करिब १५० वर्षपहिले तत्कालिन राजा गिर्वाण युद्ध विक्रम शाहको शासनकालमा भएको मनिन्छ। पृथ्वीनारायण शाहले नेपाल एकीकरणको समयमा हराइएका राज्यका महत्वपूर्ण दस्तावेजहरूलाई संकलन गरेर आफ्नो दरबारमा राख्ने गर्थे। पछि उनका नाति गिर्वाणले ती दस्तावेजहरूको संरक्षण गरे। १०४ वर्षे राणा शासनले जनतालाई शिक्षाबाट वञ्चित गराएका बेला पुस्तकालय गोप्य रहेका थिए।

सन् १९३० मा महाकवि लक्ष्मीप्रसाद देवकोटा सहितको युवा समूहले पुस्तकालय (सरस्वती सार्वजनिक पुस्तकालय) स्थापनाको अनुमति मागेर सरकारमा निवेदन हाले। तर राणा शासकहरूले उनीहरूलाई कारबाही गर्‍यो। २००७ सालमा प्रजातन्त्र स्थापना भए पश्चात् शिक्षाको क्षेत्रमा नयाँ लहर आयो र विभिन्न स्थानमा पुस्तकालयहरूको स्थापना हुन थाल्यो। सन् १९५० देखि १९६० को बीचमा विभिन्न स्थानमा सार्वजनिक पुस्तकालयहरू स्थापना भए।

हाल काठमाडौंमा करिब १ सयवटा सामुदायिक पुतकालय छन्। त्यस मध्येपनि महानगरमा मात्र झण्डै २८ को हाराहारीमा सामुदायिक पुस्तकालय रहेको शिक्षा मन्त्रालय, पुस्तकालय समन्वय शाखाका प्रमुख यादवचन्द्र निरौलाले बताए। उपत्यका बाहिर भन्दा भित्रका पुस्तकालयको अवस्था अलि राम्रो देखिए पनि सन्चार तथा सूचना प्रविधिका सबै सुविधा र जानकारी दिने पुस्तकालयको भने अभाव नै भएको उनले बताए।

२०७२ सालको भूकम्पपछि यहाँका ठूला तथा ऐतिहासिक मानिएका पुस्तकालयहरुमा ठूलै क्षति भयो। कोही समय मै उठ्न सकेभने कोही उठ्नै नसकिने गरी लडिरहे। यस्तै उठ्नै नसकिने गरी लडेको छ, नेपालको एक मात्र राष्ट्रिय पुस्तकालय नेपाल राष्ट्रिय पुस्तकालय जुन ललितपुरको हरिहर भवनमा छ। हरिहर भवनमा उठ्नै नसकेको सो पुस्तकालयले अब नयाँ स्वरुप आउने भएको छ। काठमाडौं कै जमलमा नयाँ र भव्य रुपमा नेपालको कला तथा सँस्कृती झल्किने गरी नेपाल राष्ट्रिय पुस्तकालयको स्वरुप निर्माण गर्न थालिएको छ।

यस्तै, त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा रहेको त्रिवि केन्द्रीय पुस्तकालय देशकै सबैभन्दा ठूलो पुस्तकालय हो। यसको स्थापना वि सं २०१६ सालमा भएको हो। जम्माजम्मी १२ हजार सङग्रहबाट सुरूवात भएको यस पुस्तकालयमा हाल ४ लाख भन्दाबढि पुस्तकहरु सङग्रहीत छन्। पाठक वर्गमा अतिनै रुचाइएको यो पुस्तकालयले पनि भूकम्पका बेला धेरै चोट र घाउ सहन गर्यो। भुइँचालो पछि करिब एक वर्ष पाठक घटेपनि तर हाल यहाँ पाठकहरुको भिड देख्न सकिन्छ। त्रिवि केन्द्रीय पुस्तकालयले पटकपटक गरी विभिन्न स्वदेशी तथा विदेशी संस्थाहरुबाट पुस्तकहरु उपहारमा प्राप्त गर्दै आएको छ। पुस्तकालयले आफुसँग बढी भएका पुस्तकहरु स्वदेशभित्रका विभिन्न सामुदायिक, सार्वजनिक, कलेज आदि पुस्तकालयहरुलाई उपहार स्वरुप वितरण पनि गर्दै आएको छ।

केन्द्रिय पुस्तकालयको रुपमा रहेको यो पुस्तकालय नेपाल कै सेवासुविधा भएको पुस्तकालय हो। पुस्तकालयमा अहिले ४१ जना कर्मचारीले काम कार्यरत छन्। स्थापनाकाल भन्दा यसको आयतन बढेको कारण अनुभवी कर्मचारी नहुँदा आफुलाई काम गर्न गाह्रो भएको त्रिवी केन्द्रिय पुस्तकालयका प्रमुख इन्द्र प्रसाद अधिकारीले बताए।

