२३ श्रावण २०७७ शुक्रबार
समाज

ज्यान लिँदै जलाशय

आइतबार तीन युवतीको ज्यान लिएको घोराही–१८ स्थित पोखरी। तस्बिर: देवेन्द्र/नागरिक

दाङ - आइतबार दिनभर घोराही उपमहानगरपालिका–१८ अम्बापुरका तीन किशोरी धान रोपाइँमा व्यस्त थिए। अम्बापुरका दुई दिदीबहिनी २० वर्षीया अमृता विक र १८ वर्षीया झरना विक तथा सोही ठाउँकै १८ वर्षीया वसन्ता विक रोपाइँ सकेर हातमुख धुन खेतनजिकैको पोखरीमा पुगे। एकजना त्यहीं डुबिन्।\

उनलाई बचाउन पोखरीमा पसेका अरू दुईजना पनि पोखरीमै हराए। तीनैजना जीवित फर्केनन्। उनीहरूलाई स्थानीयले मृत अवस्थामा पोखरीबाहिर निकाले। ‘सुरुमा एकजना पोखरीमा पसेपछि उनलाई उद्धार गर्न भन्दै गएका अरू दुईजना पनि पालैपालो पोखरीमा डुबेको बुझिन्छ,’ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले भने, ‘गहिरो पोखरी अनि हिलो पनि भएकाले उनीहरू त्यहीं भासिएको हुनुपर्छ।’

कुलोमा बग्ने पानी सञ्चय गर्न बनाइएको ती पोखरी सात फिट गहिरो रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख पाण्डेका अनुसार सो पोखरी तरकारी खेतीका लागि सिँचाइ गर्न निर्माण गरिएको थियो। गत वैशाखमा डोजर लगाएर बनाइएका ती पोखरीको पानी सञ्चय गरेर तरकारी खेतीका लागि सिँचाइ हुँदै आएको थियो। तरकारी खेतीका लागि सिँचाइ गर्न निर्माण गरिएको सो गहिरो पोखरी असुरक्षित थियो। ‘पोखरीवरिपरि तारबार पनि थिएन, न त खतरा सूचकका रूपमा बोर्ड नै राखिएको थियो,’ एसपी पाण्डेले भने, ‘त्यति ठूलो पोखरी निर्माण गरिए पनि सम्भावित खतरा हुन नदिन कुनै सचेतना भने अपनाइएको देखिएन।’

पानी सिँचाइका लागि निर्माण गरिएका पोखरीहरूमा न त तारबार गरेर सुरक्षा उपाय अपनाइएको छ न त खतराका लागि सावधानी अपनाउन अन्य कुनै उपाय खोजिएको छ।

विकासका नाममा गाउँगाउँमा निर्माण गरिएका जलाशय धराप बन्दै छन्। जिल्लामा यस्ता धरापरूपी पोखरीका कारण धेरै नागरिकले ज्यान गुमाइरहेका छन्। पानी सिँचाइका लागि निर्माण गरिएका यस्ता पोखरीहरूमा न त तारबार गरेर सुरक्षा उपाय अपनाइएको छ न त खतराका लागि सावधानी अपनाउन अन्य कुनै उपाय नै खोजिएको छ। गत मंसिरमा घोराही–१५ का १८ वर्षीय लक्ष्मण डाँगीले पनि यस्तै असुरक्षित पोखरीमा ज्यान गुमाए। घोराही–१७ गुलरीयास्थित जलाशयमा नुहाउन पसेका उनी पनि बेपत्ता भए। उनको शव चार दिनपछि मात्रै फेला परेको थियो। घोराही उपमहानगरपालिकाले माछा पालनका लागि निर्माण गरिएको सो पोखरीमा बेपत्ता भएका लक्ष्मणको खोजीका लागि गोताखोरसमेत मगाइएको थियो।

घोराही–१८ गिठेपानीकी १२ वर्षीया कुसुमा विक गत वर्षको साउनमा घरनजिकैको जलाशयमा नुहाउन गएकी थिइन्। जलाशयमा पसेकी उनी पनि बेपत्ता भइन्। दिउँसो नुहाउन जलाशयमा पसेकी उनको खोजी सुरु भयो। बेलुकापख उनको शव निकालियो। ‘नुहाउन तालमा गएकी रहिछन्,’ उनी अध्ययनरत निमावि फुर्सेखालीका शिक्षक घनबहादुर रावतले भने, ‘तालमा पसेर बेपत्ता भएकी उनको बेलुका ५ बजेतिर शव निकालियो।’

