५ वैशाख २०८१ बुधबार
समाज

स्वर्गद्वारीको जग्गा हडप्न फेरि चलखेल

काठमाडौं - सरकारले गुठी विधेयक फिर्ता लिए पनि प्युठानमा रहेको स्वर्गदारी आश्रमको १ हजार १ सय बिघ जग्गा हडप्न फेरि चलखेल सुरु भएको छ।

विभिन्न नाममा जग्गा हडप्ने चलखेल भएपछि त्यसलाई रोक्न आश्रमका पुजारी, महात्मा, कर्मचारी अहिले काठमाडौं आएका छन्।  उनीहरूले आश्रमको जग्गा जोगाउन वकिल तथा पूर्वप्रशासकसँग भेटी परामर्श सुरु गरेका छन्। स्वर्गद्वारी आश्रमका सचिव ध्रुवश्रीले गुठी विधेयक फिर्ता भए पनि आश्रमको जग्गा हडप्न विभिन्न किसिमका जालेझल सुरु भएको बताउँदै जालझेल रोक्न आफूहरू काठमाडौं आएको बताए।  उनले भने, ‘स्वर्गद्वारी आश्रम जस्तो पवित्र थलोलाई बदनाम गराउन गिरोह लागेको छ।  गिरोहको खेल जग्गा हडप्न लक्षित छ। ’ आश्रमको जग्गा जोगाउन लाग्नुपर्नेमा सरकारले उल्टै भूमाफियालाई सघाउने किसिमका गतिविधि गरेको उनको आरोप छ।  उनले भने, ‘त्यसैले हामीले मन्त्रीलाई विश्वास गरेका छैनौ।  प्रशासक र कानुनविद्लाई भेटेर जग्गा संरक्षण गर्न कानुनी बाटो खोजिरहेका छौं। ’

स्वर्गदारी आश्रको जग्गा एक हजार एक सय बिघा छ।  त्यसमध्ये ८० देखि एक सय बिघामात्र आश्रमले उपभोग गरेको छ।  करिब ३ सय बिघा जग्गा अतिक्रमण भएको सचिव धु्रवश्रीले बताए।  बाँकी जग्गामा खेती गर्दै आएका किसानहरूले पनि निकै कम कुत बुझाउँछन्।  आश्रम सञ्चालन गर्न एक वर्षमा करिब ८ करोड रूपैयाँ खर्च हुने आश्रमले जनाएको छ।  जसमध्ये किसानले वर्षमा १५ लाख देखि २० लाख रुपैयाँसम्म आयस्ता बुझाउँछन्।  सचिव धु्रवश्रीले भने, ‘स्वर्गदारीको जग्गा उपभोग गरेका किसानमध्ये ४० प्रतिशतले मात्र कुत बुझाउँछन्।  ६० प्रतिशत किसानले कुत नै बुझाउँदैनन्। ’ किसानले कुत नबुझाउँदा आश्रम सञ्चालन गर्न कठिन भएको महात्माहरू बताउँछन्।
आश्रममा महात्मा, पुजारी, प्रभु, कर्मचारीलगायत १ सय ५० जना छन्।  यसैगरी ३ सय विद्याथी स्वर्गदारी आश्रमले सञ्चालन गरेको स्कुलमा अध्ययन गर्छन्। 

विभिन्न नाममा जग्गा हडप्ने चलखेल भएपछि त्यसलाई रोक्न आश्रमका पुजारी, महात्मा, कर्मचारी अहिले काठमाडौं आएका छन्।  उनीहरूले आश्रमको जग्गा जोगाउन वकिल तथा पूर्वप्रशासकसँग भेटी परामर्श थालेका छन्।

आश्रमका अनुसार आश्रमको जग्गाका २ सय ८९ जना मोही छन।  धेरैजसो मोहीले धान र तोरीको आयस्ता आश्रमलाई बझुाउँदैनन्।  आश्रमले पाउनुपर्ने १६ हजार ३ सय ३५ क्विन्टल धान तथा ४सय १८ क्विन्टल तोरी बक्यौता रहेको आश्रमले जनाएको छ।  आश्रमका अनुसार २०६४ सालसम्म सबै मोहीले जग्गाको आयस्ता आश्रमलाई बुझाउँदै आएका थिए तर त्यसपछि ४० प्रतिशत मोहीले मात्र आयस्ता बुझाएको आश्रमले जनाएको छ।  आश्रमका कर्मचारी २०५८ सालबाट नै राजगुठी बनाई स्वर्गदारीको जग्गा हडप्ने खेल सुरु भएको बताउँछन्।  यस्तो काममा विभिन्न दलका नेता नै सक्रिय भएको आश्रमका कर्मचारीको भनाइ छ।  सचिव ध्रुवश्रीले भने, ‘स्वर्गद्वारी आश्रम स्वदेशभित्र र बाहिरका सबै हिन्दुको पवित्र धार्मिक तीर्थस्थल हो।  यस्तो स्थलमाथि प्रहार गर्नेविरुद्ध सरकार र नागरिक सचेत हुनुपर्छ। ’

काठमाडौं आएका आश्रमका महात्मा तथा कर्मचारीले बिहीबार रिपोर्टर्स क्बलमा पत्रकार सम्मेलन गरी आश्रमको जग्गा जोगाउन सहयोग गर्न सबैलाई आग्रह गरे।  आश्रमका नाममा रहेको जग्गाको लालपुर्जा आश्रमसँग रहेको उनीहरूले बताए।  आश्रमका अनुसार आश्रमले विभिन्न समयमा दाङलगायत विभिन्न ठाउँमा जग्गा खरिद गरेको थियो।  श्रीमहाप्रभुले विभिन्न व्यक्तिहरुसँग जग्गा खरिद गरी स्वर्गद्वारी आश्रम बनाएको आश्रमको भनाइ छ।  सचिव सचिव ध्रुवश्रीले भने, आश्रमले कसैको जग्गा हडपेको होइन।  खरिद गरेर जोडेको हो। ’ उनका अनुसार हरेक वर्ष दुई लाखभन्दा बढी भक्तजन आश्रममा पुग्छन्।  उनीहरूको दानदक्षिणाबाट पनि आश्रम सञ्चालन गर्न सहज भएको कर्मचारी बताउँछन्।

प्रकाशित: १७ श्रावण २०७६ ०१:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App