२० श्रावण २०७७ मंगलबार
समाज

सोनाशक्ति चामलको गुणस्तरमा आशंका, ल्याब पठाइयो

मिसावट युक्त भनिएको चामल अनुगमन गर्दै । तस्विरः नागरिक

गोरखा– गोरखा सदरमुकामस्थित विपिचोक नजिकैको एक घरमा उपभोगका लागि ल्याइएको रिपुराज एग्रो प्रालिले उत्पादन गरेको सोनाशक्ति चामल खान योग्य नभएको आशंकापछि चेकजाँच गर्न ल्याब पठाइएको छ।

कृष्ण श्रेष्ठले घरमा पकाएको खाना प्लास्टिकको चामल भएको आशंकामा डल्लो पारेर हेर्दा अन्य चामल भन्दा फरक भएको, स्वाद नभएको पाएपछि प्रशासनमा खबर गरेका थिए।

जिल्ला प्रशासन कार्यालय, गोरखा नगरपालिका र उपभोक्ता हित संरक्षण मञ्च गोरखाको टोलीले अनुगमन पछि चामल खान योग्य रहे, नरहेको बारे चेकजाँच गर्ने निर्णय गरेको हो। प्रयोगशाला परीक्षणका लािग खाद्य प्रविधी तथा गुण नियन्त्रण विभाग डिभिजन कार्यालय दमौली पठाइएको जिल्ला प्रशासन कार्यालयका अधिकृत गौतम भण्डारीले बताए। चामल बिक्रेता जनमुखी उपभोक्ता सहरकारीलाई पनि अनुगमन समितिले बिक्री नगर्न निर्देशन गरेको उनले बताए। ल्याव परीक्षणपछि खान योग्य भए नभएको, मिसावट नभए नभएको थाहा लाग्ने छ।

उपभोक्ताहित संरक्षण मञ्च गोरखाका अध्यक्ष किशोरजंग थापाले उक्त चामलमा मिसावट हुने सक्ने बताउँदै भने ‘उपभोक्ताको स्वास्थ्यमा फरक–फरक तरिकाले खेलवाड भईरेको छ, रिपोर्टका आधारमा अस्वस्थकर छ भने कम्पनीबाट उत्पादन नै रोक्नुपर्छ, बजारमा आएका खाद्यान्न आउनु अगावै चेकजाँच गर्ने संयन्त्र बलियो हुनुपर्छ।’ नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले गुणस्तर हिन खाद्यान्न वा केही खाद्य पदार्थ भेटेमा, उपभोग गर्दा आशंका लागेमा प्रहरी, नगरपालिका र प्रशासनमा खबर गर्न उपभोक्ता सचेत हुन आवस्यक रहेको बताइन।

उक्त चामल भारतमा बनेको र उत्पादन गर्ने कम्पनी पनि भारतीय रहेको बोरामा लेखिएको छ। २० किलो उक्त चामलको प्रतिबोरा मूल्य एक हजार छ सयमा उपभोक्ताले खरिद गरी गोरखा सदरमुकाम र ग्रामिण बजारमा पनि प्रयोग गर्दै आएका छन्।

प्रकाशित: २० श्रावण २०७६ १६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App