१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘रिसोर्ट’ जस्तै सिन्धुका विद्यालय (फोटो फिचर)

सिन्धुपाल्चोक– ठूला भव्य र चिटिक्क परेका लोभलाग्दा भवन। निलो, सेतो, रातो, पहेँलो, हरियोलगायतका रंगरोगनसहितको साजसज्जाले ती भवन आकर्षक छन्। फराकिलो कोठा रहेका भवन खानेपानी, शौचालय, सोलारलगायत भौतिक सुविधासहित बालमैत्री, अपांगमैत्री र छात्रामैत्रीसमेत छन्। झट्ट हेर्दा यी भवन सुविधा सम्पन्न अत्याधुनिक तारे होटल वा रिसोर्ट जस्ता देखिन्छन्।

कतै उचित डेस्क, बेन्च, कुर्सीसहित फर्निचर त कतिपयमा कार्पेटमाथि लचकदार चकटी र गोला टि–लेबलले व्यस्थित कोठा। ह्वाइट बोर्ड (सेतो पाटी) र मार्कर पेन (लेख्ने कलम) रहेका भवनका प्रत्येक कोठा रिसोर्टका सेमिनार हल झैं देखिन्छन्।

तारे होटल र रिसोर्ट जस्ता देखिने यी महल खासमा विद्यालय भवन हुन्। बिनासकारी भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका शैक्षिक संस्थाको पुनर्निर्माणमार्फत बदलिएको रुप हो यो। ‘यो विपत्तिले डोहो¥याएको विकास हो,’ भूकम्पपछिको झण्डै दुई वर्ष जिल्लाका शैक्षिक संस्था पुनर्निर्माणको नेतृत्वमा रहेर हाल शिक्षा समन्वय इकाइ प्रमुख रहेका कृष्ण सुवेदी नागरिक न्यूजसँग भन्छन्, ‘विनासले विकास ल्याउँछ भन्ने मान्यता सिन्धुका विद्यालय पुनर्निर्माणमा स्थापित भएको देखिन्छ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का अनुसार भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका सामुदायिक विद्यालयको पुनर्निर्माण अन्तिमतिर अघि बढेको छ। झण्डै ६४ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ। करिब ३० प्रतिशत विद्यालयको पुनर्निर्माण जारी छ। साढे तीन प्रतिशत विद्यालय पुनर्निर्माणको प्रारम्भिक काम सुरु हुँदा साढे दुई प्रतिशत विद्यालयको मात्र तत्काल पुनर्निर्माण अघि बढाउन सम्भव देखिँदैन।

इकाइका इन्जिनियर शेरबहादुर पुजाराले भूकम्पले क्षति पु¥याएकामध्ये तीन सय २० विद्यालयको पुनर्निर्माण सम्पन्न भएको बताए। उनका अनुसार विद्यालय पुनर्निर्माणमार्फत तीन हजार ६५ कक्षाकोठा बनेका छन्। एक हजार एक सय ९१ कोठाका एक सय ५० विद्यालय निर्माणाधीन छन् भने २० विद्यालय पुनर्निर्माणको प्रारम्भिक काम सुरु भएको छ। १३ विद्यालयको मात्र पुनर्निर्माण सम्वन्धि कुनै काम सुरु हुन सकेको छैन्।

‘विद्यार्थी संख्या अत्यन्तै कम भएका र आवश्यक जग्गा नभएका विद्यालयको मात्र पुनर्निर्माण सुरु हुन नसेकेको हो,’ इन्जिनियर पुजाराले भने। पुनर्निर्माण सुरु हुन नसकेका अधिकांश विद्यालय विद्यार्थी संख्या न्यून भएर ‘मर्ज’ गर्नुपर्ने अवस्थाका रहेका उनले बताए। केही विद्यालयको पुनर्निर्माण गर्नुपर्ने देखिएपनि पर्याप्त जग्गा उपलब्ध छैन्। त्यस्ता विद्यालयको पुनर्निर्माणको लागि सम्वन्धित स्थानीय तहले आवश्यक जग्गा जुटाउनु पर्ने इकाइले जनाएको छ।

इकाइका अनुसार विभिन्न गैरसकारी संस्थाबाट निर्माण हुने दुई सय १० मध्ये एक सय ९७ विद्यालयको पुनर्निर्माण सकिएको छ। एक हजार नौ सय दुईमध्ये एक हजार सात सय १० कक्षा कोठा बनेका हुन्। गैरसरकारी संस्थामार्फत नै एक सय ९२ कक्षा कोठाका १३ विद्यालय निर्माणाधीन छन्। २०७२ वैशाख १२ को भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा निजी आवासपछि धेरै नोक्सानी पुगेको क्षेत्र सामुदायिक विद्यालय भवन नै हो।

भूकम्पले पाँच सय ४५ विद्यालय भत्काउँदा चार हजार पाँच सयभन्दा बढी कक्षा कोठा क्षतिग्रस्त भएका थिए। भूकम्पबाट ७६ हजारभन्दा बढी विद्यार्थी प्रभावित बनेका थिए। भूकम्पपछि ४४ शैक्षिक संस्था मर्ज हुँदा पुनर्निर्माण गर्नुपर्ने सामुदायिक विद्यालय संख्या पाँच सय तीनमा झरेको थियो। संघसंस्था, व्यवस्थापन समिति र टेन्डर प्रक्रिया गरी तीन किसिमले सामुदायिक विद्यालयको पुनर्निर्माण अघि बढेको इकाइ (शिक्षा) प्रमुख यमबहादुर बताउँछन्। ‘थोरै बजेटका दुई, चार, ६ र आठ कोठेसम्मका भवन विद्यालय व्यवस्थापन समितिमार्फत बनिरहेका छन्,’ उनले भने। 