यस्तै देशको एतिहासिक पुस्तकालयको श्रोणीमा आउने पुस्तकालय हो, केसर पुस्तकालय। यसको अवस्था पनि भूकम्प पछि अलि सुध्रदै गएको शिक्षा मन्त्रालय, पुस्तकालय समन्वय शाखाका प्रमुख यादवचन्द्र निरौलाले बताए। त्यस्तै, त्रिपुरेश्वरको ब्रेल लाइब्रेरी दृष्टिविहीनका लागि खोलिएको छ। उता, भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय अध्ययन गर्ने सर्वसाधारणको सबैभन्दा धेरै भिड हुने ठाउँ हो। यहाँ दैनिक सयौं पाठक आउने पुस्तकालयले जनाएको छ। लाजिम्पाट, पन्डोल मार्गको डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय राजनीतिज्ञ एवं इतिहासकार डिल्लीरमण रेग्मीको निजी संकलन हो। उनले आफ्नो अध्ययन क्रममा संकलन गरेका पुस्तक, पत्रपत्रिका र पुरातात्विक सामग्री यहाँ सुरक्षित छन्।

पुस्तकालय समन्वय शाखाका प्रमुख निरौलाका अनुसार असनको प्रदिप्ता पुस्तकालय, कीर्तिपुरको बाघभैरव पुस्तकालय, बांगेमुडाको विप्लवी पुस्तकालय, चाबहिलको मित्र वाचनालय, कालिमाटीको युवक अध्ययन मन्दिर, जमलको केन्द्रीय कानुन पुस्तकालय र कुलेश्वरको सगरमाथा सार्वजनिक पुस्तकालय पनि क्रियाशील छन्। यहाँ विद्यार्थी, सरकारी कर्मचारी, नीति निर्माता, योजनाकार, अनुसन्धानकर्ता र सर्वसाधारणदेखि विदेशी पनि आउँछन्। पुस्तकालयमा बालबालिका, युवा र वृद्धवृद्धाका छुट्टाछुट्टै शाखा छन्। ती शाखामा उमेर अनुसार सम्बन्धित पुस्तक पाइन्छन्। त्यस्तै, नयाँबानेश्वरको रत्न पुस्तकालयमा साहित्यसँग सम्बन्धित पुस्तक पाइन्छन्। यीनीहरुमा पनि पाठकहरुको राम्रै जमात पुग्ने गरेको छ।

यसबाहेक काठमाडौंका पाठकले कमलादीको आशा सफू गुठी, ठैंटीको नेपाल मैत्री स्टडी ग्रुप, रानीपोखरीको नेपाल शिक्षा परिषद, नैकाप ग्रामीण पुस्तकालय, रामशाहपथको पञ्च पुस्तकालय, जोरपाटीको प्रगती पुस्तकालय, मखनको बज्र पुस्तकालय, बालाजुको बाल वाचनालयमा गएर पनि पढ्न सक्छन्। ‘बढीभन्दा बढी पुस्तकालय स्थापना होस् भन्नेमा हामी जोड दिइरहेका छौं,’ पुस्तकालय समन्वय शाखा प्रमुख निरौलाले भने, ‘पछिल्लो समय ‘एक स्थानीय तह, एक नमूना पुस्तकालय’ को अवधारणा अनुसार काम भइरहेको छ।’

विभिन्न उतारचढाव पार गर्दै आएका काठमाडौंका सामुदायिक पुस्तकालयले जसोतसो खुट्टा टेक्ने प्रयास गरिरहेका छन्। तर जनतामा पुस्तकालय चेतनाको कमी, दिगो आर्थिक स्रोतको कमी, निम्नस्तरको शैक्षिक सामग्रीहरुको संकलन हुनु, अनुभवी कर्मचारीको अभाव जस्ता समस्यासँग भने जुझि नै रहेका छन्। सरकारको सहयोग र समुदायको सहभागितामा मात्र पुस्तकालय प्रवर्द्धन हुनसक्छ भन्दै पुस्तकालयको आधुनिकीकरण तथा विकासका लागि राज्यले पनि यस तर्फ ध्यान दिएमा सामुदायिक पुस्तकालयले अहिलेको भन्दा धेरै पाठक तान्न सक्ने थियो भन्छन्, त्रिवी केन्द्रिय पुस्तकालयका प्रमुख इन्द्र प्रसाद अधिकारी।    

प्रकाशित: २६ श्रावण २०७६ ०८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App