८ वैशाख २०८१ शनिबार
समाज

४० हजार नक्कली नोटसहित एक पक्राउ

उदयपुर– उदयपुरबाट एक किशोर ४० हजार नक्कली नोटसहित बुधबार पक्राउ परेका छन्। चौदण्डीगढी नगरपालिका–५, शिवाईका १६ वर्षीय अनिल मीयाँ बुधबार बिहान एक हजार रुपैयाँका ४० वटा नक्कली नोटसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीबाट बरामद ४० वटा हजारका नोटमध्ये एउटा च्यातिएको पाइएको छ भने बाँकी नयाँ नोट छन्। प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार मंगलबार साँझ चौनपा–५, शिवाईबजार आएका मीयाँले स्थानीय नैनादेवी चौधरीको पसलमा एक सय ४० रुपैयाँको उपभोग्य सामान खरिद गरेपछि हजारको नोट दिए, पसलेले खुद्रा नभएको भन्दै फर्काइदिए।

त्यसपछि उनी नजिकैको पर्वत गुप्ताको अर्को पसल गएर मोबाइलको रिचार्ज कार्ड मागे र त्यही नोट थमाए। तर, गुप्ताको हातमा नपर्दै उनी आफैंले नक्कली नोट भएको भन्दै च्यातेर फाल्न खोजेको देखेका स्थानीयले यसबारे प्रहरीलाई खबर गरेपछि उनी पक्राउ परेका हुन्।

उदयपुर प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार स्थानीयको खबरपछि टोली खटाएर बुधबार बिहान उनलाई घरबाटै नोटसहित नियन्त्रणमा लिइएको हो।

नक्कली नोट खेलाएको पाइएपछि मीयाँलाई नियन्त्रणमा लिएर सोधखोज गर्दा उनको घरमा राखेको अवस्थामा थप ३९ वटा हजारका नोट बरामद भएको हो। प्रारम्भिक बयानमा मीयाँले नक्कली नोट जिल्ला बाहिरका मान्छेले ल्याएर दिएको बताएका छन्। मीयाँलाई इलाका प्रहरी कार्यालय बेलटारको हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको एसपी मगरले बताए।

प्रकाशित: २२ श्रावण २०७६ ०९:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App