coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खेल खर्च जुटाउन सिमी खेती

सिमी लगाउँदै एथ्लेटिक्स खेलाडी। तस्बिरः नागरिक

जुम्ला– जुम्लाका एथलेटिक्स खेलाडी सिमी खेती गरेर खर्च जुटाउन थालेका छन्। ‘डाइट’ र प्रतियोगितामा भाग लिनकै लागि खर्च अभाव हुन थालेपछि विकल्पका रूपमा सिमी खेतीतिर लागेका हुन्।

कर्णालीको प्रसिद्ध मन्दिर चन्दननाथ भैरवनाथ मन्दिरको शेरा जिउलोमा उनीहरूले सिमी खेती थालेका हुन्। यतिबेला बिहानदेखि अभ्यास गरिरहेका खेलाडी दिउँसो चन्दननाथ मन्दिरको स्वामित्वमा रहेको शेरा जिउलोमा सिमी लगाउने काम गरिरहेका भेटिन्छन्।

कर्णाली स्पोर्टस् क्लबका अध्यक्ष सरोज शाही अन्तर्राष्ट्रिय धावक हरि रोकाया, स्पोर्टस् क्लबसँग आवद्ध रहेका खेलाडी तथा बाहिरबाट आउने खेलाडी पनि सिमी लगाउने काममा निरन्तर खटिरहेका छन्। हाम्रो कृषि सहकारी संस्थाले भाडामा लिएर इटालियन फुजी स्याउ लगाएर खाली रहेको जमिनमा २५ प्रतिशत सहकारी संस्थाले र ७५ प्रतिशत क्लबले पाउने गरी खेलाडीले सिमी खेती गर्न लागिएको धावक हरिबहादुर रोकाया बताउँछन्।

यसरी उत्पादन भएको सिमी खेलाडीको खाजा नास्तामा खर्च गरिने भएको छ। अहिले खेलाडीले रकम अभावका कारण समयमै पोषिलो खाना, नास्ता पाइरहेका छैनन्। सरकारीस्तरबाट खेलाडीलाई कुनै प्रकारको सहयोग पनि छैन। खेलाडीका लागि आवश्यक पर्ने खाजा, ट्राउजर, जुत्तालगायतका सामग्री जुटाउन गाह्रो सिमी खेती गर्नुपरेको खेलाडी बताउँछन्। यसअघि धावक रोकायाले जग्गा उपलब्ध गराएपछि क्लबको स्वामित्वमा कुटानीपिसानी मिल सञ्चालनमा ल्याइएको छ।

कर्णाली स्पोर्टस क्लबले यो वर्ष दोस्रो पटक जुम्ला रारा अल्ट्रा म्याराथनको आयोजना भदौ २९ गते गर्दैछ। यो समयमा खेलाडी अभ्यासरत छन्। उनीहरू भनेको समयमा पोषिलो खाना नास्ता पाइरहेका छैनन्।

जुम्ला–रारा अल्ट्रा म्याराथन देशभरि आयोजना हुने पाँचवटा ठूला म्याराथनमा मध्ये एक हो। यसअघि अन्य चार प्रतियोगिता सम्पन्न भइसकेका छन् भने बाँकी एउटा जुम्ला–रारा अल्ट्रा म्याराथन हो।

अन्तर्राष्ट्रिय धावक हरि रोकाया संरक्षक रहेको कर्णाली स्पोर्टस् क्लबले आयोजना गर्ने जुम्ला–रारा अल्ट्रा म्याराथन अक्टोबर महिनामा अन्नपूर्ण गोल्ड वल्र्ड ट्रेल रेसको सेमिफाइनल खेल पनि हो। जसबाट छानिएका ६ जनाले अन्तर्राष्ट्रियस्तरको खेलमा सहभागी हुन पाउनेछन्। आयोजनाको तीव्र तयारी भइरहेको अवस्थामा विभिन्न जिल्लाबाट जुम्ला आएर प्रतियोगिताको तयारी गर्नेको संख्या पनि बढिरहेको छ।

यस्तै मध्येकी एक हुन्, सिन्धुपाल्चोक जिल्लाकी लामपुटी लामा। उनीसहित ६ जनाको टोली विगत एक महिनादेखि जुम्लामै आएर प्रतियोगिताको तयारी गरिरहेका छन्। उनीहरू सबै अन्तर्राष्ट्रिय विश्व च्याम्पियन अल्ट्रा धाविका मीरा राईको सम्पर्कमा जुम्ला पुगेका हुन्।

प्रकाशित: १० श्रावण २०७६ ०६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App