८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

सर्पलाई बचाउँ, सर्पबाट बचौं अभियान सुरु

तस्वीरः सर्पको धार्मिक एवं वैज्ञानिक महत्व विषयक राष्ट्रिय कार्यशालामा सर्प प्रदर्शन गर्दै यमलाल भण्डारी र डा. देव प्रकाश पाण्डे। तस्वीरः नागरिक

पाल्पा - आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी तिथि।  हिन्दु धर्मावलम्बीहरुले घरको ढोकामाथि नागको चित्र टाँसी गाईको दूध, फूल अक्षताको साथमा गाईको गोबरसहित नागको पूजा अर्चना गरी मनाउँदै छन्।  नागपञ्चमीको दिन बिहानै उठी स्नान गरी दिप, कलश, गणेशको पूजा गरी ढोकामा नाग टाँस्नाले सर्प वा नागको भए हुँदैन भन्ने धार्मिक मान्यता रहेकोछ।

वातावरण सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको सर्प पछिल्लो समयमा लोप हुँदै गइरहेको अभियानकर्मीले चिन्ता व्यक्त गरेका छन्।  सर्प बचाउँ, सर्पबाट बचौं अभियानका अभियानकर्मीहरुले नागपञ्चमीलाई अन्तर्राष्ट्रिय सर्प दिवसको रुप दिन माग गरेका छन्।  सर्पको धार्मिक एवं वैज्ञानिक महत्व विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा सहभागी अभियानकर्मीहरु यस्तो बताएका छन्। 

प्रदेश नं. ५ र गण्डकी प्रदेशको बिचमा अवस्थित उत्तरवाहिनी क्षेत्रमा भएको कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले परापूर्वकालमा ऋषिमुनीहरुले सर्प संरक्षण गर्न नागपञ्चमी मनाउँदै आएको बताए।  उनी भन्छन्, ‘सर्पलाई हामीले समस्याका रुपमा लिने गरेका छौं।  यसले प्रकृतिको संरक्षण गरिरहेको हुन्छ।  सर्पले आँफै त्यसै कहिल्यै डस्दैन।  यसले वातावरण संरक्षण गरिरहेको हुन्छ।’

‘गण्डकी प्रदेश नदीहरुको धनी भएकै कारण गण्डकी नामाकरण गरिएको हो।  नदीनालाहरुको सही सदुपयोग गर्न सके पर्यटनको राम्रो विकास हुन्छ, पर्यटनमन्त्री लम्सालले भने, धार्मीक, सांस्कृतिक तथा पर्यटकीय विकासले देशलाई गति दिन सक्छ। ’ सर्प बचाउँ र सर्पबाट बचौं अभियान सञ्चालन गर्दै आउनुभएका धार्मीक गुरु चैतन्य कृष्णले नागपञ्चमीलाई अन्तर्राष्ट्रिय सर्प दिवसका रुपमा मनाउन कार्यशाला आयोजना गरिएको बताए।  उनी भन्छन्, ‘बढ्दो शहरीकरण र मानिसको नकारात्मक सोचले सर्पको जीवन खतरामा पर्ने गरेको छ।  मानिस त्यसै डराउने हुनाले देख्नेबित्तिकै सर्पलाई मार्छन्।  मानिसमा सर्पको आनीबानीबारे ज्ञान नहुँदा नकारात्मक सोचले सर्पको ज्यान खतरामा पर्ने गरेको छ।  धार्मीक रुपमै पनि सर्प संरक्षण गर्न नागपञ्चमी मनाईंदै आएको हो।  अब जुलाई २६ लाई होईन, श्रावण शुक्ल पञ्चमीलाई सर्प दिवसको रुपमा मान्यता दिनुपर्छ।’

सर्प विशेषज्ञ डा. देव प्रकाश पाण्डेले नागपञ्चमीलाई अन्तर्राष्ट्रिय सर्प दिवसको रुपमा मनाउनु आवश्यक रहेको बताए।  ‘सर्पको विषयमा अध्ययन गर्दै जाँदा अधिकांश सर्पहरु विषालु हुँदैनन्।  विषालु सर्पले टोक्दैमा पनि अचानक मृत्यु हुँदैन।  असावधानीका कारण समस्या निम्तने हो, डा. पाण्डेले भने, हामीले पहिलेदेखी नै घरमा नागराजको पूजा त्यसै गर्दै आएका होईनौं।  प्रकृति र यहाँका जीवजन्तुलाई पनि उत्तिकै माया गर्नुपर्छ।  यसको वैज्ञानिक महत्व छ।’

कार्यशालामा कार्यपत्र प्रस्तुत गर्दै सर्प बचाउँ अभियानमा अभियान्ता डा. प्रमोद ढकालले सर्प मानिसको हितौषी साथी भएको बताए।  उनी भन्छन्, ‘सर्पले इकोलोजिकल सिष्टममा सहयोग पु-याईरहेको हुन्छ।  हामी सर्प देख्ने बित्तिकै आत्तिन्छौं।  भाग्छौं।  मार्छौं।  तर यसरी उत्तेजित हुनु हुँदैन।  सर्पले जीवनयापनका लागि हिँडडुल गरिरहेको हुन्छ।  यसले केही गर्दैन। ’ उनले बाउबाजेले नै सर्पलाई जोगाउनुपर्छ भनेर नागपूजा गर्दै आएको बताए।  यसलाई सर्प दिवसको रुपमा अगाडी बढाउनुपर्छ, ढकालले भने। 

