coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

स्कूल विभागमा किचलो

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला राजनीतिक रूपमा प्रशिक्षित गराउने स्कूल विभाग कसले लिने भन्नेबारे किचलो उत्पन्न भएको छ। पूर्वएमालेको भागमा परेको स्कूल विभाग ईश्वर पोखरेललाई प्रमुख बनाउने तयारी गरिरहेका बेला अर्का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले दाबी गरेपछि थप किचलो उत्पन्न भएको हो।

सोमबार साँझ पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भए पनि सो विषय टुंगिएको छैन। आइतबारको सचिवालय बैठकमा सबै विभाग र जिल्ला इन्चार्ज टुंग्याउने प्रस्ताव गरिएको थियो। तर श्रेष्ठ र पोखरेल दुवैले दाबी गरेपछि भने विवाद भएको थियो। श्रेष्ठले आफूलाई प्रचार विभागमा सीमित राख्न खोजेकाले स्कूल विभागको दाबी गरेका थिए। पूर्वमाओवादी पनि पोखरेललाई सो विभाग दिन चाहँदैनन्।

पार्टीभित्र जनताको बहुदलीय जनवाद कि जनताको जनावाद भन्ने बहसमा पोखरेलले जनताको बहुदलीय जनवादलाई अंगिकार गरेर जानुपर्ने धारणा सार्वजनिक गरेपछि पूर्वमाओवादी नेताहरू उनीसँग चिढिएका छन्। पार्टी कार्यकर्तालाई प्रशिक्षित गराउने विभागमा पोखरेललाई जिम्मा लगाउँदा समस्या हुने भएकाले सो विभाग पूर्वमाओवादी आफंैले राख्न दाहाललाई दबाब परेको छ। तर ओली भने सो विभागमा बरु सचिवालय बाहिरबाट प्रमुख बनाउने तर पूर्व माओवादीलाई नदिने पक्षमा छन्। बालुवाटार निकटस्रोतका अनुसार सोमबार दुई अध्यक्षबीच ३ घण्टा छलफल भएको थियो तर यो विषयमा सहमति जुट्न सकेन। सहमति जुट्न नसकेपछि सचिवालयको बैठक पनि मंगलबार बस्ने कि नबस्ने भन्ने अन्योलमा छ। स्कूल विभाग पूर्वमाओवादीले मागेपछि ओलीले पूर्वएमालेसँग छलफल गर्ने भएका छन्। पार्टीको ३२ विभागमध्ये पूर्वएमालेका भागमा १८ र पूर्वमाओवादीका भागमा १४ विभाग परेका छन्।

प्रकाशित: ७ श्रावण २०७६ ०१:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App