coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जिल्ला अस्पतालमा ‘सिकिस्त नवजात शिशु उपचार’

जिल्ला अस्पताल रसुवामा भित्रिएको नयाँ उपकरण।

रसुवा - जिल्ला अस्पताल रसुवामा ‘सिकिस्त नवजात शिशु उपचार सेवा’ सुरु भएको छ। २८ दिनभित्रका नवजात शिशुमा देखिने रोगको उपचारका लागि सेवा सुरु भएको हो।

गत असार मसान्तबाट सेवा सुरु गरिएको अस्पतालका सूचना अधिकारी बाबुराम थापाले बताए। सेवा सुरु भएपछि दुईजना बच्चाको उपचार गरिएको छ। जसमध्ये एउटाको उपचारपछि घर फिर्ता गरिएको छ भने अर्कालाई कान्ति बाल अस्पताल काठमाडौं रिफर गरिएको छ। अस्पतालमा बच्चालाई उपचारार्थ आवश्यक पर्ने रेडियन्ट वार्मर, फोटोथेरापी, औषधि, अन्य आवश्यक सामग्री तथा उपकरण पर्याप्त रहेको अस्पतालकी नर्सिङ इन्चार्ज गोमाकुमारी कार्कीले बताइन्।

‘सेवा भर्खरै सुरु गरेका छौं,’ उनले भनिन्, ‘अहिले दुईजना डाक्टरले पनि तालिम लिएर आउनुभएको छ।’
निःशुल्क सेवा दिइने भएकाले व्यवस्थापनको काम पनि गरिएको छ। जिल्ला अस्पतालमा एक वर्षभित्र विभिन्न सेवा सुरु भएको छ। बालरोग विशेषज्ञ दीपक मिश्र आएपछि बच्चाको राम्रो उपचार हुँदै आएको छ। अस्पतालमा प्रविधि र स्वास्थ्यकर्मीको अभाव हुँदै आएकोमा अहिले यी समस्या हट्दै गएपछि बिरामी जाने क्रम पनि बढेको छ। अस्पतालले आव २०७५÷७६ मा ८ हजार ९ सय ५० बिरामीले सेवा लिएको जनाएको छ।

 अस्पतालले गत माघ २९ गतेदेखि पाठेघरको मुखको सम्भावित क्यान्सरको परीक्षणमा निःशुल्क सेवा दिइरहेको छ भने चालु आवदेखि क्रायोथेरापीद्वारा सो क्यान्सरको उपचारसेवा पनि निःशुल्क गरेको छ।

गत वर्ष साउन ४ गतेदेखि अस्पतालमा औषधिद्वारा गराइने गर्भपतन सेवासमेत सुरु गरिएको थियो। हालसम्म यो सेवा ६ जनाले लिइसकेका छन्। हाल मेडिकल÷सर्जिकलमार्फत १२ सातासम्मको गर्भपतन सेवा सुरु भएको अस्पतालले जनाएको छ। अस्पतालमा गत माघ २९ गतेदेखि पाठेघरको मुखको सम्भावित क्यान्सर परीक्षण सेवा निःशुल्क भइरहेको छ। चालु आवदेखि क्रायोथेरापीद्वारा पाठेघरको मुखको सम्भावित क्यान्सरको उपचारसेवा पनि निःशुल्क गरिएको इन्चार्ज कार्कीले बताइन्।

हालसम्म परीक्षण गराउने १ सय ८२ जनामध्ये १५ जनामा पाठेघरको मुखको क्यान्सर सम्भावना देखिएको थियो। अस्पतालमा आङ खस्ने समस्याको पनि उपचार गरिएको छ। चालु आवदेखि गर्भसम्बन्धी ग्रामीण भिडियो एक्स–रे सेवा सञ्चालनमा आएको छ। गर्भवती महिलाको निःशुल्क रूपमा भिडियो एक्स–रे गरिने उनले बताइन्। अप्रेसन कक्षसमेत सञ्चालनको अस्पतालले तयारी गरिरहेको जनाएको छ। सेवा थप हुँदै जाँदा अस्पतालमा बिरामीको चाँप बढ्दै गएको छ।

जिल्ला अस्पतालमा एम्बुलेन्सको सुविधा नभएकाले केही समयमै व्यवस्थापन गरिने अस्पताल विकास समितिका अध्यक्ष रामशरण कुइँकेलले जानकारी दिए। जिल्ला अस्पतालले दुईवटा गाउँपालिकामा मात्र सेवा दिइरहेको र बाँकी तीनवटा गाउँपालिकामा शिविर सञ्चालनको योजना अघि सारेको छ। स्वास्थ्यकर्मी व्यवस्थापन, औषधि व्यवस्थापन, कार्यविभाजन, सेवाविस्तार र वृद्धवृद्धालाई निःशुल्क सेवा दिने काम सुरु भएको अध्यक्ष कुइँकेलले बताए।

प्रकाशित: १० श्रावण २०७६ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App