६ वैशाख २०८१ बिहीबार
समाज

त्रासैत्रासमा कर्णाली यात्रा

कर्णाली राजमार्गअन्तर्गतकाे सडकमा झरेकाे पहिराे पन्छाइँदै । तस्बिरः डिबि/नागरिक

जुम्ला– जुम्ला चन्दननाथ नगरपालिकाकी पूजा भण्डारीले सुर्खेतको यात्रा गर्ने सोच बनाइन्। उनको मनमा यात्रा निकै कष्टपूर्ण हुने त्रासले बास गरिसकेको थियो। तर, यात्रा नगरी सुख पनि थिएन। उनी लोकसेवा आयोगको परीक्षाका लागि सुर्खेत झर्दै थिइन्।

यात्रा गर्नुपूर्वनै उनलाई लागिसकेको थियो कि बीचमै अलपत्र परिन्छ भन्ने। नभन्दै उनले जुम्ला खलंगादेखि यात्रु सुरु गरेको झण्डै दुई घण्टामै पहिरो बेहोर्नु प-यो। पहिरोका कारण झण्डै चार घण्टा बाटोमै बिताउनु प¥यो। साँझ ५ बजेसम्म सुर्खेत पुगिसक्ने भए पनि उनी राति १० बजे पुगिन्। पहिरो गएको स्थानमा न फोन नेटवर्क थियो, न त खाने बस्ने राम्रो प्रबन्धनै। पानीसमेत पिउने अवस्था नरहेको यात्रु बताउँछन्।

तिलागुफा नगरपालिका–८, तलीवन र खाँडाचक्र नगरपालिका–१०, चौखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग झण्डै चार घण्टा बन्द भयो।  सुर्खेत, नेपालगन्जदेखि जुम्ला कालीकोट र कालीकोट जुम्लादेखि सुर्खेत नेपालगन्जसम्म जान लागेका यात्रु बाटोमै अलपत्र परे।

यो राजमार्गमा सानातिना ढुंगा खस्नेदेखि पहिरो झर्ने दैनिकीजस्तै बनेको छ। तर, सरकार पहिरो पन्छाउनका लागि आवश्यक जनशक्ति र औजार उपकरणका साथ बसेको भेटिँदैन। कतिपय स्थानमा त चालकले एक÷एक हजार रुपैयाँ उठाएर डोजर गुहारेर सडक खुलाउनुपर्ने अवस्था छ।

कर्णालीको कालीकोट खण्डमा निकै ठूलो पहिरो खस्ने भएकाले यात्रा अनिश्चित हुने गरेको यात्रु बताउँछन्। उनीहरुले कर्णाली सडकमा पहिरो जाने सम्भावित खण्डमा सरकारको ध्यान पुग्नुपर्ने बताए। कर्णाली सडकको स्तरोन्नति गर्न र कर्णालीवासीको यात्रा सर्वसुलभ र सुरक्षित बनाउन माग गरेका छन्।

कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की कर्णाली राजमार्गको घट्टेखोला, दहिखोला, गगनेखोला, कालेखोला, सुनारखोला, मोल्फा बजार, पिली, चौखोला, खल्लागाड, तलीवनलगायतका दर्जनौँ ठाउँमा दैनिकरूपमा पहिरो गइरहेको बताउँछन्। उनले भने, ‘विगतका वर्षहरूमा हप्तौंसम्म सडक बन्द हुन्थे। यो वर्ष निरन्तर एक सातासम्म पनि सडक बन्द हुन दिएका छैनौँ।’

सडक खण्डमा पहिरो पन्छाउन आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ। राजमार्ग छेउछाउमा रहेका प्रहरीलाई सडकमा आइपर्ने समस्या समाधान गर्न निर्देशन गरिएको छ। यसअघि कालीकोटको कालेखोलामा यो वर्षको ठूलो पहिरो जाँदा चार दिनसम्म कर्णाली राजमार्ग चलेको थिएन।

४० मिटर सडक खण्डमा पहिरो गएकोमा १० मिटरमा सडकको निशाना थिएन। नयाँ ट्रयाक खोलेर सडक खुलाइएको डिभिजन सडक कार्यालय जुम्लाले जानकारी दिएको छ। कर्णाली राजमार्गका विभिन्न स्थानमा स्काभेटर, डोजर र जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने स्थानीय बताउँछन्। सुर्खेतदेखि जुम्लासम्मको दुई सय ३६ किलोमिटर सडकमध्ये कालीकोट खण्डको सडक निकै जोखिमपूर्णनै छ।

कर्णाली राजमार्गअन्तर्गतकाे सडकमा झरेकाे पहिराे पन्छाइँदै । तस्बिरः डिबि/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App