८ वैशाख २०८१ शनिबार
समाज

प्रदेश सरकारको अगुवाईमा चौतारामा बहुप्राविधिक शिक्षालय

सिन्धुपाल्चोक- महाविद्यालयको अवधारणा अन्तर्गत प्रदेश नं. ३ सरकारको अगुवाइमा सदरमुकाम चौतारामा स्थापित दिनेश रामजी स्मृति बहुप्राविधिक शिक्षालय यसै शैक्षिक सत्रबाट सञ्चालनमा आउने भएको छ।

शिक्षालयले सिभिल र सूचना प्रविधि (आइटी) इन्जिनियरिङ विषयमा तीन वर्षे डिप्लोमा तहको पठनपाठन तयारी थालेको हो। ‘पहिलो वर्षको भर्ना प्रक्रिया अघि बढेको छ। विद्यार्थीबाट आवेदन संकलन गरिराखेका छौँ,’ शिक्षालय प्रमुख रामचन्द्र दाहालले नागरिकसँग भने। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) ले गत असारमा बहुविद्यालय सञ्चालनको सम्वन्धन प्रदान गरेको थियो।

दुबै विषयमा ४८/४८ विद्यार्थी कोटा निर्धारण गरिएको प्रमुख दाहालले जानकारी दिए। उनका अनुसार सिभिल इन्जिनियरिङमा पूर्णशुल्क ७२ र सहुलियत शुल्क ४२ हजार रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै सूचना प्रविधितर्फ पूर्णशुल्क ६० र सहुलियत शुल्क ४२ हजार रुपैयाँ कायम गरिएको छ। ‘अन्यत्रभन्दा यो निकै सस्तो शुल्क हो,’ उनले भने। बहुविद्यालयले प्रदेश सरकारबाट अनुदान पाउने भएकाले सुलभ शुल्क निर्धारण गरिएको हो। एसइई र टिएसइई उत्तीर्णले दुबै विषयमा भर्ना पाउने छन्।

आफ्नै स्थायी संरचना तयार नहुन्जेल बहुविद्यालय चौतारा बहुमूखि क्याम्पसमा सञ्चालन हुने छ। यसको लागि क्याम्पस र बहुविद्यालयबीच सम्झौता भइसकेको छ। साउन २२ गते प्रवेश परीक्षा लिने बहुविद्यालयले त्यसपछि पठनपाठन सुरु गर्ने प्रमुख दाहालले बताए। उनका अनुसार सिन्धुपाल्चोकसहित आसपासका काभ्रे, दोलखा, रामेछाप लगायत जिल्लाका विद्यार्थीले बहुविद्यालयबाट प्रत्यक्ष लाभ लिन सक्ने छन्। जिल्लाका १२ स्थानीय तहलाई एक/एक विद्यार्थी कोटा छुट्याइएको छ।

प्रदेश सरकारले शिक्षा क्षेत्रको गौरवको योजना अन्तर्गत मकवानपुरको हेटौँडा र सिन्धुपाल्चोकको चौतारामा दुईटा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने नीति अघि सारेको छ। महाविद्यालय स्थापनार्थ प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमै आवश्यक बजेट विनियोजन गरेको थियो।

प्रारम्भमै महाविद्यालय स्थापना गर्न खोजिए पनि प्रदेश सरकारबाट यस सम्वन्धि छुट्टै कानुन नबनिसकेकाले हाललाई            सिटिइभिटीको सम्वन्धनमा बहुप्राविधिक शिक्षालयको नामबाट पठनपाठन सुरु गर्न लागिएको सामाजिक विकासमन्त्री युवराज दुलालले बताए। महाविद्यालय नै स्थापना गर्ने उद्देश्यले सम्भाव्यता अध्ययन पूरा गरेर भौतिक संरचना र पूर्वाधार विकासको प्रक्रियासमेत अघि बढाइएको उनले जानकारी दिए। गृहजिल्लाका मन्त्री दुलालकै अगुवाइमा महाविद्यालय स्थापनाको पहल थालिएको थियो।

                ‘आगामी २०८० भित्र कृषि विज्ञान, पशु विज्ञान र हाडजोर्नी लगायत पाँच विषयको पठनपाठनका लागि पूर्वाधारको क्षेत्रमा काम अघि बढाउँदै छौँ,’ मन्त्री दुलालले भने। तत्काललाई शिक्षालयको भौतिक पूर्वाधार निर्माणको लागि प्रदेश सरकारले १७ करोड रुपैयाँ विनियोजन गरेको छ। मन्त्रालयका अनुसार यसै वर्ष टेन्डर प्रक्रियामा गएर पूर्वाधार विकासको काम सुरु हुने छ।

                सदरमुकाम चौताराको छाप, आहालडाँडा सामुदायिक वन क्षेत्रको ९५ रोपनीमा शिक्षालय संरचना बन्ने छ। वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी जग्गा प्राप्तिको प्रक्रिया वन डिभिजन कार्यालयमार्फत अघि बढेको बहुविद्यालय प्रमुख दाहालले जानकारी दिए। ‘मन्त्रालयले भौतिक संरचनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार गरिरहेको छ,’ उनले भने। शिक्षालयमा कक्षाकोठा, छात्रावास र विभिन्न ल्याबलगायत सबै सुविधा उपलब्ध हुने बताइएको छ।

                प्रदेश सरकारले महाविद्यालयको लागि आवश्यक जग्गा, भौतिक पूर्वाधार र अन्य विषयमा अध्ययन गर्न एमाले नेता तथा पूर्वसांसद सुभास कर्माचार्यको संयोजकत्वमा कार्यदल बनाएको थियो। कर्माचार्य कार्यदलको अध्ययन प्रतिवेदनका आधारमा आहालडाँडामा महाविद्यालय स्थापनाको प्रक्रिया अघि बढाइएको हो। हेटौँडामा स्थापना हुने महाविद्यालय भवन निर्माणमा भने भारतीय सरकारले सघाउने भएको मन्त्रालयले जनाएको छ।

                १० वर्षे ‘जनयुद्ध’ मा मारिएका ‘जनमूक्ति सेना’द्धय कमल शर्मा (दिनेश) र गोविन्द बजगाईँ (रामजी) को स्मृतिमा चौतारामा बहुप्राविधिक शिक्षालयको नाम जुराइएको हो। चौतारा, कुबिण्डे घर भएका उनीहरु २०६१ मा सिरहाको बन्दिपुरमा भएको भिडन्तमा मारिएका थिए। त्यतिबेला कमल बटालियन कमाण्डर र गोविन्द कमिसार थिए। तत्कालीन माओवादी युद्धमा जिल्लाबाट सहभागिमध्ये सबैभन्दा माथिल्लो तहमा पुगेर उनीहरुले ज्यान गुमाएका थिए। महाविद्यालय स्थापनाको अगुवाइ गरिरहेका मन्त्री दुलालसमेत बन्दिपुर भिडन्तमा सरिक थिए।

प्रकाशित: १४ श्रावण २०७६ ०६:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App