इकाइका अनुसार पुनर्निर्माण प्राधिकरणमार्फत एशियाली विकास बैंक (एडिबी) को इइएपी कार्यक्रम अन्तर्गत थालिएका ३८ विद्यालयमध्ये १४ पुनर्निर्माण भइ हस्तान्तरण भइसकेको छ। १० विद्यालयको पुनर्निर्माण सकिए पनि हस्तान्तरण हुन बाँकी छ भने अरु १४ वटा निर्माणाधीन छन्। एडिबीकै डिआरएसपी कार्यक्रम अन्तर्गत बन्ने आठ विद्यालय पुनर्निर्माणको प्रारम्भिक काम अघि बढेको छ।

कारितास स्वीजरल्याण्डले पुनर्निर्माण थालेको ३६ मध्ये २९ विद्यालय बनिसकेका छन् भने सातको निर्माण अन्तिम चरणमा पुगेको इकाइले जनाएको छ। कारितासले स्वीजरल्याण्डकै मोडेलमा बनाइरहेको विद्यालय भवन न्यूनतम सुविधासहित सबैभन्दा आकर्षक र अत्याधुनिक छन्। भारतीय दुतावासले पुनर्निर्माण गर्ने १० विद्यालयको डिजाइन बनिरहेको इकाइका इन्जिनियर पुजाराले जानकारी दिए। उनका अनुसार चीन सरकारको सहयोगमा बन्ने दुई विद्यालय प्रारम्भिक प्रक्रिया अघि बढेको छ।

इकाइका अनुसार संघसंस्थामार्फत बन्ने दुई सय १० विद्यालयमध्ये एक सय ९७ को पुनर्निर्माण सकिएको छ। १३ वटा निर्माणको चरणमा छन् । त्यस्तै विद्यालय व्यवस्थापन समितिले दुई ६५ विद्यालय पुनर्निर्माण थालेकोमा दुई सय १० सम्पन्न भएका छन्। ५५ विद्यालय निर्माणाधीन छन्। टेन्डर प्रक्रियामार्फत बनिरहेका ४६ मध्ये २४ विद्यालयको पुनर्निर्माण सकिएको छ।

व्यवस्थापन समिति मार्फत बनेका र बनिरहेका विद्यालयलाई प्राधिकरणमार्फत नेपाल सरकारले नै बजेट उपलब्ध गराएको इन्जिनियर पुजाराले जानकारी दिए। उनका अनुसार न्यूनतम २० लाखदेखि अधिकतम नौ करोड रुपैयाँ लागतमा जिल्लाका सामुदायिक विद्यालयको पुनर्निर्माण भइरहेको छ।

रिसोर्ट जस्ता देखिने विद्यालय भवन अपांगमैत्री, बालमैत्री र छात्रामैत्री छन्। सोलारजडित विद्यालयमा खानेपानी र प्रशस्त धारा र आवश्यक शौचालय छन्। छात्र, छात्रा दुबैका लागि दिसा, पिसाव गर्ने छुट्टाछुट्टै शौचालयको व्यवस्था गरिएको छ। शौचालयका साथै पिउन र हातमुख धुन दुई खाले धारा बनेका छन्। शौचालय र खानेपानी धारामा ह्विलचियर चढेर अपांग विद्यार्थी सहजै पुग्न सक्छन्। शौचालयमा महिनावारी हुने छात्राका लागि इन्सिनेरेटर (प्याड फाल्ने संरचना) बनाइएको छ। 

पुनर्निर्मित विद्यालयको कक्षा कोठाको व्यवस्थापन पनि आकर्षक रहेका इन्जिनियर पुजारा बताउँछन्। ‘विद्यालयका तल्ला कक्षाका विद्यार्थीका लागि कार्पेटमाथि लचकदार चकटीका साथ गोलो टेबलमा पठनपाठनको व्यवस्था छ,’ उनले भने, ‘माथिल्लो कक्षामा मार्कर, सेतो पाटी र किताव, कफी राख्ने सुविधा भएको डेस्कबेन्च उपलब्ध छ।’ उनका अनुसार पुनर्निर्मित अधिकांश विद्यालयमा खाना र खाजा खानको लागि भान्छा कोठासमेत बनेका छन्।

भूकम्पअघि ढुंगामाटा र काठबाट बनेका अधिकांश बिद्यालयमा सामान्य शौचालय र खानेपानीसम्म थिएन। कतिपय ब्लग र केही पक्की विद्यालय भवन भए पनि न्यूनतम सुविधा थिएन। भूकम्पपछि समुदायले सुविधा सम्पन्न विद्यालय भवन पाएकाले अब त्यसको संरक्षण र गुणस्तर वृद्धिमा स्थानीय तहले ध्यान दिन शिक्षा समन्वय इकाइ प्रमुख सुवेदी सुझाउँछन्। पुनर्निर्माण भएर खानेपानी र शौचालय सुविधा नभएका विद्यालयमा यो वर्षदेखि काम थाल्ने इन्जिनियर पुजाराले जानकारी दिए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App