१६ चैत्र २०८० शुक्रबार
समाज

‘अपहरणकारीलाई जोगाउन पीडित उपर नै मुद्दा’

शनिवार पत्रकार सममेलन गर्दै उपनिवेशका आमा–बुवा र साथमा वडा अध्यक्ष चौरसिया । तस्विरः रितेश त्रिपाठी

वीरगन्ज– पर्सा प्रहरीले अपहरणकारीलाई जोगाउनका निम्ति अपहरणमा परेका युवालाई नै पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको पीडितका परिवारजनले आरोप लगाएका छन्। अपहरणकारीको कब्जाबाट फुत्किएर आफैं प्रहरीकहाँ पुगेका उपनेश चौरसियालाई प्रहीले फसाउन खोजेको उनका पिता जंगबहादुर चौरसिया, आमा सौखरानी देवी र परिवारका अन्य सदस्यले नेपाल पत्रकार महासंघ पर्सा शाखामा पत्रकार सम्मेलन गर्दै आरोप लगाए।

पचास बढी स्थानीय सर्वसधारणसहित सदरमुकाम वीरगन्ज आइपुगेका उनीहरुले अपहरणमा संलग्न व्यक्तिलाई पर्सा प्रहरीले बचाएर छोरालाई फसाएको आरोप लगाए। पर्साको विन्दवासीनी गाउँपालिका–४ मधवलका २८ वर्षीय उपनिवेश मंगलबार अपहरित भएको र बुधवार अपहरणकारीको कब्जाबाट भागेको परिवारजनले बताएका छन्। गाउँकै उत्तम भनिने निरन्जन तिवारी र पर्साको डकैला बहुअरी घर भई मधवलमा बस्दै आएका एजाजुल मियाँले चौरसियाको अपहरण गरेको पिता जंगबहादुरले बताए। घटना विवरण अनुसार मंगलबार दिउँसो तिवारीले ‘तिम्रो साथी सोनु दासलाई तिम्रै रोहबरमा सापटीको २५ हजार रुपैयाँ फिर्ता दिनुछ’ भनी उपनेशलाई घण्टाघर बोलाएका थिए। रक्सौलमा मान्छेले पैसा दिनेवाला छ, लिन जाउँ भनी झुक्याएर उपनिवेशलाई तिवारीले सिमापारी रक्सौल लगेको जंगबहादुरले बताए। करिब दिउँसो २ बजे उनीहरु वीरगन्जको घण्टाघर चोकबाट एउटै मोटरसाइकलमा मिँयासहित तीन जना चढेर गएको गाउँकै प्रत्यक्षदर्शीले बताए। सापटी पैसा लिनेवाला ब्यक्ति सोनु भने टेम्पुमा रक्सोल पुगेका छन्। 

सिसिटिभी फुटेजले घट्ना उजागर

चिनजानको कारण बिश्वासमा हिडेका उपनिवेश साथीबाट नै अपहरणमा परेको देखिएको विन्दवासनी गाउँपालिका ४ का वडाध्यक्ष अनोज कुमार चौरसियाले बताए। रक्सौलमा ३ वटा बेग्लाबेग्लै ठाउँमा रहेको सिसिटिभी फुटेज त्यहाँस्थित बिहार प्रहरीले जाँच गरेपछि सिलसिलेवार घट्नाक्रम उजागर भएको छ। त्यहाँस्थित श्याम इन्टरनेशनल होटलमा लगेर उनीहरुले उपनिवेशलाई राखेका थिए। त्यहाँको सिसिटिभी फुटेजमा पहिले सोनु पुगेको, पछाडीबाट मोटरसाइकलमा बाँकीका ३ जना आइपुगेको अनि तिवारीले आफ्नो पर्सबाट होटेलको पैसा तिरेको र  चानचुन फिर्ता लिएर पर्समा हालेको, अनि आफूसँग भएको परिचयपत्र होटेलको ‘रिसेप्सन’लाई दिएको लगायत दृश्य फेला परेको छ। उनले पेश गरेको परिचयपत्र आफ्नो नभई अरुको (त्यहाँ उपस्थित नभएको ब्यक्ति)को दिएको पाइएको छ। होटेलको रेकर्ड अनुसार तिवारीले परमानन्द प्रसाद तेली भन्ने ब्यक्तिको सवारी चालक अनुमतिपत्रको फोटोकपी दिएका रहेछन्। 