एक महिनाअघि वैदेशिक रोजगारीबाट घोराही बाहुनडाँडास्थित ससुराली घरमा गएका रोल्पाका एक नागरिकको पनि जलाशयमै मृत्यु भयो। उनी पत्नीसहित नजिकैको जलाशयमा नुहाउन गएका थिए। पौडी खेल्ने क्रममा ती व्यक्ति डुबे। खोजतलास भयो। दुई दिनपछि शव निकालियो। ‘बेपत्ता भएको दुई दिनपछि शव फेला परेको हो,’ शव फेला पारेका यामबहादुर थापाले भने।

जिल्लामा रहेका प्राकृतिक या कृत्रिम जलायश मानवीय सुरक्षाका दृष्टिकोणले उत्तिकै जोखिमयुक्त छन्। यहाँ रहेका कुनै पनि जलाशय परिसरमा तारवार वा सचेतनाका लागि बोर्डसम्म टाँगिएका छैनन्। खाडल खनेर मात्रै छाडिएका छन्। फलतः स्थानीय जो कोहीका लागि पानीको मात्रा उच्च रहने यस्ता जलायश खुला रहन्छन्। पौडी खेल्न जलाशयमा पस्नेहरू मात्रै होइन, बाटोनजिकै खनिएका जलाशयमा हुत्तिएर फस्ने जोखिमसमेत उत्तिकै हुन्छ।

घोराही ढिकपुरका एक स्कुले बालकको पनि केही समयअघि त्यहाँ रहेको जलाशयमा पौडी खेल्ने क्रममा मृत्यु भएको थियो। जलायशमा पौडी खेल्न भन्दै गएका ती स्कुले विद्यार्थी पौडी खेल्ने क्रममा डुबेका थिए। ‘एउटा सामुदायिक वनले त्यहाँ जलाशय निर्माण गरेको थियो। त्यो जलाशमा मानवीय सुरक्षाका लागि कुनै सतर्कता अपनाइएको थिएन,’ स्थानीय शिक्षक लक्ष्मीमान चौधरीले भने, ‘पौडी खेल्ने क्रममा स्कुले बालकको ज्यानै गएको थियो।’

कृत्रिम जलायशमा मात्रै होइन, प्रकृतिक जलाशयहरूको अवस्था पनि उस्तै छ। यस्ता जलाशयहरूको पानी स्थानीयले सिँचाइका लागि प्रयोग गर्ने गरेको भए पनि त्यसलाई सुरक्षित बनाउने सवालमा भने मतलब गरेको पाइँदैन। फलतः ससाना बालबालिकादेखि वयस्कसम्मका व्यक्तिले समेत ज्यान गुमाउनुपरेको छ। घोराही–८ ढिकपुरमा रहेको लरैना बाँध (प्राकृतिक जलाशय) मा अहिलेसम्म तीनजनाले ज्यान गुमाइसकेका छन्। एक बालकसहित एक स्थानीय पुरुष र रुकुमका एक व्यक्तिको सो बाँधमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गइसकेको छ।

स्थानीय अमरराज भण्डारीका अनुसार प्राकृतिक जलाशयका रूपमा रहेको सो बाँधलाई स्थानीयले खनिखोेस्री गरेर केही चौडा पारे। तर उक्त जलाशयबाट निम्तन सक्ने मानवीय क्षती रोक्न भने कुनै प्रयास भएन। ‘जलाशयलाई चौडा पारेर कसरी बढी पानी अटाउन सकिन्छ भन्नेतिर ध्यान गएको देखियो,’ भण्डारी भन्छन्, ‘तर त्यो जलाशयले निम्त्याउन सक्ने विपत्बारे भने कुनै हेक्का राखिएन। फलतः तीनजनाले अकालमै ज्यान गुमाउनुप-यो।’

यता जिल्ला प्रहरी कार्यालयले भने यस्ता असुरक्षित पोखरीहरूमा सूचना बोर्ड वा तारबार गरेर सुरक्षित पार्न सुझाव दिइरहेको जनाएको छ। ‘सूचना बोर्ड वा तारबार गरेर पोखरीलाई सुरक्षित बनाउन हामीहरूले सम्बन्धित निकायलाई सचेत बनाइरहेका छौं,’ एसपी पाण्डेले भने, ‘धेरै ठाउँहरूमा अहिले काम भएको पनि छ।’

प्रकाशित: ८ श्रावण २०७६ ०८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App