भेरी अस्पताल नेपालगञ्जका डा. कृष्ण प्रसाद आचार्यले सर्पबाट बच्न धेरै कुरा बुझ्नु आवश्यक रहेको बताए।  ‘सर्पले पहिलो कुरा टोक्न भनेर आँफै घरघरमा आउने होइन।  उनीहरुको खानेकुरा उनीहरुको बासस्थान मानिसहरु जुध्नलाग्दा ठोकिन आइपुगेका हुन्।  त्यसक्रममा हामीले सर्पलाई हानी पु-याएनौं भने उ आफ्नो बाटो लाग्छ र हामी सर्पबाट जोगिन सक्छौं, डा. आचार्यले भने, यदी सर्पलाई हानीनोक्सानी पु-याउन खोज्यौं भने त्यसको प्रतिक्रिया स्वरुप टोक्ने वा आक्रमण गर्नु स्वभाविक हो। ’ सर्पबाट बच्न झुल लगाएर सुत्ने, अध्याँरोमा लाईट बालेर हिड्ने, दुलो प्वालहरुमा हात नहाल्ने, जुत्ता तथा चप्पल लगाउँदा हेरेरमात्र लगाउने गर्ने हो भने सर्पबाट बच्न सकिन्छ।  जंगलहरुमा जाँदा पूर्वसावधानी अपनाउनु आवश्यक हुन्छ, उनले भने, सर्पले टोकीहाल्यो भने पनि नआत्तिनु राम्रो हो।  शारिर नहल्लाउने।  ब्लेड वा चक्कुले नकाट्ने र नजिकको स्वास्थ्य संस्थामा जानु उत्तम हुन्छ।  डा. आचार्यले ८० प्रतिशत सर्पहरु विषालु नहुने भएकोले सर्पले टोक्ने बित्तिकै आत्तिनु नहुने र उपचार सम्भव रहेको बताए। 

‘सर्पले टोक्नेबित्तिकै मानिस मर्छ भन्ने परम्परागत धारणा मानिसमा छ,सर्पको अध्ययन गर्नुभएका यमलाल भण्डारीले भने, यसले टोकेर मानिस मरिहाल्दैन।  असावधानी अपनाउँदा र झारफुकमा लाग्दा जोखिम बढी हुन्छ। त्यसमाथि सबै सर्प विषालु पनि नहुने भएकाले सावधानी अपनाउँदा र चाँडै अस्पताल पुग्दा विषालु सर्पले टोके पनि मानिसको ज्यान बच्छ। ’ पाल्पाको रम्भा गाउँपालिका–१, हुँगी र स्याङ्जाको गल्याङ्ग नगरपालिका–१ को एकीकृत विकास गर्ने गरि उत्तरवाहिनी कालिगण्डकी नदी किनारामा कार्यशाला चल्दै छ।  मानवीय कारण नै सर्प लोपोन्मुख बन्दै गएको अनुसन्धानकर्ताले बताएका छन्।  नागपञ्चमी पर्व हिन्दूहरुले घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर धुमधामसंग मनाइरहँदा पनि सर्प देख्नेबित्तीकै मार्ने प्रवृत्ति कायमै छ।

कृषि तथा वन विश्वविद्यालय, रामपुर चितवनकी डीन शारदा थपलियाले सर्प त मानिसको शत्रु नभई मित्र भएको बताईन्।  सर्पको विषले औषधि बन्छ।  मुसा खाएर किसानको बाली संरक्षणमा समेत सर्पले सहयोग पु¥याउने तथा पारिस्थितिक चक्रमा ठूलो भूमिका खेल्छ। सर्प मांसाहारी घस्रने प्रजातिमा पर्छ।  लामो शरीर हुन्छ।  खु¥ट्टा हुँदैन।  शुरुमा मान्छे देख्दा सर्प भाग्न खोज्छ।  मानिसलाई कहिल्यैपनि सर्पले आक्रमण गर्दैन।  आत्मरक्षाका लागि मात्रै सर्पले आक्रमण गर्ने सर्प उद्धार तथा संरक्षणमा लागेका युवा गायक शिशिर योगी बताउँछन्। 

नेपालमा अहिलेसम्मको अभिलेखमा ८२ प्रजातिका सर्प फेला परेका छन्।  नेपालमा पाइनेमध्ये २२ प्रजातिका सर्प विषालु रहेका छन्।  करेत, कोब्रा, भाइपर प्रजातिका सर्प बढी विषालु हुन्छ।  विश्वमा तीन हजारभन्दा बढी प्रजातिका सर्प रहेको तथ्यांक छ।  कार्यशाला सोमबारसम्म सञ्चालन हुदैंछ।  कार्यशालामा देशभरका ५० बढी अभियानकर्मीहरुको सहभागीता रहेको कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानले जनाएको छ।  कार्यशालाबाट सर्प बचाउनका लागि घोेषणापत्र तयार गरिने बताईएको छ। 

प्रकाशित: २० श्रावण २०७६ ०५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App