केही बरेपछि तिवारी होटेलबाट बाहिर गएर आधा घण्टापछि फर्किएको देखिन्छ। त्यसपछि एजाजुलको मोटरसाइकलमा उपनिवेश बसेको र तिवारी पैदलै निस्किएको देखिन्छ। रक्सौल थानाको सिसिटिभी फुटेजमा पनि उनीहरु सडकमा गइरहेको देखिन्छन्। गण्डक चोकमा उक्त मोटरसाइकल एजाजुलले बिस्तारै गरेको र तिवारी पछाडिबाट बसेको देखिन्छ। यसपछिको घट्नाको फुटेज छैन। उपनिवेशले आफैं बताएका छन्। अर्को दिन उपनिवेश परिवारको सम्पर्कमा आए। बेतियाबाट आफू भाग्न सफल भएको बताएका छन्। रक्सौलकै बाइपास सडकमा लगेर भारतीय नम्बरको चारचक्के गाडीमा आफूलाई बलजफ्ती बसालेको र बिरोध जनाउँदा ‘इनजेक्सन’ दिएको उनलाई उद्दृत गर्दै बुवा जंग बहादुरले बताए। उपनिवेशको हातको नशामा सुई दिएको प्वालको ताजा दागहरु देखिएको छ। पिठ्युमा चोटपटकको दाग छ। प्रहरीले गराएको घाउँ जाँचमा त्यो सबको बिवरण उल्लेख नभएको भनी स्थानीयले आक्रोश जनाए। जंग बहादुरका अनुसार अपहरणकारीले उपनेशलाई निर्घात कुटपिट गर्नुका साथै मोबाइल र नगदसमेत लुटेका छन्। फिरौती वापत ७० लाख रुपैयाँ नदिए छोराको ज्यान मार्ने धम्की समेत दिएको उनले दावी गरे। 

फर्केर आएका उपनेशले घटनाबारे जानकारी दिएपछि आफूले उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा लिएर आएको वडाध्यक्ष चौरसियाले बताए। प्रहरी कार्यालयमा उपस्थित हुनसाथ प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौंरले अपहरणको झुठो अफवाहा फैलाई राज्यको श्रोत साधनको दुरुपयोग गरेको भन्दै उल्टै उपनेशमाथि सार्वजनिक मुद्दा दर्ता गरेको उनले बताए। प्रहरीले बिहीवार एउटा प्रेस बिज्ञप्ति जारी उपनिवेशलाई र सोनुलाई आफैं नियन्त्रणमा लिएको जनाएको थियो। प्रहरीजस्तो राज्यको सुरक्षा निकायले यसरी लिखित झुठो बोल्नु हुँदैन भनी स्थानीयमा आक्रोश छ।  

प्रहरी नायब उपरीक्षक अनन्तराज शर्माले अपहरणको अफवाह फैलाएर समाजलाई त्रसित बनाउने काम गरेकोले उपनिवेश र उनका सहयोगीलाई समातेर मुद्दा चलाएको बताए। अपहरणको नाटक गरेर सुरक्षा ब्यवस्थाप्रति शंका पैदा गराउन खोजेको भन्दै कानुनी कारवाही गरिने बताए। ‘यदि यो घट्ना अपहरण नभई नाटक हो भनी यस नाटकका बाँकी पात्र खोई?’ स्थानीयले प्रश्न गरे, ‘बाँकीलाई अहिलेसम्म प्रहरीले किन समातेन?’ राजनीतिक दबावमा अपहरणकारीलाई उम्काउन खोजेको उनीहरुको आरोप छ। परिवारजन तथा स्थानीयको भनाईमा ‘अपहरण’ र प्रहरीको दावीमा ‘अपहरणको नाटक’ रहेको यस घट्नामा संलग्न अरु ब्यक्तिहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। 

प्रकाशित: १८ श्रावण २०७६ १५:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App