७ वैशाख २०८१ शुक्रबार
समाज

खलंगामा नौ महिनापछि बल्यो बिजुली

जुम्ला खलंगामा ल्याइएको डिजेल प्लान्टः डिबी/नागरिक

जुम्ला– साना जलविद्युत उपभोक्ता समितिको विद्युत बिग्रेको नौ महिना पछि जुम्ला सदरमुकाम खलंगामा बिजुली बलेको छ। बिजुलीविहीन बनेको खलंगामा डिजेल प्लान्टबाट विजुली बालिएको छ।

घुघुत्ति लघु जलविद्युत् आयोजनामा नयाँ मेसिन जडान गर्ने क्रममा नौ महिनादेखि बिजुली बन्द थियो।  निर्माणाधीन विद्युतगृहमा नयाँ मेसिन जडानकै क्रममा बेरिङ भाँचिएपछि नौ महिनादेखि अँध्यारो जुम्लाको सदरमुकाम खलंगामा डिजेल प्लान्टका माध्यमबाट बिजुली बलेको हो।  साना जलविद्युत् उपभोक्ता समिति जुम्लाका अध्यक्ष विष्णुबहादुर बुढ्थापा अल्पकालीन बिजुली समस्या समाधानका लागि डिजेल प्लान्ट ल्याइएको बताउँछन्। प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतको सांसद विकास कोषको रकम खर्च हुनेगरी डिजेल प्लान्टबाट बिजुली बालिएको हो। सांसद महतले चन्दननाथ बहुद्धेशिय सहकारी संस्था लिमिटेड जुम्लाबाट १० जनाको नामबाट क्रण निकालेर डिजेल प्लान्ट जुम्ला ल्याएका हुन्। आगामी आर्थिक बर्षको सांसद बिकास कोषको अख्तियारी आउने बित्तिकै क्रण तिर्ने सहमति गरिएको छ।

भारतीय राजदूतावासको सहयोगमा लघु जलविद्युत् आयोजनामा मेसिन जडान क्रममा बेरिङ भाँचिएपछि मेसिन मर्मत हुन्जेलसम्म डिजेलबाट बिजुली बाल्नुपर्ने अवस्था आएको बिद्युत उपभोक्ता समितिका अध्यक्ष बुढ्थापा बताउँछन्।  दुई सय केभी (१६० किलोवाट)को मेसिनबाट बिजुली उत्पादन गरी सदरमुकाममा आपूर्ति गरिएको छ। सांसद महतले जुम्ला सदरमुकाम बत्तीविहीन भएपछि सरकारी कामकाजदेखि सर्वसाधारण अँध्यारोमा बस्न बाध्य थिए। कर्णालीको सदरमुकाम जस्तो ठाउँमा बिजुली नहुँदा समस्या भएको थियो।

उपभोक्ताले पुरानै दस्तुर महिनाको ८० रुपैयाँमा बिजुली बाल्न पाउने व्यवस्था गरिएको छ। सरकारी तथा गैरसरकारी कार्यालय र उद्योग सञ्चालन गर्ने व्यक्तिहरूलाई विद्युत् महसुलमा बृद्धि गरिने भएको छ। उपभोक्ता समितिका अध्यष बुढ्थापा भन्छन्,‘सर्वसाधारण उपभोक्तालाई मर्कामा पार्दैनौँ,संस्थागत कार्यालयलाई महसुल बृद्धि गछौँ।’

बिग्रिएको बेयरिङ मर्मत गर्न झण्डै दुई महिना लाग्ने भएको छ। दुई महिना सम्म डिजेल प्लान्टबाट बिजुली आपुर्ति हुनेछ। भारतीय दूतावासले दुई करोड ६३ लाख ७७ हजार रुपैयाँ सहयोग गरेको थियो। नेपाल विद्युत् प्राधिकरणले खलंगामा बिजुली बाल्नका लागि तीन सय केभीको डिजेल प्लान्ट उपलब्ध गराउने भएको छ । प्राधिकरणले एकजना अधिकृतस्तरको कर्मचारीसहित डिजेल प्लान्ट उपलब्ध गराउने भएको प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले बताए। महतले संसदमा जुम्लामा बिजुली समस्याका बारेमा बोलेपछि बिद्युत प्राधिकरणले तत्काल डिजेल प्लान्ट पठाईदिने निर्णय गरेको हो।

जुम्लामा युवाले नेपाल सरकार र स्थानीय सरकारलाई सडकमै दियालो बाल्नुका साथै चिम उपहार दिँदै बिजुलीको दीर्घकालीन व्यवस्था गरिदिन माग गर्दै आइराखेका थिए।  सदरमुकाम खलंगामा २ हजार ८ सय ग्राहक छन्। गाउँमा झिलिमिली हुँदा सदरमुकाम अन्धकार हुनु निकै दयनिय भएको स्थानीय बताउँछन्। सरकारले जुम्ला सम्म राष्ट्यि प्रसारण लाईन जडान गर्न टेण्डर खोलिसकेको छ। अबको दुई बर्ष सम्म लाईन जडान भईसक्ने प्रतिनिधि सभा सांसद गजेन्द्रबहादुर महत बताए।

 

प्रकाशित: २३ श्रावण २०७६ ०८:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App