७ वैशाख २०८१ शुक्रबार
समाज

हाते औजारले बालुवा निकाल्न पाउनुपर्ने माग

हाते औजार प्रयोग गरी नदीबाट बालुवा झिक्न पाउनुपर्ने माग राखेर जिल्ला प्रशासन कार्यालयमा आएका श्रमिक। तस्बिर: नागरिक

नुवाकोट - नदीबाट हाते औजार प्रयोग गरी बालुवा निकाल्न पाउनुपर्ने माग राखेर श्रमिकहरुले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्ञापनपत्र बुझाएका छन्। जिल्ला अनुगमन समन्वय समितिले असारदेखि भदौसम्म मेसिनरी औजार (स्काभेटर) बाट नदीजन्य पदार्थ उत्खनन गर्न प्रतिबन्ध लगाए पनि स्थानीय श्रमिकले हाते औजारबाट बालुवा झिकेर बिक्रिवितरण गर्दै आएका थिए।  श्रमिकहरुले कोदालो, साबेलको सहयोगमा बालुवा निकालेर डोको÷थुन्चेमा ओसारेर भण्डारण गर्दै आए पनि प्रहरी प्रशासनले गरिखान नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्ञापनपत्र बुझाएका हुन्।

वर्षौंदेखि बालुवाबाट आयआर्जन गर्दै आएका बेलकोटगढी नगरपालिका–७ कि एक महिलाले भनिन्, ‘हामी ७–८ जनाको समूह भएर थुन्चे÷डोकोमा बालुवा निकाले बेचेर आयआर्जन गर्छौं।  परिवार पाल्नुपर्छ।  अरु काम गर्न अवसर छैन।  बाध्यताले बालुवा निकाल्दा पनि प्रहरी आएर घोप्टाउन लगाउँछ। ’ उमेरले ६० वर्ष नाघेकी उनले थपिनन्, ‘दैनिक हजार पन्ध्र सय कमाइन्थ्यो।  अहिले त त्यो बाटो नि छैन। ’

कानुन पालना गरेर बालुवा निकाल्दै आएको तर प्रहरीले गरिखान नदिएको ज्ञापनपत्रमा उल्लेख छ।  बालुवा झिकेर बेच्न थुपारेको ठाउँमा प्रहरीले हस्तक्षेप गरेको रातमाटेका शम्भु सिग्देलले बताए। जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ र प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल कार्यालय बाहिर रहेकाले केही दिनपछि यस विषयमा छलफल गरिने बताइएको छ।

प्रकाशित: १७ श्रावण २०७६ ०१:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App